रियल मड्रिडलाई म्यानचेस्टर सिटीले स्तब्ध बनायो

आउँदो दुई सिजनका युरोपियन प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी युरोपियन फुटबलको प्रशासकीय निकायले प्रतिबन्ध लगाएको इंग्लिस क्लब म्यानचेस्टर सिटीले यो सिजनमा भने राम्रो प्रदर्शन जारी राखेको छ ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्पेनिस जाइन्ट रियल मड्रिडलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित रहेको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । ६० औँ मिनेटमा इस्कोको गोलबाट लिएको अग्रता रियल मड्रिडले जोगाउन सकेन ।

७८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिससले बराबरी गोल फर्काए । ८३ औँ मिनेटमा सिटीले पेनाल्टी पायो । सो पेनाल्टीमा केविन डी ब्रुयेनाले गोल गरे र टिमलाई २–१ को जित दिलाए ।

८६ औँ मिनेटमा सर्जिओ रामोस सीधै पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही मिनेट रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो मार्च १७ मा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ ।

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्