रोनाल्डोको टिम युभेन्टसलाई च्याम्पियन्स लिगमा अप्रत्यासित गम्भीर धक्का

क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो खेलमा अप्रत्यासित रुपमा पराजित भएको छ ।

अन्तिम १६ को पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब लियोनसँग १–० ले पराजित भएको हो ।

घरेलु टोली लियोनको जितमा ३१ औँ मिनेटमा लुकास टूसर्टले गरेको गोल नै निर्णायक बन्यो । इटालियन जाइन्ट युभेन्टसमाथि लियोनको यो पहिलो जित हो । युभेन्टस सहज देखिएको थियो, तर उसले गोल गर्ने कुनै पनि मौका सिर्जना गर्न सकेन ।

बलमा नियन्त्रण अधिक भए पनि भ्रमण टोलीले लियोनको रक्षापंक्तिलाई तोड्न सकेन । खेलको अन्तिम समयमा पाउलो डिबालाले गोल गरेका थिए, तर अफसाइड भएका कारण सो गोलले मान्यता पाएन ।

दोस्रो लेग युभेन्टसको मैदानमा आउँदो मार्च १७ मा हुनेछ । क्वाटरफाइनलको यात्राका लागि युभेन्टसले दोस्रो लेगमा दुई गोलको अन्तरले जित्नु पर्छ ।

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्