पूर्वाञ्चल दैनिक २५ औं वर्षमा, अग्रज पत्रकारहरु पुरस्कृत हुँदै

झापा – झापाको विर्तामोडबाट प्रकाशन हुँदै आएको पूर्वाञ्चल राष्ट्रिय दैनिक प्रकाशनको २५ औं वर्षमा प्रवेश गरेको छ।

२४ बर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको पूर्वाञ्चल झापाको एकमात्र अखबार हो। विगत लामो समयदेखि अन्य अखबारहरु प्रकाशित हुँदै आए पनि समय/समयमा प्रकाशन अवरुद्ध हुने गरेका छन्।

रजत वर्ष प्रवेशको अवसर पारेर पूर्वाञ्चल दैनिकले रजत बर्ष स्मारिका प्रकाशन गरेको छ। जस्को लोकार्पण प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले फागुन १८ गते आइतबार गर्ने बिहीबार विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अखबारका सम्पादक एकराज गिरीले जानकारी दिए।

सोही दिन उक्त अखबारको प्रकाशन संस्था श्रीअन्तु प्रकाशन प्रा. लि. ले झापाको विर्तामोडमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

रजत वर्ष प्रारम्भको विशेष कार्यक्रममा अखबारका पूर्व प्रधान सम्पादक स्व. मदन ढकालको स्मृतिमा स्थापित ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट झापाली पुराना पत्रकार नकुल काजी र कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीलाई प्रदान गरिने गिरीले बताए।

गिरीका अनुसार २०७६ सालका लागि उक्त पुरस्कार भद्रपुरका पुराना पत्रकार चिन्तामणि दहाल र विर्तामोडका अग्रज पत्रकार लीला बराललाई प्रदान गरिनेछ।

त्यस्तै पूर्वाञ्चल दैनिकमा कार्यरत डेस्क सम्पादक लक्ष्मण ढकाललाई ‘उत्कृष्ट पत्रकार’को सम्मान दिइनेछ। साथै उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट स्तम्भकारको सम्मान क्रमशः चन्द्रकान्त ढकाल र विष्णुप्रसाद खरेललाई प्रदान गरिने जानकारी गिरीले दिए।

उक्त रजत वर्ष विशेष कार्यक्रममा फोटो पत्रकार विनोद पाण्डेको फोटो प्रदर्शनी, व्यङ्ग्य चित्रकार पवन राजवंशीको व्यङ्ग्य चित्र प्रदर्शनी पनि आयोजना गरिने अखबारका सहसम्पादक सुरेन्द्र भण्डारीले बताए।

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्