रवीन्द्र स्मृति पर्यटन पुरस्कार स्थापना गर्ने सरकारको घोषणा

काठमाडौँ – सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन् ।

पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताए ।

मन्त्री भट्टराईले कार्यविधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आगामि वैशाख २२ गते वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिए ।

गत वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाडौँ फर्कने क्रममा तत्कालिन मन्त्री अधिकारीसहित सातजना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा दुखद निधन भएको थियो ।

दुर्घटनामा परी मन्त्री अधिकारीसँगै नेपाल सरकारका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्