अतिक्रमणमा जनकपुरधामका कुटी र पोखरी

कुट्टीका महन्थ भारत गएपछि उत्तराधिकारीमा जग्गा व्यवसायी, मन्दिरको कयौँ विघा जग्गा गायव

जनकपुरधाम-जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्ड भनेर चिनिने गरिन्छ तर पछिल्लो समय यहाँका पोखरी र कुटीहरु अतिक्रमणमा पर्दै गएको छ।

यहाँ रहेका धेरै कुट्टीहरु पूर्ण रुपले अतिक्रमण भई सकेको छ भने धेरै कुट्टीहरु अतिक्रमणको क्रममा रहेको छ। कुट्टी तथा मन्दिरको महन्थ र सरोकारवालाहरुकै संलग्नतामा सार्वजनिक जग्गाहरु अतिक्रमणमा परेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा रहेको मुख्य चोक रामानन्द चोक नजिकै रहेको कुट्टीहरुलाई पूर्ण रुपले अतिक्रमण गरीसकेको छ भने केहि लोप हुने अवस्थामा रहेको छ।बाँकी रहेका कुटीहरुमा भूमाफियाहरुको गिद्धे नजरका कारण सो कुटीहरु समेत लोपन्मुख अवस्थामा रहेको छ। जसको प्रत्यक्ष परिणाम रामानन्द चोक नजिकै होस्पिटल जाने बाटोमा रहेको रेवासी कुटीमा देखिएको छ।

वि.स. २००४ सालमा भारत सीतामढी जिल्लाको रेवासीबाट जनकपुरधाम आएका साधु अयोध्या दास महाराजले आफ्नो गाउँ ठाउँका श्रद्धालु भक्तजनहरुको सेवा सुविधा तथा रहनको लागि रेवासी कुटीको स्थापना गरेका थिए। तर कुटी स्थापना भएको ७२ वर्षमै कुटीको अवस्था दयनिय बन्दै गएको छ।

करिब आठ कट्ठा क्षेत्रफलमा रहेको कुटी चारै तर्फबाट अतिक्रमणमा परेपछि त्यहाँ पुग्न समेत सोधपुछ गरेर जानुपर्ने रहेको छ । विगतमा कुट्टीको १० विघा जग्गा रहेपनि अहिले अतिक्रमण पछि ८ कठामा सीमित भएको छ।

मन्दिर परिसरको वरिपरी करिब एक दर्जन सटरहरु रहेको छ। जसले मन्दिरको सौन्दर्यतालाई नै समाप्त गरेको छ। ती सटरहरुबाट मन्दिरले मासिक १ लाख ५० हजार रुपैेयाँ सम्म भाडा असुल्दै आएको छ। भाडा असुल भएपनि भाडा मन्दिरको पूजारीको हातमा भने जाँदैन्। स्रोतका अनुसार मन्दिरको सटरबाट आउने रुपैया जनकपुरकै जग्गा व्यवसायीले लिने गरेका छन्।

रेवासी कुटीका महन्थ भारत सीतामढी जिल्लाको रेवासी निवासी परमेश्वर दास वर्षौँदेखि यहाँ नरहेकोले उनले आफ्नो अनुपस्थितिमा मन्दिर तथा मन्दिरको आम्दानीको रेखदेखका लागि जनकपुरधाम उपमहानगरपालिका-१६ का जग्गा व्यवसायी अमर पजियालाई जिम्मा दिएका हुन्।

वर्षौदेखि मन्दिरमा बस्दै आएका पुजारीहरुलाई त्यहाँको जिम्मा नदिई जग्गा व्यवसायीलाई कुट्टीको सम्पुर्ण जिम्मा दिएपछि त्यहाँका पुजारीहरु दुःखी भएपनि गुरुको बिरोध गर्न नसक्ने संस्कारका कारण चुप्प लागेर बसेको त्यहाँका पूजारीहरु बताउँछन्।

पजियार उत्तराधिकारी महन्थ भएपछि दिनभर जग्गा खरिदबिक्री सम्बन्धी मोलमोलाइ भइरहने मन्दिर भवनको अधिकांस भाग जग्गा कारोबारीको बैठक तथा आराम कक्षको रुपमा प्रयोग भइरहेको स्थानीयहरुको आरोप छ।

उक्त भागमा एसी जडान गरी ‘लक्जरियस’ कार्यालय बनाइएको छ भने भगवानको मूर्ति राखिएको भाग जीर्ण अवस्थामा रहेको छ। सडक छेउमा सटर निर्माण गरी भाडा लगाइएको छ। बगैंचा क्षेत्रमा तिनै व्यवसायीहरुले गोदामको रुपमा प्रयोग गरिरहेको छ।

दिनभर जग्गा कारोबारमा व्यस्त रहने अमर महन्थको ‘पदवी’ प्राप्त गर्न कानुनी प्रक्रिया पूरा गरिसकेको स्वयं पजियारले बताए। महन्त परमेश्वर दासलाई ‘संरक्षक’ देखाइएको सबै जग्गाको मालपोत कागजातमा उनले आफ्नो नाम लेखाइसकेका छन्।

मन्दिरका एक पुजारीका अनुसार महन्थ दासलाई आर्थिक लोभमा र दबाबमा अमर पजियारले जनकपुरधाम छोड्न बाध्य बनाएका हुन्। श्रोतका अनुसार सिरहा अदालतमा मुद्दा दिएर महन्थजीको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा चढाई समेत सकिएको छ।

५२ वर्षदेखि मन्दिरमा निरन्तर पूजापाठ गर्दै आएको आफू आज पनि सेवककै रुपमा कायम रहेको उल्लेख गर्दै उनले हिजो आएकाले महन्तको उत्तराधिकारी भएको दाबी गर्दै श्रीसम्पत्ति चलाउन थालेपछि दुःख लागेको बताए कहिलेकाही मात्र मन्दिर आउने अमरले मन्दिरभित्रै एसीसहितको भीआईपी कोठा प्रयोग गरिरहेको उनले बताए।

मन्दिरको अधिनमा कपिलेश्वरमा रहेको सात बिगाहा जमिन आफू मन्दिरको उत्तराधिकारी बन्नुभन्दा पहिलेनै बिक्री भइसकेको दाबी गर्ने उनले भंगाहामा रहेको अर्को पाँच बिगाहा जग्गा पनि लुकाउन खोजे।

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्