कोरोना भाइरसको प्रभाव

कमला खड्गीको नाङ्लो पसलमा हिजोआज मास्क किन्न पाइँदैन

फाइल तस्बिर

काठमाडौँ– कमला खड्गी उमेरले ६५ पुगिसकिन्। आम्दानीकाे अर्काे बाटाे नभएपछि उनी वर्षाैँदेखि काठमाडौँ जमलकाे फुटपाथमा नाङ्लाे पसल सञ्चालन गर्दै आएकी छन्।

केही समय अघिसम्म उनकाे नाङ्लाे पसलमा पानी, चाउचाउ, चुराेट र मास्क पाइन्थ्याे। पछिल्लाे समय उनकाे नाङ्लाे पसलमा मास्क देखिन छाडेकाे छ।

मास्क बेच्न नपाएपछि उनकाे व्यापार पनि झण्डै आधा घटेकाे छ। दुई महिना अघिसम्म दैनिक ३/४ सयसम्म कमाइ हुने नाङ्लाे पसलकाे व्यापार घटेर डेढ–दुई सयमा झरेकाे छ।

केही समयअघि चीनकाे वुहानबाट फैलिएकाे ‘काेविड–१९’ नामक कोराेना भाइरसकाे त्रासले बजारमा मास्ककाे माग ह्वात्तै बढ्याे। यसैकाे फाइदा उठाउँदै व्यापारीहरुले मास्ककाे मूल्य बढाइदिए।

जमलमा नाङ्लाे पसल सञ्चालन गर्दै आएकी कमला खड्गी।

बजारमा समान्यतया: पाँचदेखि दश रुपैयाँमा पाइने ‘पेपर मास्क’ काे मूल्य अहिले २५–३० रुपैयाँसम्म पर्न थालेकाे छ। पछिल्लाे समय मास्कमा कालाेबजारी भएपछि त्यसकाे असर कमला खड्गीकाे नाङ्लाे पसलमा पनि देखिएकाे हाे।

‘अहिले धेरै मान्छे मास्क किन्न आउँछन्। तर मास्क नै पाइँदैन। खोइ के भाइरस आयो भन्छन्’, कोरोना भाइरसको नाम थाहा नभएपनि त्यसैका कारण आफूले मास्क बेच्न नपाएकाे हाे भन्ने उनलाई थाहा छ।

‘विद्यार्थीहरु मास्क किन्न आउँछन्। अहिले मसँग मास्क नै छैन। पहिला जस्तो व्यापार पनि हुन्न’, उनले भनिन्।

राजधानीकाे दरबारमार्गमा सुमी चाैधरीकाे किराना पसल छ। उनकाे पसलमा पनि पहिले मास्क पाइन्थ्याे।  केही समययता उनले मास्क राख्न छोडेकी छन्।

राजधानीकाे दरबारमार्गमा किराना पसल सञ्चालन गर्दै आएकी सुमी चाैधरी।

‘कोराना भाइरसका कारण बजारमा मास्क नै पाउन छोडेको छ’, उनले भनिन्, ‘हिजो मात्र असन मास्क लिन गएको २५ सय (सय वटाको) रुपैयाँ भन्यो। खाली फर्केर आएँ।’

उनले थपिन्, ‘अहिले मास्कको माग बढी भए पनि महँगोमा किनेर आफूले पनि महँगोमा बेच्नु पर्छ। ग्राहकले महँगोमा किन्न पनि मान्दैनन्।’,

पहिले १० रुपैयाँमा पाइने ‘पेपर मास्क’ अहिले २५–३० रुपैयाँ पर्ने उनको भनाइ छ।

रत्नपार्कमा मास्क बेच्दै आएकी निर्मला लामिछानेको गुनासो पनि उस्तै छ। कपडाको मास्क पाए पनि ‘पेपर मास्क’ भने पाइँदैन। ‘पेपर मास्क एकचोटि लगाएर फाल्न मिल्छ र सस्तो पनि हुन्छ। धेरै बिक्री हुने भएकाले बजारमा अभाव भएको छ’, उनले भनिन्।

कोरोना भाइरसको त्रासले बजारमा मास्कको माग बढेपछि कालोबजारी भएको उनको गुनासो छ।

यस्तै न्यूरोडका व्यापारी प्रकाश श्रेष्ठले कोराना भाइरसका कारण मास्कको अभाव सुरु भएको बताए। नेपालीहरु भन्दा विदेशीहरु मास्क किन्ने आउने उनकाे अनुभव छ।

न्यूराेडका व्यापारी प्रकाश श्रेष्ठ।

चीनबाट मास्क ल्याएर बेच्ने श्रेष्ठ भन्छन्, ‘हामीले चाइनाबाट फिल्टर पीएम २.५ को मास्क ल्याउँछौ। यो अरु मास्कको तुलनामा सुरक्षित हुन्छ। तर अहिले चीनमै पनि मास्ककाे अभाव छ। अब हामीसँग पनि मास्क सकिन लागिसक्याे।’

उनले चार सयदेखि ३ हजार ८ सय रुपैयाँसम्म पर्ने मास्क बिक्री गर्दै आएको बताए।

फाल्गुन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्