उम्मेदवार बन्ने होडमा जो बाइडेनको ‘टेक अफ’

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेका डेमोक्र्याटिक नेता जो बाइडेनले महत्वपूर्ण र अनिर्वाय जित फराकिलो अन्तरसहित हाँसिल गर्ने देखिएको छ ।

डेमोक्र्याटिक पार्टीमा राष्ट्रपतिका उम्मेदवार बन्न आकांक्षी मध्येबाट उम्मेदवार छान्नका लागि अहिले प्रारम्भीक मतदान भइरहेको छ । आयोवा, न्यू ह्याम्पसर तथा नेभेडामा पछि परेका बाइडेन साउथ क्यारोलाइनामा भने फराकिलो जित निकाल्ने मार्गमा अग्रसर छन् ।

प्रारम्भीक नतिजामा पूर्व उपराष्ट्रपति बाइडेनले यसअघिका तीन राज्यमा अग्र स्थानमा रहेका सिनेटर बर्नी सान्डर्सलाई फराकिलो अन्तरले पछि पारेका छन् । साउथ क्यारोलाइनाको जितले बाइडेनको चुनावी अभियानलाई अत्यावश्यक गति प्रदान गरेको छ ।

प्राइमरी ककसको नतिजामा आफू विजयी हुने देखिएपछि सर्मकलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो चुनावी अभियानले अब उडान भरेको बताए । उनले भने, ‘यो चुनावी अभियान अब सुरु भयो, यो तपाईँहरुको अभियान हो, डेमोक्र्याटको अभियान हो । डोनाल्ड ट्रम्पलाई पराजित गर्ने अभियान हो ।’

साउथ क्यारोलाइनामा जित दर्ता गरे पनि समग्रमा डेलिगेट्सका हिसाबले समाजवादी सिनेटर सान्डर्स नै अघि रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आउँदो मंगलबार १४ राज्यले उम्मेदवार छान्नका लागि मतदान गर्दै छन् । त्यसपछि मात्रै डेमोक्र्याटिक ‘फ्रन्ट रनर’ को आकार तय गर्ने छ । बाइडेनको अभियानले साउथ क्यारोलाइनाको जितले ‘सुपर ट्युसडे’ का राज्यलाई सकारात्मक सन्देश दिने अपेक्षा गरेको छ ।

सिनेटर सान्डर्सले पनि साउथ क्यारोलाइनामा जे भए पनि सुपर ट्युसडेमा आफ्नो अभियानले ठूलो समर्थन प्राप्त गर्ने दाबी गरेका छन् ।

साउथक्यारोलाइनामा एक तिहाई मत गणना हुँदासम्म बाइडेन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरी सान्र्डस, व्यवसायी टम स्टायर र मेयर पिट् बुटजज भन्दा अघि छन् ।

फाल्गुन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्