अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए टम स्टायर

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार बन्ने होडमा रहेका अर्बपति टम स्टायरले आफ्नो चुनावी अभियान अन्त्य गरेका छन् ।
साउथ क्यारोलाइनमा शनिबार भएको प्राइमरी ककसमा तेस्रो स्थानमा देखिएका टमले प्राइमरीको नतिजा आउँदै गर्दा चुनावी अभियान अन्त्य गरेको र आफू उम्मेदवार बन्ने होडबाट बाहिरिएको घोषणा गरेका हुन् ।
चुनावी अभियान अन्त्यको घोषणा गर्दै टमले भनेका छन्, ‘जब भवानले ढोका बन्द गर्छन्, तर झ्याल खोलिदिन्छन्, मैले जुन कुराको वकालत गर्दै आएको छु त्यसलाई जारी राख्ने छु।’
उनले आफूले कसलाई समर्थन गर्ने भन्ने चाँडै तय गर्ने बताएका उनले उम्मेदवार बन्ने होडमा रहेका सबै राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा सयौँ गुणा उत्कृष्ट रहेको बताए । उनले ट्रम्प ‘डिजास्टर’ रहेको बताए ।
टम चुनावी होडबाट बाहिरिएपछि त्यसको फाइदा पूर्व उपराष्ट्रपति जो बाइडेनको अभियानमा पर्ने अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।