भोगाइ र लेखाइलाई मूर्त रुप दिन साहित्य सञ्‍चार स्थापना

काठमाडौँ- साहित्यलाई नयाँ शिराबाट सृजना र उत्थान गर्न साहित्य सञ्‍चार नेपाल स्थापना भएको छ।

उद्देश्यमूलक साहित्य सिर्जनाद्वारा समाज उत्थानको लक्ष्य राखी उक्त संस्था स्थापना गरिएको संस्थाका सदस्य मित्रबन्धु पौडेलले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा साहित्यकर्मी-साहित्यकर्मीबीचका भोगाइ र लेखाइको सत्संग गरिने, साहित्य सञ्चारका लागि साहित्य लेखन, वाचन, विवेचन र प्रर्वधनको कार्य गरिने, अभिप्रायगत किशोर साहित्यको विकास गरी विद्यालयमा कथोपचार विधिद्वारा चरित्रनिर्माणमा सघाउ पुर्‍याउने, छोटा साहित्य जस्तै हाइकु, हाइगा, हाइबुन, सिजो, मुक्तक, परम्परागत कविता लघुकथा आदि विकासमा सघाउने र यी सम्पूर्ण लक्ष्य पूरा गर्न साहित्यिक कार्यशाला, प्रवचन, सम्पर्क, सम्वाद, पुस्तक परिचर्चा, पाण्डुलिपि, सम्पादन, साहित्य अध्ययन, साहित्य यात्रा, तालिम, अनुसन्धान, प्रकाशन प्रचारप्रसार आदि सम्बद्ध योजना एवं कार्यक्रम कार्यान्वयनबाट साहित्यिक सीप ज्ञान एवंम् सद्भाव उकास्ने योजना रहेको छ।

उनले भने, ‘साहित्य विकासका लागि स्थापना गरिएको यो संस्थाका पदाधिकारीको चयन परम्परागत ढंगभन्दा अलि पृथक ढंगले गरिएको छ। मासिक रुपमा प्रत्येक महिनाको १७ गते साहित्यिक सत्संग गरिनेछ। जसमा हरेक श्रृङ्खलामा अध्यक्षको रुपमा जेष्ठताका आधारमा पालैपालो थकाली चयन गरिनेछ।’

यसका साथै एकजना महिला र एकजना पुरुष पनि सहजेष्ठताका आधारमा सह-थकाली चयन गरी कामको बाँडफाँड गरिनेछ। कार्यक्रम संयोजक, व्यवस्थापक, टिपोटकर्ता,व्यवस्थापक पनि आलोपालो गरि सबैले काम सिक्न पाउने अवसर अनुरुप गरिनेछ।

साहित्य संस्था नेपालका सदस्यहरुमा रामकुमार पाँडे, मित्रबन्धु पौडेल, किशोर बज्राचार्य, सुमी लोहनी, प्रकाश ए. राज प्रभा बराल, नीलिमा मास्के, अशोकमान सिंह, विजयराज आचार्य, सुमन के.सी आदि सदस्यहरु आबद्ध छन्।

साहित्यस सत्सँगको पहिलो श्रृंखला फागुन १७ गते क्लासिक ब्यांक्वेट हात्तीवनमा गरिएको थियो। उक्त कार्यक्रमको थकालीको भूमिकामा वरिष्ठ साहित्यकार रामकमार पाँडे थिए भने विशेष अतिथि गीतकार एवमं लिटिल एन्जेल्स विद्यालयका प्राचार्य मुकुन्दराज शर्मा थिए।

फाल्गुन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्