प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सामेल हुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा उनको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि सामेल हुने  भएका छन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आउँदो बुधबार निर्धारण गरिएको प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका बेला अस्पतालका चिकित्सकहरुसँगै डा. अन्तत पनि सामेल हुने स्रोतले बताएको छ।

तर यसबारे सम्बन्धित अस्पतालका चिकित्सकहरु र प्रधानमन्त्री ओलीको सचिवालयले भने केही खुलाएको छैन।

स्रोतका अनुसार डा. अनन्तसँग परामर्श भइरहेको छ र आवश्यक पर्दा आफू उपलब्ध हुने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।

 

प्राध्यापक डा. अनन्त नेतृत्वको चिकित्सकको टोलीले सन् २००८ मा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो।

संविधान दिवसका अवसरमा गत असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री (प्रथम श्रेणी) को सम्मान पाउनेमा डा. अनन्त पनि थिए।

त्यो बेला डा. अनन्तसँगै सिंगापुर नेशनल युनिभर्सिटी हस्पिटलका सिनियर कन्सलट्यान्ट प्राध्यापक अनन्थरमण वास्थसाला, निजी चिकित्सक डा. दिव्या सिंह शाह लगायतले सम्मान पाएका थिए।

डा. अनन्त हाल दिल्लीस्थित म्याक्स अस्पतालका युरोलोजी सर्जरी एण्ड किड्नी ट्रान्सप्लान्टेसन विभागका निर्देशकको जिम्मेवारीमा छन्।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्र्गाैला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुन लागेको जानकारी उनले आइतबारको नेकपा केन्द्रीय सचिवालय बैठकमा गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गरेका थिए।

यसअघि प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण विदेश(सिंगपुर, अमेरिका या भारत)मा पनि गर्न सक्ने चर्चा चलेको थियो । तर विकसित राजनीति र अन्य परिस्थितिलाई ध्यान दिँदै प्रधानमन्त्री ओली नेपालमै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको बुझिन्छ।

फाल्गुन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्