राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए पिट बुटजज

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेका पिट बुटजजले उम्मेदवारीको होड अन्त्य गरेका छन् ।

साउथ क्यारोलाइनामा अपेक्षाकृति प्रदर्शन गर्न नसकेपछि इन्डियाना राज्यको साउथबेण्डका पूर्व मेयर पिटले चुनावी अभियान अन्त्य गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पिटले आयोवामा भएको डेमोक्र्याटिक पार्टीको पहिलो ककसमा पहिलो स्थान हाँसिल गरेका थिए । उनले न्यूह्याम्पसरमा पनि राम्रो प्रदर्शन गर्दै सिनेटर बर्नी सान्डर्स भन्दा पछि दोस्रो स्थानमा रहेका थिए । नेभेडामा ठीकै गरेका उनले साउथ क्यारोलाइनामा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

सुपर ट्युसडे अन्तर्गत आउँदो मंगलबार १४ राज्यमा उम्मेदवार छान्नका लागि डेमोक्र्याटले मतदान गर्दै छन् । त्यसको पूर्व सन्ध्यामा मेयर पिटले अप्रत्यासित रुपमा आफ्नो चुनावी अभियान अन्त्य भएको घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति उम्मेदवारीका लागि आफ्नो औपचारिक घोषणा सभालाई सम्बोधन गरिसकेपछि श्रीमान चेस्टनलाई अंगालो हाल्दै पिट् बुटजज । तस्बिर : चेस्टनको ट्वीटर ह्याण्डल

राष्ट्रपतिको उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत गर्ने र प्राइमरीमा जाने उनी अमेरिकाको प्रमुख पार्टीका पहिलो ‘ओपनली गे’ हुन् । ३८ वर्षका पिटको चुनावी अभियानमा उनका श्रीमान चेस्टन बुटजजको भूमिका महत्वपूर्ण रहँदै आएको थियो ।

मेयर पिटले आइतबार राति डालासमा गर्नु पर्ने  र्‍याली रद्द गरे । यस्तै सोमबार बिहान टेक्सासको अस्टिनमा सहयोग जुटाउने कार्यक्रम पनि स्थगित गरेर उनी साउथबेन्ड इन्डियाना गएका हुन् ।

उनले उल्लेख गरेका छन्, ‘हाम्रो फ्लाइटका बारेमा तपाईँहरुलाई केही जानकारी । हामीले हाम्रो यात्रामा परिवर्तन गरेका छौँ र टेक्सासको सट्टा साउथबेन्ड जाँदै छौँ । हामीले केही घोषणा गर्दैछौँ हाम्रो चुनावी अभियानको भविष्यका बारेमा र हामी यहाँबाट देशलाई कता लैजान चाहन्छौँ भन्ने बारे । त्यसैले तपाईँहरुले हामीलाई फरक दिशामा गएको पाउनु भएको हो ।’

मेयर पिटले कुन उम्मेदवारलाई समर्थन गर्छन् भन्ने स्पष्ट भएको छैन । तर सिनेटर बर्नी सान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेनमध्ये एकलाई पिटको बहिर्गमनको फाइदा हुनेछ । पिटले बाइडेनलाई समर्थन गर्ने सम्भावना बढी छ । बाइडेन र पिटबिच भ्वाइस म्यासेज आदानप्रदान भएको छ ।

हावर्ड र अक्सफोड विश्वविद्यालयमा अध्ययन गरेका पिट् रोड स्कलर हुन् । सात भाषा बोल्ने पिट् अमेरिकी नेभीका वार भेट्रान हुन् । उनी अफगानिस्तानमा अमेरिकी नेभीबाट तैनाथ भएका थिए । पिट २९ वर्षको उमेरमा झण्डै एक लाख जनसंख्या रहेको साउथ बेन्ड शहरको मेयर बने । उनी हालै मात्र मेयरको दोस्रो कार्यकाल पूरा गरी बिदा भएका हुन् ।

औद्योगिक इतिहास बोकेको साउथ बेन्डलाई बिलय हुँदै गरेका अमेरिकाका १० शहरको रुपमा सूचिकृत गरिएको थियो । तर मेयर पिट्ले आफ्नो कार्यकालमा शहरको रुप फेर्न सफल भए । अहिले साउथ बेन्ड बिलय हुँदै गरेको होइन उदाउँदै गरेको अमेरिकी शहरका रुपमा लिइन्छ ।

नयाँ पुस्ताको खाँचो अमेरिकालाई रहेको बताउँदै उम्मेदवारीको होडमा आएका बुटजजमाथिको सबैभन्दा ठूलो चुनौति झण्डै चार वर्षअघि ‘पहिलो महिला राष्ट्रपतिका लागि तयार नभएको अमेरिका कम उमेरको र त्यसमा पनि समलिङ्गी (गे) राष्ट्रपतिका लागि तयार होला त ?’ थियो ।

राजनीतिक मूल्य मान्यता, धर्म, सामाजिक व्यवस्था सबैले व्यक्तिलाई उसको कामले मुल्यांकन गर्ने भएकाले आशावादी रहेको र आफ्नो यौनिकता नितान्त व्यक्तिगत कुरा रहेको उनको भनाई छ ।

पिट र उनका श्रीमान चेस्टन बुटजज घरमा एडप्डेट कुकुरसँग खेल्दै । तस्बिर : द वासिङ्गटन पोस्ट

सन् २०१५ मा साउथ बेन्डको मेयरका लागि दोस्रो कार्यकालको चुनावी अभियानको मध्य कालमा बुटजजले स्थानीय पत्रिका द साउथ बेन्ड ट्रिब्युनमा एक लेख प्रकाशित गरेर समलिङ्गी पहिचान खुलाएका थिए । त्यसपछिको चुनावमा उनले ८७ प्रतिशत मत ल्याएर जिते ।

मेयरमै रहेका बेला सन् २०१८ मा चेस्टन ग्ल्याजमन (बुटजज) सँग विवाह गरे । बुट्जजले आफूलाई श्रीमान चेस्टनले राम्रो मानव बनाउन सहयोग गरेको र त्यसले गर्दा राम्रो उम्मेदवार बनेको बताउने गरेका छन् ।

फाल्गुन १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्