ओ मिस्टर, म बिहे गरुँ कि नगरुँ- तिम्रो टाउको किन दुख्यो हँ?

यो समाजमा बिहे गर्न अचम्मको दबाब आउँदो रहेछ। साथीभाइले जिस्क्याउँदा होस् या मेरो बली चढाएर भोज खाने दाउले- आमाबुवासँग छोरी ठूली भई, अलि ठूली भएपछि बिक्न गाह्रो हुन्छ भनेर होस् या केटो राम्रो छ, यत्तिको केटो भेटिँदैन भनेर होस्- दबाब भने अर्कै हुँदो रहेछ। तर, धेरै सोचेर हो कि के हो? मलाई भने यो समाजले उल्लु बनाइरहेजस्तो लाग्छ।

कुनै केटासँग हाँसेर नै बोलेँ भने पनि ‘राम-राम’ भन्ने मान्छेहरु नै तम्सेर केटा खोज्न थाले मेरा लागि। मैले नै ‘राम-राम’ बन्नुपर्ने बेला आइलाग्यो। म +२ पढ्दा होला,  मेरी आमालाई ‘यसको केटा छ! मैले आफैँले देखेको, कुन दिन भागेर विवाह गर्छे’ भनेर घरमा तनाव दिने त्यही समाज अहिले मैले विवाह नगर्दा अनेक भन्न थालिसकेको रहेछ।

मसँग धेरै प्रश्न छन्- तर जवाफ भने आफ्नो ताइँ न तुइँको तर्कले दिन्छ यो समाज। समाजमात्र कहाँ हो र कानुन पनि! विवाहलाई एक सामाजिक संस्थामा स्थापित गरेको यो कानुन विवाहपछि भएका मेरा सन्तानलाई मेरै नाम दिन हिच्किचाउँछ। मैले प्रमाणित गर्दिनु पर्ने मेरो सन्तानको पिता भएपछि मात्र मेरो नामबाट नागरिकता पाउने व्यवस्था भएको यो कानुनमा विवाह गरेर कुनै ठूलो उपलब्धि होला जस्तो मलाई लाग्न छोडिसकेको छ।

विवाहलाई यो समाजले निसन्देह बढी नै ‘भाउ’ दिएको छ। यसको अभिव्यक्ति सोसल मिडिया, टेलिभिजन र लगभग हरेक चलचित्रमा देख्न सकिन्छ। महिलालाई जीवन बिताउन एकजना साथीको आवश्यकता पर्छ भन्ने खालको छनक जहाँतहाँ देखिन्छ। महिला अधिकारकर्मीहरु हानिकारक परम्परा बिरुद्ध चिच्याईचिच्याई बोल्दा पनि नसुन्ने यो सामाजिक- कानुनी व्यवस्थामा अर्को एक जना- म, मसिनो आवाज भएको केटी बोल्दा के नै फरक पर्छ र! तर मलाई विवाहतिर जानीनजानी घचेटिरहेकाहरुलाई उत्तर दिनुपर्ने आवश्यकता मैले देखेँ।

विवाहको रमझम र त्यसको तडकभडकमा, बत्तीको उज्यालो पछ्याउँदै जलेर मर्ने पुतलीको जस्तो हालत भएको छ हाम्रो। प्रेमको अन्तिम गन्तव्य भनेर हेरिन्छ विवाहलाई। तर, विवाह त प्रेमको कोशेढुङ्गा मात्र हो, त्यसपछि अनन्त-अनन्तसम्म प्रेमको यात्रा बाँकी नै हुन्छ भन्ने कोही भेट्टाएको छैन मैले।

साधारणतया: धेरैजस्तो पितृसत्तात्मक समाजमा विवाह र विवाहपूर्व हुने भेटघाटलाई धेरै उत्साहपूर्वक हेरिन्छ तर त्योभन्दा पहिले कुनै पनि महिलाले केटाप्रति रुचि राखेमा उसको चरित्रहत्या गर्न कोही पछि पर्दैनन्। यदि छोरीको विवाह जरुरी नै छ भने उसलाई आफ्नो साथी चिन्ने, रोज्ने र उसलाई परीक्षण गर्ने स्वतन्त्रता किन छैन यो समाजमा?

बुवाआमालाई पनि कस्तो आनन्द- छोरीको कन्यादान सबैभन्दा ठूलो दान रे! अहिलेको शताब्दीमा पशुको त अधिकार हुन्छ भने म एक महिलाको खुलेआम सौदा गरेर दान दिने अधिकार कसले दियो उहाँहरुलाई? तर, यस विषयमा न त कानुन बोल्छ, न त समाज- दुवै मौन धारण गरेर चुपचाप मजस्ता अनेकौँ केटीहरुको सौदाको भोज खाँदै उत्सव मनाउँछ।

विवाहप्रति मेरो कुनै नकारात्मक धारणा छैन, तर विवाहको अनिवार्यताप्रति भने ठूलै गुनासो छ। विवाहपछि विवाहले पछ्याउने जिम्मेवारीप्रति पनि कसैले म जस्तालाई अवगत गराइदिए कस्तो हुन्थ्यो होला। विवाहको रमझम र त्यसको तडकभडकमा, बत्तीको उज्यालो पछ्याउँदै जलेर मर्ने पुतलीको जस्तो हालत भएको छ हाम्रो। प्रेमको अन्तिम गन्तव्य भनेर हेरिन्छ विवाहलाई। तर, विवाह त प्रेमको कोशेढुङ्गा मात्र हो, त्यसपछि अनन्त-अनन्तसम्म प्रेमको यात्रा बाँकी नै हुन्छ भन्ने कोही भेट्टाएको छैन मैले। यसो सोच्दा यो समाजले हामीलाई उचित ढंगले माया गर्न पो सिकाएन कि जस्तो पनि लाग्छ।

विवाह दाम्पत्य जीवनको सुरुवात हो, सुखी र सम्मानित जीवनको विस्तार हो। तर, विवाहले महिलामाथि नै परिवर्तनको भार किन बोकाउँछ: बेहुली निहुरिनैपर्ने, घुम्टोमा लुक्नुपर्ने, केटाको सहित उसका आफन्तको खुट्टा ढोग्नुपर्ने, थरको परिवर्तन, घरको परिभाषाको परिवर्तन, शारीरिक परिवर्तन- मानौँ विवाहअगाडि कुनै महिलाको आत्मसम्मान र पहिचान हुँदैन। विवाहपछि महिला बेतलबी कामदारको रूपमा पुरुषको घरमा भित्रिन्छे, न उसको कामको पहिचान हुन्छ , न उसको शरीरको सम्मान, न त उसको गतिशीलतामा स्वतन्त्रता र समानता नै झल्किन्छ।  यति हुँदाहुँदै दुबै पक्ष मिलेर यो विवाह टिकाउन समान प्रयास हुनुपर्नेमा, एकतर्फी भार बोकाएर समानता दिएको अनुभूति गराउन खोज्छ यो समाज।

मेरो आफ्नो कुनै व्यक्तिगत चाहना हुनसक्ने ठाउँ यो समाजले मलाई विवाहपछि मात्रै उपलब्ध गराउने हो? महिलाले मात्रै वंश अगाडि बढाउने हो? वंश अगाडि बढाउन नभई नहुने महिलाको कोखको कुनै कृतिम उपाय विज्ञानले अहिलेसम्म खोजिसकेको छैन। साँच्चै गहिरिएर हेर्ने हो भने पिताको अस्तित्व धेरै नै खतरामा हुने बेला आइसकेको छ। तर बिस्मात को कुरा के छ भने आजको दिनसम्म पनि जुन घरमा महिला विवाह गरेर जान्छे, त्यो घरको वंश मात्र बढ्छ। महिलाको विवाहपछि अस्तित्व सकिन्छ, त्यही घर उसको पहिचानमा हाबी हुन्छ।  वास्तवमा भन्ने हो भने महिलाको विवाहअगाडि र विवाहपछाडि कुनै  पहिचान छैन। त्यसकारण मलाई कानुनले र समाजले बनाएको यो विवाहको संस्थाप्रति कुनै  दृढ विश्वास छैन र मेरो पहिचानको यकिन संरचनाको निर्माण नहुन्जेल हुने पनि छैन।

फाल्गुन १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्