उम्मेदवारीको होडबाट बाहिरिइन् सिनेटर एमी, जो बाइडेनलाई समर्थन गर्ने

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट सिनेटर एमी क्लोबुसर पछि हट्ने भएकी छन् ।
मिनेसोटा सिनेटर एमीले ‘सुपर ट्युसडे’ का रुपमा लिइएको १४ राज्यमा हुने ककस पूर्व उम्मेदवारको होडबाट बाहिरिने निर्णय गरेकी हुन् । एमीले इन्डियानाको साउथबेण्डका पूर्व मेयर पिट् बुटजजको मार्ग पछ्याएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।
आइतबार मेयर पिटले उम्मेदवार बन्ने होडबाट बाहिरिएको घोषणा गरेका थिए । मंगलबार डेमोक्र्याटहरुले १४ राज्यमा आफ्नो उम्मेदवार चयनका लागि मतदान गर्दै छन् ।
सिनेटर एमीले चार राज्यमा भएका प्राइमरी ककसमा खासै राम्रो गर्न नसकेपछि होडबाट बाहिरिने निर्णय गरेकी हुन् । साउथ क्यारोलाइनामा उनी छैटौँ स्थानमा आएकी थिइन् । शनिबार साउथ क्यारोलाइनामा भएको ककसमा पूर्व उपराष्ट्रपति जो बाइडेन विजयी भएका थिए । मेयर पिट् चौथो स्थानमा आएका थिए ।
५९ वर्षकी सिनेटर एमीले जो बाइडेनलाई आफ्नो समर्थन दिने तयारी गरेकी छ्न । टेक्सासको डालासमा हुने र्यालीमा सिनेटर एमी पूर्व उपराष्ट्रपति बाइडेनको समर्थनका लागि सहभागी हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एमीले राम्रो मध्यमार्गी डेमोक्र्याटको मत तान्ने राम्रो प्रयास गरे पनि ७७ वर्षे बाइडेन र ३८ वर्षे मेयर पिट् उनी भन्दा अघि देखिए ।
साउथबेन्डका पूर्व मेयर पिट् बुटजजले पनि पूर्व उपराष्ट्रपति बाइडेलाई समर्थन गर्ने जनाइएको छ । उनी डालासमा हुने सभामा सिनेटर एमीसँगै बाइडेनको समर्थनमा उपस्थित हुने छन् । बाइडेलाई समर्थन गरेर उनीहरु समाजवादी सिनेटर बर्नी सान्डर्सलाई रोक्ने प्रयासमा छन् ।
पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनका सुरक्षा सल्लाहकार सुसन राइसले बाइडेनलाई समर्थन गरेका छन् ।
मेयर पिट् तथा सिनेटर एमी बाहिरिएसँगै आउँदो नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने होडमा डेमोक्र्याटिक पार्टीमा अब पाँच आकांक्षी छन् ।
बाइडेन र सान्डर्ससँगै सिनेटर एलिजाबेथ वारेन, न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग तथा सांसद तुलसी गाबर हाल चुनावी होडमा रहेका छन् ।