प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

सक्षम चिकित्सक, अग्निपरीक्षा जस्तो दायित्व

काठमाडौँ – दोस्रो पटक मिर्गौला प्रत्यारोपण नेपाल (महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल) मै गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र सोमबार उनी त्यहाँ भर्ना भएसँगै साे अस्पतालको प्रत्यारोपण सेवा आम चासाेको विषय बनेको छ।

सन् २००८ अगस्ट ८ मा नेपालमै पहिलो पटक मिर्गौला प्रत्यारोपणको सेवा सुरु गर्न सफल अस्पतालका चिकित्सकहरुले त्यसको निरन्तरता र गुणस्तरीता दुवैमा सम्झौता नगरेका कारण हाल आएर प्रधानमन्त्री ओली समेत यो सेवामाथि विश्वास गर्ने स्थितिमा पुगेका हुन्।

अष्ट्रेलियाका शल्य चिकित्सक डा. डेभिड फान्सिसको नेतृत्वमा हाल ओलीको निजी चिकित्सकको जिम्मेवारीमा समेत रहेकी अस्पतालकी नेफ्रोलोजिष्ट डा. दिव्या सिंह शाह, युरोलोजिस्ट डा. भोलाराज जोशी लगायत चिकित्सकहरुको सक्रियता र अनवरत प्रयासपछि शिक्षण अस्पतालमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवाले नेपालको स्वास्थ्य सेवा बिस्तारमा इट थपेको थियो।

स्वदेशमा प्रत्यारोपण सेवाको अभावमा आर्थिक हैसियत कमजोर भएकाहरु विदेशको महंगो उपचारको पहुँचमा पुग्न नसक्दा अकालमै जीवन गुमाउनु पर्ने बाध्य बनेका थिए भने आर्थिक अवस्था बलियो हुनेहरु भारत, सिंगापुर लगायत मुलुक पुग्थे।

स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो व्यक्तिको इतिहास बनाउन हेमराज श्रेष्ठ सफल हुँदै गर्दा केपी शर्मा ओली भने भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुगेका थिए।

मिर्गौला फेल भइसकेको अवस्थामा पुगेका ओलीको अवस्था गम्भीर थियो।

अपोलो अस्पतालका डा. अनन्तकुमार नेतृत्वको चिकित्सकको समूहले ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो सन् २००८ मै।

मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन शिक्षण अस्पताल छिर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: दिपा दाहाल

डा. अनन्तले हालै ओलीको प्रत्यारोपणमा संलग्न भइरहेका केही चिकित्सकको नाम लिँदै भनेका छन्,‘मिर्गौला प्रत्यारोपणमा भारत जस्तै नेपाल पनि सक्षम भइसकेको छ। चिकित्सकहरुले निकै मेहनत गर्दै बिरामीको विश्वास आर्जन गरिसक्नु भएको छ । त्यसलाई लिएर म पनि खुशी छु।’

योसँगै उपचारको सफलतामा बिरामीको आत्मविश्वास पनि जोडिने र त्यो प्रधानमन्त्री ओलीमा रहेको डा. अनन्तले बताए।

यता विगत १२ वर्षमा शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण मात्रै होइन कलेजो प्रत्यारोपणमा समेत सफलता प्राप्त गरेपछि यहाँ सेवारत चिकित्सकहरुमा आत्मविश्वास बलियो देखिएको हो ।

तर पनि ओलीको चाहनामा उनको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका डा. अनन्तलाई नेपाल बोलाइएको छ।

‘मिर्गौला प्रत्यारोपण लगायत सबै खाले विशिष्ट सेवामा हामी पूर्णरुपमा सक्षम भइसकेका छौँ। तर पनि बाहिरबाट कोही सिनियर चिकित्सक आउनुहुन्छ भने हामी उहाँहरुलाई स्वागत गर्छौँ। त्यसले हामीलाई थप हौसला र मार्गनिर्देश प्रदान गर्छ’ ओलीको प्रत्यारोपणमा संलग्न अस्पतालका डा. पवनकुमार चालिसले भने।

डा. अनन्त अनुभवी चिकित्सक मानिन्छन्। अस्पताल प्रशासनका अनुसार १२ वर्ष यता यहाँ करिब ६ सय बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने ११ औँ नम्बरमा प्रधानमन्त्री ओली परेका छन्।

ओलीको प्रत्यारोपणको नेतृत्वमा रहेका प्राध्यापक डा. प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपणमा सफलता प्राप्त गरिरहेको बताए।

उनले भने,‘मिर्गौला प्रत्यारोपण हामीले नियमतिरुपमा दिँदै आएको सेवा हो। दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपण हालसम्म सतप्रतिशत सफल भएको छ। त्यसलै प्रधानमन्त्रीको केशमा पनि हामी ढुक्क छौँ।’

तर अस्पतालको मिर्गौला प्रत्यारोपणको मृत्युदर ३ दशमलव ५ प्रतिशत छ। त्यसको न्यूनिकरणको प्रयासमा चिकित्सक भए पनि त्यो चुनौति हो उनीहरुका लागि ।

उनको उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको बलियो आत्मविश्वासले उपचार सफलतामा सहयोग गर्ने छ तर पनि पटक-पटक संक्रमणबाट ग्रसित ओलीको शरीर अन्य बिरामीको जस्तो नभएकाले उनी जोखिममुक्त भने छैनन्।

‘हामीले सतप्रतिशत सफलताका लागि प्रयास गरे पनि बिरामीको शरीर कस्तो छ भन्नेमा प्रत्यारोपण या अन्य सल्यक्रियाको सफलता निर्भर गर्छ । प्रधानमन्त्रीको शरीरमा पटक-पटक सक्रमण देखिएको छ। त्यो चिकित्सा विज्ञानमा जहिल्यै चुनौति हो। त्यसैले अवको दुई हामी सबैका लागि ठूलो परीक्षा हो । आलोचना भन्दा प्राथना ठूलो मानिन्छ यो बेला ।’ ती डाक्टरले भने।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा तीन वटा विभागीय चिकित्सक र नर्सहरु संलग्न हुने छन्। प्रत्यारोपणमा नेफ्रोलोजी, युरोलोजी र आइसीईको चिकित्सकहरुको समूह सामेल हुने अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताए।

‘कुनै पनि शल्यक्रिया गर्नु पहिले बिरामीलाई अस्पतालमै राखेर कम्तिमा दुई दिन अघि ‘रुटिन’ जाँच गर्नुपर्छ। त्यसका लागि प्रधानमन्त्री ओली पनि भर्ना भइसक्नु भएको छ। र, जाँच सुरु भइसकेको छ’ डा. खड्काले बताए।

खड्काकाअनुसार मिर्गौला प्रत्यारोपणपछि कम्तिमा ७ दिन अस्पताल नै रहनु पर्ने हुन्छ । यो प्रधानमन्त्री ओलीको हकमा पनि लागु हुनेछ।

तीन महिना अघि प्रधानमन्त्री ओलीमा देखिएको गम्भीर प्रकृतिको ‘एपेन्डिसाइटिस’ को शल्यक्रियाको सफलतामा शिक्षण अस्पताल र मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरका चिकित्सक जोडिएका थिए। चिकित्सकहरुले सामूहिकरुपमा गरेको अथक प्रयासपछि ओलीले दोस्रो जीवन पाएका थिए।

त्यसबाट आत्मविश्वास बढाएका ओलीले भिभिआईमध्ये सम्भवत पहिलो पटक मिर्गौला प्रत्यारोपण जस्तो गम्भीर उपचार शिक्षण अस्पतालमै भर्ना हुने निर्णय लिए। त्यसबाट चिकित्सकहरु उत्साहित त छँदैछन्, उनीहरुमाथि कुनै पनि कमजोरी हुन नदिने दायित्व पनि थपिएको छ।

‘एपेन्डिसाइटिस’ को उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘हाम्रो लागि यो नियमित काम हो । हाम्रो अघि राम्रो गर्ने मात्रै विकल्प हुन्छ। कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेका हामीलाई मिर्गौला प्रत्यारोपण सामान्य जस्तै हो । तर पनि हामी अघिपछि जस्तै गम्भीर छौँ।’

फाल्गुन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्