अमेरिकाको टेनिसीमा टोर्नाडो, २५ जनाको मृत्यु

अमेरिकाको टेनिसी राज्यमा टोर्नाडोका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईवटा टोर्नाडोका कारण ठूलो क्षति भएको हो ।

घर तथा भवनहरु भत्किएका छन् भने धेरै मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टेनिसीको सबैभन्दा ठूलो शहर नाशभिलमा टोर्नाडोले ठूलो क्षति गरेको छ । अझै पनि धेरै मानिस सम्पर्क बाहिर रहेको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन्।

नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढी क्षति भएको छ । मृत्यु हुने मध्ये १९ जना सोही काउन्टीका हुन् । उद्धार तथा राहतको काम भइरहेको जनाइएको छ । अहिले झण्डै ४४ हजार मानिस विद्युत सेवा बिना रहेका छन् ।

फाल्गुन २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्