हेल्थ टिप्स

कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने, के नगर्ने?

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ७० भन्दा बढी देशमा फैलिएको छ । चीन सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमित भएका झण्डै एक लाख मानिस मध्ये अधिकांश चीनका छन् ।

यस्तै मृत्यु भएका ३२ सय भन्दा बढी मध्ये पनि अधिकांश चीनकै छन् । तर पछिल्लो समय युरोपको इटालीमा महामारीकै रुपमै फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेको देशको सूचिमा राखेको छ ।

अधिकांशमा कोरोना भाइरसले त्रासको अवस्था सिर्जना गरेको छ । मास्कको अभाव हुन थालेको छ । मानिसहरुले मास्कसहितका सामग्रीहरु जोहो गरेर राख्न थालेका छन् । कोरोनाबाट जोगिने भन्दै विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर ती उपायहरु उपयुक्त नहुन सक्छन् ।

खासमा के गर्ने र के नगर्ने त ?

गर्नु पर्ने


विभिन्न काम गरेपछि साबुन–पानी प्रयोग गरी कम्तिमा २० सेकेण्ड लगाएर हात धुने वा ६० प्रतिशत अल्कोहल युक्त ह्याण्ड सेनिटाइजरको प्रयोग गरी हात सफा गर्ने ।

विशेष गरी खाना बनाउनुअघि, बाथरुम या ट्वाइलेट गएपछि तथा सिगान फालेपछि, खोकेपछि र हाछ्यूँ गरेपछि हात सफा गर्नु पर्छ ।

कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षणबारे जानकारी लिनु पर्छ । यसको लक्षण ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुनेसहितका हुन् । तर यसको सुरुवात रुघाबाट हुँदैन अधिकांशमा ।

सार्वजनिक स्थल जानु पूर्व सावधानी अपनाउने गर्नु पर्छ । विशेष गरी ६० वर्ष भन्दा माथिका वा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सार्वजनिक स्थलको यात्रा सकेसम्म कम गर्नु पर्छ ।

खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्नु पर्छ । खोक्दा वा हाछ्यूँ गर्दा प्रयोग गरेको टिस्यू पेपर डिस्पोज गर्नु पर्छ ।

आफूमा भाइरस भएको वा भाइरसको संक्रमण भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने मास्क प्रयोग गर्नु पर्छ । मास्क पनि सही तरिकाले लाउनु पर्छ ।

गर्न नहुने


आँखा, नाक वा मुखमा बारम्बार हात लैजानु हुँदैन । कोरोना भाइरसको भएको क्षेत्रमा गएको भए वा हातमा भाइरस आएको भए बारम्बार आँखा, मुख र नाकमा छुँदा भाइरस शरीरमा जाने सम्भावना हुन्छ ।

जोखिमको अवस्था नआएसम्म मास्कको प्रयोग गर्नु पर्दैन । मास्क लगाउँदा अरुलाई संक्रमण हुन नदिन सहयोग गर्छ तर आफू स्वस्थ रहेको अवस्थामा मास्क लगाउँदा त्यति फाइदाजनक हुँदैन ।

ज्वरो आएको भए यात्रा गर्नु हुँदैन । विमानमा यात्रा गर्दा बिरामी महसुस भए क्र्यू मेम्बरलाई भन्नु पर्छ ।

भाइरसको संक्रमण भएको शंका लागेका साथी तथा परिवारका सदस्य र उनीहरुका घरपालुवा जनावरसँग खेल्नु हुँदैन ।

कोरोना भाइरसलाई लिएर त्रसित नहुनुहोस् । अहिले कोभिड–१९ को संक्रमण कम हुँदै गएको छ र प्रयासहरु पनि सघन बन्दै गएका छन् ।

(यो सामग्री वेबएमडीको सहयोगमा तयार पारिएको हो।)

फाल्गुन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू