‘बाघी–३’को शानदार सुरुवात, पहिलाे दिनमै अजय देवगनको ‘तान्हाजी’लाई उछिन्याे

एजेन्सी– बलिउड एक्सन स्टार टाइगर श्राफको मुख्य अभिनय रहेको चलचित्र ‘बाघी–३’ले कोरोना भाइरसको त्रासका बीच बक्सअफिसमा शानदार सुरुवात गरेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन १७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

आदर्शका अनुसार पहिलो दिनमै ‘बाघी–३’ले अजय देवगनको चलचित्र ‘तान्हाजी: द अनसुङ वारियर’को व्यापारलाई उछिनेको छ। तान्हाजीले पहिलो दिन १५ करोड १० लाखको व्यापार गरेको थियो।

‘बाघी–३’ भारतमा ४ हजार ४ सय र ओभरसिजमा १ हजार १ सय गरी विश्वभर ५ हजार ५ सय स्क्रिनमा एक साथ रिलिज भएको थियो।

अहमद खानको निर्देशनमा बनेको चलचित्र ‘बाघी–३’मा टाइगर शानदार एक्सन अवतारमा देखिएका छन्। चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको छ।

चलचित्रमा टाइगरका साथै श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखण्डे, दानिश भट, विजय वर्मा लगायतको अभिनय रहेको छ।

चलिचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।

फाल्गुन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्