लिभरपुल उपाधिको थप नजिक, बोर्नमाउथमाथि पहिलो हाफकै गोलले जित

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको थप नजिक पुग्ने क्रममा लिभरपुलले बोर्नमाउथलाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बोर्नमाउथमाथि २–१ को जित दर्ता गरेको हो ।
सी विल्सनले नवौँ मिनेटमा गोल गर्दै बोर्नमाउथलाई सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा मोहम्मद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए । ३३ औँ मिनेटमा साडिओ मानेले गोल गरेपछि लिभरपुलले अग्रता लियो ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र लिभरपुल विजयी भयो । जितपछि शीर्षस्थानको लिभरपुलको २९ खेलबाट ८२ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलबाट ५७ अंक रहेको छ । बोर्नमाउथ भने २७ अंकसहित रेलिगेशन जोनमा छ ।