विराटनगर भन्सारमा पनि कोरोना भाइरसको असर, राजस्व घट्यो

मोरङ– विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा लक्ष्यकाे ४० प्रतिशत राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीका अनुसार गएको ७ महिनासम्ममा १९ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। गएको माघ महिनामा ३ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजस्व संकलन लक्ष्य राखिएकोमा २ अर्ब ८२ करोड रुपैयाँ मात्र संकलन भएको छ।

चीनकाे वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (काेभिड–१९) का कारण राजश्व संकलनमा समेत असर परेकाे कार्यालयकाे बुझाइ छ।

हाल चीनको ग्वान्जाओ, वुहान, संघईलगायतका बन्दरगाहबाट मालसमान रोकिएको भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले बताए। परासरका अनुसार केही मालसमानको सवारी सडकमा आउने क्रममा भएपनि, बन्दरगाह भने बन्द अवस्थामा रहेको छ।

आउँदो ४ महिनामा निर्धारित भन्सार लक्ष्य पूरा हुनेतर्फ कार्यालय केन्द्रीत रहेकाे उप्रेतीकाे भनाइ छ। ‘फागुन, चैत्र, वैशाख र जेठ महिना राजस्व संकलन हुने सुखद महिना हो। त्यसैले पनि यसबीच ८० प्रतिशतसम्म राजस्व संकलन गर्न सके फलदायी नै मान्नुपर्छ।,’ प्रवक्ता उप्रेतिले भने।

चीनबाट गतवर्ष २०७५/७६ माघसम्ममा १२ अर्ब ४३ करोड (१६.२६ प्रतिशत) मूल्य बराबरको समान पैठारी भएको भन्सार कार्यालयले जनाएको छ।

त्यसैगरि चालू आर्थिक वर्ष २०७६/७७ को माघसम्ममा भने ८ अर्ब ५५ करोड रुपैयाँ (११.२८ प्रतिशत) भन्सार राजस्व संकलन भएको छ। जुन अघिल्लाे वर्षकाे तुलनामा ३१ प्रतिशत कम हो।

चीनबाट फलफूलमा स्याउ, नासपती, प्लाष्टिकका खेलौना, भान्साघरका समान, लत्ताकपडा, जुत्ताचप्पल, गार्मेन्टका सरसमान पैठारी हुँदै आएको थियो। हाल यी सबै कुरा चीनका विभिन्न बन्दरगाहबाट ठप्पको अवस्थामा रहेको छ।

यद्यपि नेपालमा सर्वाधिक आयात हुने भारतबाट चालु आर्थिक वर्ष ६६ दशमलव २० प्रतिशत व्यापार रहेको छ। जुन अघिल्लो वर्ष ६८ दशमलव ३० प्रतिशत रहेको कार्यालय जनाएकाे छ। त्यसैगरि बाँकी अन्यराष्ट्रबाट १५ दशमलव ३४ प्रतिशत ब्यापार रहेको कार्यालयको भनाइ छ।

भन्सार कार्यालयका अनुसार चीन बाहेक भारत र अन्य राष्ट्रबाट सरसमान आउने क्रम जारी नै रहेको छ।

फाल्गुन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्