अन्तर्वार्ता

‘हाेलीमा रङको प्रयाेग गर्दा सावधान बनाैँ, केमिकलयुक्त रङले छालामा गम्भीर असर गर्छ’

‘हाेलीमा रङको प्रयाेग गर्दा सावधान बनाैँ, केमिकलयुक्त रङले छालामा गम्भीर असर गर्छ’

डा. सबिना भट्टराई।

होली रङहरुको पर्व। खुसीको पर्व। यो पर्वमा घरपरिवार तथा साथीभाइ एक आपसमा रङमा रंगिएर प्रेम, खुसी साटासाट गर्ने गरिन्छ। यसरी एक आपसमा रङ साटासाट गरिरहँदा विशेष ध्यान पुर्‍याउनु पर्ने चिकित्सकहरु बताउँछन्।

पछिल्लो समय प्रयोग गरिने रङहरुमा अत्यधिक मात्रामा ‘केमिकल’ पाइने गरेका छन्। जसको प्रयोगले मानिसको छालालाई असर पर्‍याउनुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वातावरणलाई समेत असर गरिरहेकाे हुन्छ।

‘केमिकल’युक्त रङहरुको उपयोग खतरानाक हुने भन्दै चिकित्सकहरुले प्राकृतिक रङको प्रयोग गर्न सुझाव दिएका छन्। यसै विषयमा वरिष्ठ छाला रोग विशेषज्ञ प्रा. डा. सबिना भट्टराईसँग गरिएको कुराकानी।

होलीमा प्रयोग गरिने रङले छालामा कस्तो असर गर्छ?

विषेशगरी होली रङको पर्व भएका कारण विभिन्न प्रकारका रङहरुको प्रयोग गरेर यो पर्व मनाउने गरिन्छ। छाला शरीरको महत्वपूर्ण र बाहिर देखिने अङ्ग पनि हो। पछिल्लो समय होलीमा प्रयाेग गरिने रङहरु धेरै केमिकलयुक्त भएको पाइन्छ।

परापूर्वकालमा होलीमा प्राकृतिक रङहरुको प्रयोग धेरै हुने गरेको पाइन्थ्यो भने अहिलेको धेरै रसायन मिसिएका रङहरुको प्रयोग धेरै भइरहेको छ। त्यही रसायनका कारण छालामा विभिन्न असर पर्ने गर्छ।

रङले छालामा कस्तो असर पर्छ भन्नुभन्दा पहिला हामीले कुन–कुन रङमा के–के केमिकल हुन्छ भन्ने कुरा जान्न जरुरी हुन्छ। हामीले सबैभन्दा धेरै प्रयोग गर्ने रातो रङ हो। जसमा मर्करी सल्फाइड ‘केमिकल’ धेरै प्रयोग गरिएको हुन्छ। यसले छालालाई मात्र नभएर भित्री अङ्गहरुलाई समेत असर गर्ने गर्छ।

त्यसैगरी कालो रङमा लेड अक्साइड, निलो र हरियो रङमा कपरसल्फिट हुन्छ। यी रङभन्दा पनि अझ धेरै टल्किने रङहरु छालाका लागि खतरानाक मानिन्छन्। यस्ता रङहरुमा माइका, सिलिका जस्ता ‘केमिकल’को प्रयोग धेरै गरिएको हुन्छ।

यस्ता धेरै ‘केमिकल’ प्रयोग गरिएका रङको प्रयोग गर्नले छालामा असर गर्नुका साथै केहिगरि शरीरभित्र पसेकाे खण्डमा स्वास प्रश्वास, किड्नी, ब्रेन, न्युराेलोजी सम्बन्धी समस्यासमेत देखिने गरेको छ।

होली खेल्दा कस्तो सावधानी अपनाउन सकिन्छ?

अहिले सरकारले होली नखेल्न आग्रह गरेको छ। भिडमाडमा जम्मा नहुन भनेको छ। तर पनि तपाईहरु होली खेल्दै हुनुहुन्छ भने रङ, पानी खेल्नुहोस्। तर धेरै भिज्ने अनि भिडभाडमा जाने काम नगर्नुस्। बजारमा पाइने ‘केमिकलयुक्त’ रङहरुको साटो प्राकृतिक रङहरुको प्रयोग गर्नुस्।

जस्तो पहेँलोको लागि बेसारको प्रयोग गर्न सकिन्छ। त्यसैगरी मेहेन्दी विभिन्न फूलहरुको रस पनि रङको रुपमा प्रयोग गर्न सकिन्छ। जसले छालालाई कुनै प्रकारको नोक्सान पर्‍याउने काम गर्दैन।

तर रङ खेल्नुभन्दा पहिला शरीरमा तेल, मोस्चराइजर, सनस्क्रिम लगाउनु पर्दछ। यसो गर्नाले रङले प्रत्येक्ष रुपमा पुर्‍याउने असरबाट बच्न सकिन्छ। रङ खेलिरहँदा हामीले छाला पूर्णरुपमा सुरक्षित राख्न सक्दैनौँ। तर धेरैबेरसम्म शरीरमा बस्ने समयलाई न्यून गर्न सक्छौँ।

सबैभन्दा उत्तम उपाय भनेको रमाइलोका लागि केहिबेर होली खेलेर नुहाउनु नै हो। अझ बढी सानो बालबालिका र गर्भवतीको छाला सेन्सेटिभ हुने भएकाले रङको प्रयोग गर्दा एकदमै ध्यान पुर्‍याउन पर्दछ।

त्यसैगरी, ‘केमिकल’को रियाक्सन हुने व्यक्तिले रङ धेरै बेरसम्म राख्नु हुँदैन।

रङ सफा गर्न शरीर रगडेर पखाल्ने बानी हुन्छ, यसो गर्नु कतिको उपयुक्त हाे?

छालालाई यसै पनि रङले असर गरिरहेको हुन सक्छ। जसले गर्दा जिउ चिलाउने, रातो हुने, पानीको फोका आउने, दागहरु देखिने हुनसक्छ। त्यसैगरी छालालाई रगड्ने  हो भने छालाको प्रोटेक्टिभ लेयर उड्ने गर्छ। लेयर उडेकाे खण्डमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र रोग लाग्ने सम्भावना बढी हुनका साथै ‘केमिकल’ सजिलै शरीरभित्र छिर्न सक्छ।

त्यसकारण रङ धुँदा कहिल्यै पनि बेस्सरी रगडेर धुनु हुँदैन। कडा साबुन, डिटर्जेन्टको प्रयोग गर्नु हुँदैन। दुई तीन दिनमा रंग आफै जाने भएका कारण रंग पखाल्नका लागि जोड लगाएर, रगड्ने काम गर्नु हुँदैन।

रङ खेल्दा एलर्जी भएर वा यसमा पाइने लिड ‘सिसा’का कारण क्यान्सरको सम्भावना कतिको निम्त्याउँछ?

यो कुरा प्रमाणित पनि भइसकेको छ। छालामा धेरै रक्तकोषिका हुन्छन्। जसले सर्कुलेसन गरिरहेका हुन्छन्। रङ लामो समयसम्म शरीरमा रहन दियो भने शरीरको रक्तकोषिकामा पुगरे सर्कुलेसनमै हानीकारक असर पुर्‍याउने गर्छ।

यति मात्र नभएर आँखामा समस्या आउने, नङहरु पाक्ने, कपालमा संक्रमण हुने भएकाले धेरैभन्दा धेरै प्राकृतिक रङको प्रयोग गरौँ। र रंगलाई धेरै बेर शरीरमा रहन नदिऊ, जति सक्दो चाँडोभन्दा चाँडो पखालौँ।

फाल्गुन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्