लैङ्गिक समानता चियापसलमा त आइसक्यो, हाम्रो भान्सामा नि?

नारीवाद र महिलाको अवस्थाको कुरा गर्नेबित्तिकै हामीमध्ये धेरैले सम्झिहाल्ने नाम हो- सिमोन दि वुभा। फ्रेन्च नारीवादी र अस्तित्ववादी यिनले आफ्नो विख्यात पुस्तक ‘द सेकेण्ड सेक्स’मा लेखेकी छन्, ‘महिलाहरु जन्मिँदैनन्, हुर्काइन्छन्।’

समयक्रमानुसार समाजलाई नियाल्ने हो भने नेपाली समाजमा महिलाहरु कसरी हुर्किरहेका छन् त? महिलाका लागि समाजले एउटा छुट्टै परिधि तोकिदिएको छ। महिलाले यसो-यसो मात्र गर्न पाउने, गर्न हुने र यसो-यसो चाहिँ गर्न नहुने र नपाउने। ती परिधि कसले खडा गरिदिए त भन्दा पुरुषहरुले।

महिलाले आफ्नो अस्तित्व खोज्दै जाँदा, भेट्टाउँदै जाँदा, पुरुषद्वारा निर्मित संस्कारका पर्खालहरु भत्किने भए, भत्किँदै छन्, भत्किन्छन् पनि। त्यसैले ती परिधिहरु छिचोलेर खुल्ला संसारमा विचरण गर्दा सीमाहरु भत्काइएकोमा सबैभन्दा पहिले पुरुष नै आक्रोशित हुने भए/भएका देखिन्छन्। झट्ट हेर्दा नारीवादी आन्दोलनको रोष पुरुषविरुद्ध देखिए पनि यसको तात्विक सत्य भने विशुद्ध स्वअस्तित्वको खोज हो भन्ने मलाई लाग्छ।

यहाँनेर महिलाप्रति पुरुषको बुझाइ कस्तो वा पुरुषप्रति महिलाको बुझाइ कस्तो छ भन्नु भन्दा पनि महिला वा पुरुष वर्गप्रति हाम्रो समाजको धारणा कस्तो छ भन्ने कुरोले महत्ता राख्छ। आखिर हामी यही समाजका उपज नै त हौँ।

मैले जीवनमा नजिकबाट नियालेका घरहरुमध्ये मेरो जन्मघर र मामाघर हुन्। यी दुई घरमा मैले चार पुस्ताका मानिसहरुसँग घुलमिल हुन पाएको छु। दुवै घरका हजुरबाहरुको धमिलो सम्झना मात्र भएकोले मैले त्यो पुस्ताको पुरुषहरु महिलालाइ कसरी हेर्थे भनेर प्रत्यक्ष अवलोकन गर्ने अवसर नपाए पनि हजुरआमाहरुसँगको कुराकानीबाट भने पुरुषहरु (हजुरआमाका श्रीमान, देवर, जेठाजु, दाजुभाइ, पिता, ससुरा आदि) ले महिलालाई कसरी कठपुतली बनाउँथे भन्ने अनुमान र कल्पना गर्न सक्छु।

पहिलो, हजुरआमाले मलाई असाध्यै माया गर्ने र दोस्रो, बुढापाका मानिससँग गफ गर्न र उनीहरुको कुरा सुन्न मलाई पनि असाध्यै रमाइलो लाग्ने भएर होला, मामाघर गएको बेला हजुरआमासँग मेरो राम्रै भलाकुसारी हुन्थ्यो। एकदिन हजुरआमा र म बार्दलीमा घाम ताप्दै  बसिरहेका थियौँ। बार्दलीबाट तल हेर्दा सडकमा मान्छेहरु हिँडिरहेका, केटाकेटी खेलिरहेका, बेलुन बेच्न हिँडेका, सिरक डस्ना बनाउन हिँडेका मानिसहरुको रमाइलो दृश्य देखिन्थ्यो वा ती गतिविधि हेर्दा हामीलाई रमाइलो लागेको थियो।

सडकमा हिँडिरहेका एक जोडीलाई इंगित गर्दै हजुरआमाले भन्नुभयो,  ‘ऊ! अचेलका जोइपोइ हलगोरु जस्तै नारिएर हिँड्छन्। अगेर अगेर माइत जाँदा बा अगिअगि हिन्नुन्त्यो, म पछिपछि हिन्थेँ। काँ सँगै हिन्न पाइन्थ्यो र नानी!’ हिँडाइमा देखिएको त्यो अन्तर, त्यो दुरी हजुरआमा र हजुरबाको सम्बन्धको दुरी थिएन। त्यो त समाजले महिला र पुरुषबीच निर्माण गरेको अन्तर थियो। महिला भनेको पुरुषको पछिपछि मात्रै हिँड्नुपर्छ, न कि सँगसँगै भनेर स्थापित एउटा मान्यता थियो। त्यस्ता थुप्रै मान्यताहरु मानव स्वभावमा पनि लादिँदै ल्याइयो र अन्ततः महिला भनेको सहनशील, धीर, कोमल, लजालु हुनुपर्छ तर पुरुष भने सुरो, वीर, बलियो, निडर हुनुपर्छ भन्दै त्यसैमा अभ्यस्त गराउँदै महिला र पुरुषलाइ हुर्काइयो। यस्तो हुर्काइ तपाईँ हाम्रो चेतन दिमागमै यसरी जड भएर बस्यो कि यसको जरो काट्नै अझ संघर्ष गरिरहनु परेको छ।

हजुरआमासँग रोचक कुराकानी भइरहेकै बखत भित्र भान्साबाट खाजा खान भनेर माइजुको बोलावट आयो। हलुवा र तरकारीको मिठो स्वादसँगै हाम्रा कुराकानी पनि स्वादिला बन्दै गए। मैले सोधेँ, ‘पहिलेपहिले के खाजा खानुहुन्थ्यो हजुराँ?’

अनुभव र अध्ययनले लैङ्गिक चेत फराकिलो हुँदै गएको भए पनि लैँङ्गिक समानता तपाईँहाम्रो घरघरमा, मनमनमा आइसकेकै छ त? चिया पसलमा त लैङ्गिक समानताको कुरा चर्कै आवाजमा गरिरहनुहुन्छ तर घरको भान्सामा चिया पकाउन कत्तिको अग्रसर हुनुहुन्छ?

लैङ्गिकताको प्रसंगमा नै कुराकानी भइराखेको भएर होला, उहाँले भन्नुभयो, ‘बा, हजुरबाहरुलाई घ्यु हालेर मसिनाको भात पकाइन्त्यो, हामी केट्केटी त्यस्तै खट्टेसट्टे मकैसकै खान्तिम।’ हजुरआमाको कुरा सुन्दा हाम्रो भोजनमै पनि ठूलो भेद थियो/छ। शक्तिवर्द्धक र उच्च पौष्टिक तत्व भएका दही, दूध, घ्यु, माछामासु आदि खानेकुरा पुरुषले मात्र खाने भन्ने रीत। अनि महिलाहरु कमजोर हुन्छन् भन्ने अर्को एउटा कथित मान्यता जड हुँदै जाने हाम्रो दुःखद (नि)वर्तमान। एउटा स्वस्थ मानिसलाई चाहिने आहारामा पनि कत्रो विभेद! महिला भएकै कारणले कुनै पुरुषको संरक्षकत्वमा आफूलाई सुरक्षित महसुस गर्नुपर्ने हाम्रा हजुरआमा आमाहरुमाथि थोपरिएको बुझाइ अनि पुरुष भएकै कारणले पौष्टिक आहार भोजन गर्नुपर्ने हाम्रा हजुरबा, बाहरुको  मौलिक अधिकार? अनि महिलाहरु शारीरिक रुपमै कमजोर हुन्छन् भन्ने कृतिम तथ्यद्वारा महिला नै शिकार? एउटा मानिसलाई स्वस्थ जीवन बाँच्न चाहिने आहारामै पनि निन्दनीय विभेद! कति अन्यायपूर्ण हाम्रो चलन! यी र यस्ता अन्याय, विभेदपूर्ण चेतना र गतिविधिविरुद्ध उठेको एक सचेत आवाज झ्वाट्ट सुन्दा पुरुषविरुद्धको आवाजजस्तो सुनिए पनि यो पुरुषविरुद्धको आवाज होइन, हो त निर्मम पितृसत्ताविरुद्धको आवाज, मानवताको आवाज।

त्यसो त महिला अधिकार र नारीवाद शब्द सुन्दैमा भननन्न हुने पुरुष पनि हाम्रै वरीपरि छन् भने महिलाका मुद्दामा लैङ्गिकताको मुद्दा मात्र नदेखी एउटा मानवीय मुद्दा हो भनेर लागिपर्ने , पैरवी गर्ने पुरुषहरु पनि हाम्रै वरिपरि छन्।

करिब २०६६ सालतिर हो, हामीले कक्षा १२ मा एउटा ऐच्छिक विषय छान्न पाउने भयौँ। विकल्पमा वातावरण अध्ययन, पर्यटन अध्ययन र लैङ्गिक अध्ययन थिए। को-को के-के पढ्ने भनेर छलफल भयो। तीनवटै विषय पढ्न केही न केही संख्यामा विद्यार्थीहरु इच्छुक देखिए। जम्माजम्मी ४० जना जति विद्यार्थी भए पनि ३ वटै विषयमा विद्यार्थीको चासो देखिएपछि र के पढ्ने भन्नेमा विद्यार्थीको मतैक्य नआएपछि अन्ततः  प्रशाशनबाट ‘लैङ्गिक अध्ययन’ नै पढ भन्ने सुझाव आयो र त्यतिबेला भर्खरै मात्र कक्षा १२ मा त्यो विषय राखिएको भएकाले पनि अधिकांश विद्यार्थी ‘लैङ्गिक अध्ययन’ पढ्न उत्सुक भयौँ पनि।

पाठ्यक्रममा लैङ्गिकताको सामान्य परिचयदेखि नारीवादसम्मको पाठहरु समेटिएका थिए। लैङ्गिक सामाजिकीकरण कसरी हुँदै आएको छ, महिला र पुरुषको कार्यविभाजन कसरी भइरहेको छ र कस्तो हुनुपर्छ भन्ने पाठमा बहस हुने बित्तिकै केही पुरुष सहपाठीहरु रिसले चुर हुन्थे। मूलतः आमसञ्चार र पत्रकारिता थियो हामीले पढ्ने विषय। तर ऐच्छिक विषयमा लैङ्गिक अध्ययन पढिएको थियो। यी यावत जानकारी किन त भन्ने तपाईँलाई लाग्न सक्छ तर भन्नुपर्ने छ किनभने त्यतिबेलाका मेरा धेरै सहपाठीहरु आज पत्रकारिता गरिरहेका छन्। समाज परिवर्तनको संवाहकका रुपमा आफूलाई परिचित गराइरहेका छन्। आशा छ- आजको दिनसम्म आइपुग्दा उनीहरुले पत्रकारितामार्फत आममानिसलाई दिग्भ्रमित नपारिदिएको होस्।

आज त जमाना फेरिँदो छ। महिलाका मुद्दा महिला मात्रका सवाल होइनन् भन्ने बुझाइ पनि बढ्दो छ। हिजोका दिनसम्म महिला लैङ्गिकता, महिलाका अधिकार कर्तव्यका बारेमा सबाल आउने बित्तिकै यी छलफलका विषय होइनन्, महिला भनेका यस्ता हुन्, उस्ता हुन् भन्ने तिनै पुरुषहरु आज महिलाका विषयमा कम्तिमा छलफल गर्न तयार भएको देख्दा खुसी मान्नु परेको छ। अझ संसारलाई फरक ढङ्गबाट चिहाएकाहरुबाट त लैङ्गिकताको मुद्दालाई कुनै एक लिङ्ग विशेषको मुद्दा मात्र नभएर एउटा मानवको वा मानवीय मुद्दा हो भन्ने तर्क पनि पढ्न सुन्न पाइन्छ। सुन्दा त वाह! कति गज्जब जस्तो लाग्छ तर के हाम्रा दैनन्दिन जीवनमा ती तर्कहरुले सार्थकता पाएका छन् त?

महिलालाइ कठपुतली जस्तै बनाइएको त्यो परिवेशबाट आजको दिनसम्म ल्याइ पुर्‍याउनुमा तपाईँहाम्रो साथ र समर्थन कति रह्यो, आउनुस् एकछिन हामी आफ्नै छातीमा हात राखेर आफैँलाई सोधौँ।

अनुभव र अध्ययनले लैङ्गिक चेत फराकिलो हुँदै गएको भए पनि लैँङ्गिक समानता तपाईँहाम्रो घरघरमा, मनमनमा आइसकेकै छ त? चिया पसलमा त लैङ्गिक समानताको कुरा चर्कै आवाजमा गरिरहनुहुन्छ तर घरको भान्सामा चिया पकाउन कत्तिको अग्रसर हुनुहुन्छ? आफ्नै घरका महिला सदस्यलाई घरका काममा कत्तिको सघाउनु हुन्छ? सदनमा महिलाको उपस्थितिको उदाहरण दिएर आफूले पनि लैङ्गिक समतामूलक समाज रुचाएको अभिव्यक्ति दिनुहुन्छ तर परिवारमा कति निर्णयहरु महिलाका सदस्यसँगको छलफलमा गर्नुहुन्छ? घरभित्रका काममा समान सहभागिता कत्तिको गराउनुहुन्छ? घरमा कुनै काम गर्नुपरे आफू तम्सिनु हुन्छ कि जसले गरे पनि हुन्छ भनेर मिलीजुली गर्नुहुन्छ?

फाल्गुन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्