एक बाल संघर्षले दिलाएको खुशी

जब विपनालाई लाग्यो, किन यो बच्चाले होटलमा काम गरिरहेकाे हाेला?

जब विपनालाई लाग्यो, किन यो बच्चाले होटलमा काम गरिरहेकाे हाेला?

काठमाडौँ–प्रायः ११ वर्ष उमेरका बालबालिका खेल्ने, कुद्ने, घुम्ने स्वभावका हुन्छन् तर पश्चिम नवलपरासीस्थित सुनवलकी विपना शर्मामा भने खेल्ने कुद्ने उमेरमा बालमैत्रि अभियानमा लाग्ने सोच जागृत भयो ।

उनी पनि अरु बालबालिका जस्तै चनचले, चुलबुल स्वभावकी थिइन् । सानोमा नयाँ ठाउँमा घुम्न जाने, होटलहरुमा खाना खाने उनका रहर थिए । ‘म आमाबुबासँग बाहिर घुम्न र होटलहरुमा खाना खान जान्थे । यहि क्रममा मैले होटल लगायत अन्य ठाउँमा आफ्नै उमेरका बालबालिकालाई काम गरिरहेको देखे, मनमा कस्तो कस्तो भयो’, उनले भनिन्।’

हुन त बालबालिकाका यस्ता रहर हुनु स्वभाविक हो । तर सानै उमेरमा पनि सही र गलत छ्ट्याउन सक्ने क्षमता र स्वभावले उनलाई अरुभन्दा केही फरक बनायो ।

‘बच्चामा प्राय के गलत के सही भन्ने सोचिँदैन । के छ, के भइरहेको छ , मतलब हुन्थेनँ, उनले भनिन्, ‘खेल्ने, घुम्ने, साथीहरुसँग रमाउने यस्तै कुरामा ध्यान हुन्छ । तर मेरा गाउँका साथीहरु स्कुल नगएको देख्दा मेरो मनमा प्रश्न आयो म स्कुल जान्छु तर उनीहरु किन जादैनन् ?’
उनको मनमा यो प्रश्न, गाउँका साथीहरुलाई देखेर मात्रै होइन, आफ्नो परिवारसँग घुम्न जादाँ होस् या होटलमा खाना खाँदा त्यहाँ काम गरिरहेका बच्चाहरुलाई देख्दा पनि यस्तै प्रश्न आउन थाले।

‘एक दिन म बाबासँग होटलमा खाना खान गएकी थिए । त्यहाँ मेरै उमेरको बच्चाले खाना ल्यायो । त्यो देख्दा मेरो मनमा विभिन्न कुरा खेल्न थाले। किन यो बच्चा यसरी काम गरिरहेको छ ? किन स्कुल नगएको होला ?तर म स्कुल गइरहेकी छु । किन उसमा र म मा यति फरक , के कारणले फरक भयो ? यस्तै कुरा मेरो मनमा आइरहे, उनले भनिन्।’

भिडियाे:

उनले आफ्ना मनका प्रश्नहरु आफ्ना बुबालाई सोधिन्, ‘बुबा मेरा साथीहरु किन स्कुल जादैँनन् र बच्चाहरु किन रेष्टुरेन्टमा काम गरिरहेका छन्? उनीहरुलाई स्कुल पठाउन कसले काम गर्छ ?’

उनले भनिन्, ‘तर बुबाले यसको लागि एक जनाले मात्र काम गरेर हुँदैन ।सरकारले बलियो नीति ल्याएर काम गर्नुपर्ने हो भन्नुभो ।’ उनले यस विषयमा आफ्ना बुबालाई मात्र होइन, समाजका अन्य व्यक्तिहरुलाई पनि प्रश्न गरिन् तर सबैले सरकारलाई दोष दिएको उनको भनाई छ । उनको मनमा फेरि अर्को पश्न आयो, को हो ‘सरकार’ ? सबैले सरकारलाई दोष दिन्छन्, किन आफै काम नगर्ने भन्ने उनलाई लाग्यो ।

‘मैले बुबाको साथीलाई सोधे, राजनीतिज्ञहरुलाई पनि सोधे र उहाँहरुले सरकारको काम भनेर जवाफ दिए’, उनले भनिन्, ‘तर कसैले पनि म, हामी र हाम्रो काम हो भन्नुभएन।’

उमेर ठूलो हुँदै जाँदा विपनाले सरकार को हो भन्ने पनि थाहा पाइन् । उनले भनिन्, ‘मैले विस्तारै बुझ्दै जाँदा गाउँपालिका, नगरपालिका लगायतका सरकारी निकाय हाम्रो सरकार रहेछ भन्ने थाहा पाए।’

अब सरकारले मात्र होइन, हामी आफैले आफ्ना लागि काम गर्नुपर्ने रहेछ भन्ने लाग्यो उनलाई । तर जति सजिलो सोच्न छ त्यति नै काम गर्न गाह्रो छ तर असम्भव भने छैन भन्ने भावना उनको मनमा बलियो हुँदै गयो ।

उमेरले परिपक्व नभए पनि सोचले परिपक्व भएकी विपना आफ्नो सपनालाई विपनामा ढाल्न जुटिन् । उनले २०६८ सालमा आफ्नो वडामा बालक्लव स्थापना गरिन् । क्लवमा उनले अध्यक्ष भएर काम गरिन् ।

उनलाई बाल क्लव खोल्न निकै चुनौतीको सामना गर्नुपर्‍यो । ‘क्लब बनाउन म एक्लै भएर भएन, त्यसका लागि अरु मेम्बर नि चाहियो । मैले साथीहरुलाई भने साथीले माने तर उनीहरुका आमाबुबाले मानेनन् । हाम्रो छोराछोरीको पढाई बिग्रन्छ भने । तर मैले उनीहरुको पढाई बिग्रदैन । म जिम्मा लिन्छु । यदि हजुरका छोराछोरीको पढाई विग्रिए उनीहरुलाई फिर्ता ल्याउनु होला’, विपनाले चुनौती सुनाइन् ।

सबैभन्दा ठूलो त उनका लागि उनको उमेर नै चुनौती बन्यो । ‘सानो उमेर ठूला कुरा भन्नेको कमि थिएन । त्यसैमाथि ठूलाबडाले साना फूच्चाफच्चीको किन कुरा सुन्ने हामीले बच्चासँग कुरा गर्दैनौँ भन्थे’, उनले अघि भनिन् ।

तर उनी समस्याको अगाडि झुकिनन् । उनले आफ्नो कामलाई निरन्तरता दिइरहिन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझै नेपाल सरकारले २०६८ सालमा बालमैत्री स्थानीय शासन रणनीति ल्यायो र यसले विपनाको कामलाई अगाडि बढाउन ठूलो सहयोग पुग्यो ।

२०६८ सालमा बालमैत्री स्थानीय शासन रणनीति आएपछि सबै बालबालिकाका लागि काम गर्ने योजना बनाएको उनले बताइन् । तर अब राम्रोसँग कानुन नबुझ्दा उनलाई अझ चुनौती थपियो । उनलाई छरछिमेक, विद्यालयमा समेत व्यङ्ग्य गर्न थालियो । ‘मलाई स्कुलमा शिक्षकहरुले ए विद्यार्थीलाई पिट्नु हुन्न है बालमैत्री आको छ रे भन्दै मेरै अगाडि पिट्ने गर्थे, व्यङ्ग्य गर्थे’, उनले नमिठो पल सुनाइन् ।
तर उनले यीे कुरालाई सकरात्मक रुपमा लिइन् । उनलाई विश्वास थियो एक दिन सबैले उनी माथि गर्व गर्नेछन् र यस अभियानलाई सम्मान गर्नेछन् ।

समाजले साथ नदिएपनि विपनालाई परिवारको साथ भने राम्रो थियो । उनलाई क्लवको काम गर्दा होस् या कार्यक्रममा जादाँ क्लवका अन्य सदस्यहरुलाई घरमा नै बोलाउन जानुपर्ने अवस्था सिर्जना भयो । ‘साथीहरुलाई बोलाउन जादाँ साथीहरुको आमाबुबाले खेलेर पुगेन, कहिले चाइल्ड क्लब भन्या छ, कहिले मिटिङ भन्या छ, पढाइ विग्रिन्छ यसरी त भन्न थाल्नुभयो उनले भनिन् यसमा लागेर हाम्रो पढाई विग्रिदैन। हामीले हाम्रो खेल्ने समयको सहि प्रयोग गरेको भनेपछि उहाँहरुले पनि मलाई विश्वास गर्नुभयो।’

त्यसपछि उनले १ सय १८ ठाउँमा ‘चाइल्ड क्लव’ गठन गरिन् । क्लब बढेसँगै उनलाई स्वयंमसेवक, बजेट लगायतको आवश्यकता भयो ।
‘हामी आफैँ बच्चा, बच्चाहरु मिलेर बच्चाहरुका माग लिएर नगरपालिकासँग स्वयमसेवकको माग गर्‍यौँ’, उनले भनिन् ‘हामीले नेपालको पहिलो बाल मैत्री नगरपालिका हुने भन्ने कुरा राखेपछि हाम्रो कुरा उनीहरुलाई जायज लाग्यो र नगरपालिकासँग हातेमालो गरेर अगाडि बढ्यौँ।’
बालबालिकाका लागि हुने विभिन्न कार्यक्रमहरुसँग पनि उनले सहकार्य गरिन् । लामो संर्घषपछि २०७२ जेठ ३२ गते सुनवल गाउँपालिका नेपालको पहिलो बालमैत्री गाउँपालिका घोषणा भयो ।

‘त्यसदिन मेरो एसएलसीको पहिलो परीक्षा सुरु भएको थियो । म सबै परीक्षा दिएर घर, होस्टल तिर लागे । सरकार र युनिसेफले गरेको कार्यक्रम जहाँ नेपालको पहिलो बालमैत्री गाउँपालिका र युनिसेफले अनुगमनका लागि गरेको कार्यक्रममा म गएकी थिएँ।

तर मलाई त्यहाँ देख्दा सबै रिसाए, किन आएको पढ्न छोडेर, एसएलसी जस्तो परीक्षामा पढ्नु पर्दैन। पढाई भन्दा ठूलो अरु हुँदैन’, त्यहाँ सहभागीहरुले विपनालाई सम्झाउन थाले ।

तर विपनाले अरुको सुनिनन् आफ्नो लामो संघर्षपछि प्राप्त उपलब्धीको साक्षी बन्न उनी कार्यक्रम नसकिएसम्म सहभागी भइन् ।
अहिले नेपालमा २२ हजार भन्दा बढि बाल क्लवहरु छन् । उतीबेला व्यङ्ग्य गर्नेहरुले अहिले सम्मान गर्ने गरेको विपनाको अनुभव छ ।
विपनाले गरेको कामको प्रसंसा गद धुर्मश–सुन्तलीले ज्योति चलचित्र बनाएका छन् ।

यस्तै गतवर्ष पुस १० गते राष्ट्रको उत्कृष्ट युवा ‘द आउटस्ट्यान्डीङ्ग युथ अफ नेशन अवार्ड’ बाट विपना सम्मानित भईन् । नेपाल जेसिजको रत्ननगर चितवनमा आयोजित ४६ औँ राष्ट्रिय महाधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका थिए ।

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका युवाहरुलाई निश्चित मापदण्डका आधारमा दिइने अवार्डमा उनी छानिएकी थिइन् ।
बालबालिका र युवाका सवालमा आफ्नो अभियान जारी राख्ने उनी बताउँछिन् ।

उनी सुनवलमा समुदाय स्तरमा गठित बालकल्वको अध्यक्ष थिइन् भने जिल्ला बाल संञ्जालको अध्यक्ष हुँदै उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा अवार्ड पनि प्राप्त गरेकी छन् ।

यस्तै विपनाले सन् २०१५ मा पहिलो ग्लोकल टिन हिरो अवार्ड हात पारिन् । सोही वर्षनै ताईवानमा बालिका दिवसको अवसरमा आयोजित कार्यक्रममा एसियन गल्र्स ह्युमन राईट्स अवार्ड पनि उनले प्राप्त गरेकी छन् ।

यस्तै उनले सन् २०१८ मा युवा परिषद नवलपरासीद्वारा प्रदान गरिएको युवा प्रतिभा पुरस्कार पनि हात पार्न सफल भइन् । यस्तै उनले अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको एक सभामा सहभागी हुँदै नेपालको बालमैत्री अभियान र बालअधिकारका क्षेत्रमा भइरहेका काम बारे प्रस्तुति समेत दिएकी थिइन् ।

उक्त सभामा नेपालबाट बालमैत्रीको सवालमा प्रस्तुति दिने उनी पहिलो व्यक्ति थिइन् । हाल उनी बालमैत्री स्थानीय शासन राष्ट्रिय मंञ्चमा रहेर बालमैत्री अभियानको अभियन्ताको रुपमा काम गरिरहेकी छन्।

तस्बिर साैजन्य: विपना शर्मा। 

फाल्गुन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्