कोरोनाको संक्रमण बढ्दै गएपछि इटालीका ६ करोड नागरिक क्वारेन्टाइनमा

इटालीका प्रधानमन्त्री।

एजेन्सी– चीनको वुहान क्षेत्रबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि इटाली सरकारले पूरै देशलाई क्वारेन्टाइनमा परिणत गरिदिएको छ।

यसअघि इटालीको लोम्बार्ड क्षेत्रका करिब एक करोड ६० लाख नागरिकलाई क्यारेन्टाइनमा राख्ने निर्णय गरिएकोमा त्यसलाई विस्तार गरेर देशव्यापी बनाइएको इटालीका प्रधानमन्त्री ज्युसेप्पी कोन्टेले बताएका छन्।

प्रधानमन्त्री कोन्टेले देशका ६ करोड मानिसहरुलाई अत्यावश्यक काम र आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्कन अपिल गरेका छन्।

उनका अनुसार खेलकुद लगायत मानिसहरुको जमघट हुने सार्वजनिक कार्यक्रमहरु रद्द गरिएको छ। यो निर्णय नागरिकहरुको सुरक्षाको लागि गरिएको उनले बताएका छन्। अप्रिल ३ सम्मका लागि यो निर्णय लिइएको बताइएको छ।

उनले भनेका छन्, ‘आजको सही निर्णय भनेको घरभित्र बस्नु हो। हाम्रो भविष्य र इटालीको भविष्य हाम्रो हातमा छ। यी हातहरु पहिलेभन्दा अझ बढी जिम्मेवार हुनुपर्छ।’

कोन्टेका अनुसार अप्रिल ३ सम्म देशभरका विद्यालयहरु बन्द रहनेछन् भने रेष्टुरेन्टहरु र बारहरु साँझ ६ बजेसम्म बन्द गरिसक्नुपर्नेछ।

इटालीको यो घोषणालाई कोरोना भाइरस फैलन नदिन चीनभन्दा बाहिर गरिएको सबैभन्दा ठूलो प्रयासकाे रुपमा लिइएकाे छ।

इटालीको लोम्बार्डी  क्षेत्र कोरोनाबाट सबैभन्दा प्रभावित क्षेत्र हो।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म ९ हजार १ सय ७२ जनामा कोरोनाको संक्रमण भएको छ भने ४ सय ६३ जनाले ज्यान गुमाएका छन्।

पछिल्ला केही दिनमा चीनमा कोरोनाको संक्रमण दर उल्लेख्य रुपमा घटिरहँदा इटालीमा भने तीब्र रुपमा बढिरहेको छ।

हालसम्म कोरोनाको संक्रमणबाट संसारभर करिब ४ हजार जनाको मृत्यु भएको छ, जसमध्ये ३ हजार १ सय ३६ जनाको मृत्यु चीनमा मात्रै भएको छ।

संक्रमितको संख्या संसारभर १ लाख १४ हजार भन्दा बढी पुगेको छ।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ।

चीनमा संक्रमण दर घटेपनि इटाली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कारोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।

एजेन्सीकाे सहयाेगमा

फाल्गुन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्