जीवनको मूल्य मृ्त्युको संघारमा मात्र बोध भयो भने त्यसको के अर्थ?

जिज्ञासा, कौतुहल वा कुनै कुराबारे प्रश्न गर्नु मानव मस्तिष्कको स्वभाविक वृत्ति हो। कुनै मस्तिष्कमा यदि यस्ता भाव आउँदैन भने परिस्थिति सोचनीय एवम् गम्भीर हुन जान्छ।  विचार गरिहेर्नुस् त, एउटा सामान्य बालकका मनमा कति  जिज्ञासा हुन्छन्?  आधुनिक विज्ञानका धुरन्धरभन्दा धुरन्धर ज्ञाताले पनि कुनै एउटा सामान्य बालकको प्रश्न र जिज्ञासाको समाधान गर्ने सामर्थ्य राख्दैनन्। उसले आफ्नो चारैतिर जे हेर्छ,  त्यस विषयको उत्कंठाले उसको मन मस्तिष्क तरंगित हुन्छ।

पुतली किन उड्छ, घास किन हरियो, दिउँसो तारा र चन्द्रमा कहाँ जान्छन्, देवता त कहिले पनि केही ग्रहण गर्दैनन्,  हामी सधैँ देवतालाई किन भोग लगाउँछौँ? यी बाल सुलभ जिज्ञासा कति  जीवन्त हुन्छन्?  एक तपाईँहामी छौँ जुन आफूलाई परिपक्व भन्छौँ, बुद्धिमान ठान्छौँ! के तपाईँलाई लाग्दैन, जतिजति हामी परिपक्व हुँदै जान्छौँ, हामी आफूभित्र रहेको बाल सुलभ जिज्ञासु मनोवृत्ति  त्याग्दै गइरहेका हुन्छौँ? सामाजिकता र हानिलाभको फेरले  हाम्रो मनोवृत्ति यसरी  कुन्ठित लुन्ठित  बनाईदिन्छ कि शेष जीवन हामी ‘गोल्डन चाइल्डहुड’को  स्मृतिमा बिताउन  बाध्य हुन्छौँ।    इमानदारीपूर्वक भन्नुस्- तपाईँले आजसम्म कुनै बच्चा उदास- निराश हेर्नु भएको छ, तनावले ग्रस्त बाल अनुहार नजर गर्नु भएको छ? र, यसका साथै अर्को पनि एउटा प्रश्न मस्तिष्कमा राखेर सूक्ष्म अवलोकन गर्नुस्- तपाईँ आफैँ अथवा तपाईँको कुनै परिचित २४ घन्टासम्म लगातार प्रसन्न एवं तनावमुक्त रहनसक्छ?

केटाकेटीमा इन्द्रेणी हेर्न पाउँदा नै तपाईँ कति  रमाउनु हुन्थ्यो! इन्द्रेणी त आज पनि निर्मित हुन्छन्, भन्नुस् त के आज तपाईँभित्र आकाशमा इन्द्रेणी हेर्दा कुनै किसिमको भाव तरंगित हुन्छ। लेखकले हेप्यो भनेर नठान्नु होला यो लेख पढ़िराख्नु भएका मध्ये ५० प्रतिशत मानिसलाइ इन्द्रेणी किन बन्छ, कसरी बन्छलगायत इन्द्रेणी विषयक सामान्य जानकारी पनि नहोला? इन्द्रेणी हेरेर रमाउनु त टाढैको कुरा, शायद तपाईँसँग इन्द्रेणीलाई केही मिनट अवलोकन गर्ने समय पनि छैन होला!

मनुष्यता रुग्ण भइसकेको छ। प्रौढ़ र परिपक्व एवं बुद्धिजीवी  भनाउँदा मानिसहरु मलाई मनोरोगी लाग्छन्। तिनको मस्तिष्क ‘डस्टबिन’ सरह फोहोरको डंगूरले आकंठ भरिएको छ। त्यसभित्र जिज्ञासा – कौतुहल र प्रश्न उठने स्थानकै अभाव छ। फोहोरको थुप्रो खेलाएर बस्नु नै उसले जीवन ठान्छ।

एउटा प्रख्यात गुरुको आश्रममा थिएँ। एकजना दर्शनार्थीले आएर आफ्नो समस्या सुनाई समाधान मागे गुरुसँग। गुरुले भन्न थाल्नु भयो-  भगवान कृष्णले यस्तै  परिस्थितिका लागि अर्जुनलाई भन्नु भएको थियो ,हे अर्जुन तिमी मोहले ग्रस्त छौ, मोह छाड़, यो कुनै समस्या नै होइन। भगवान बुद्धले पनि यस्तो परिस्थिति सामना गर्नुपर्‍यो — आदि आदि प्रवचन दिएर गुरुले आगन्तुकको समस्यामा शास्त्रीय समाधान तेर्साई दिनुभयो। त्यो मानिसले के बुझ्यो, उसलाई नै विदित होला। आगन्तुक गएपछि  मैले गुरुसँग सोधे- अर्जुनको समय र अहिलेको समय एउटै हो?

कहाँ एउटै हुनु? अर्जुन द्वापर युगमा भएका थिए। अहिले त घोर कलिकाल छ?

अनि द्वापरमा कृष्णले अर्जुनलाई दिएको जबाब यो कलिकालको त्यस दुर्बल, निरीह र कमजोर मनोवृत्तिको  प्राणीलाइ दिएर तपाईँले के गर्नुभएको ? कतै  द्वापरका कृष्ण र अर्जुन तपाईँ र त्यही मानिसका रुपमा यस घोर कलियुगमा अवतरित त भएका होइनन्?

‘तपाईँको विनोद र कटाक्षमा भेद गर्न पनि  गाह्रो हुन्छ, तर मैले तपाईँको आशय बुझेँ- हामी गुरु भनाउँदा प्राणी सबै जनावरलाई एउटै दाम्लोले नियन्त्रणमा राख्न खोज्दा रहेछौँ। हाथीलाई बाख्राको दाम्लोले बाँध्न सकिन्न। फेरि मानिस त यस्तो अजंग र अचम्मको प्राणी हो यसभित्र मुसादेखि डायनासोरसम्मको चित्तवृत्ति विद्यमान छ। शास्त्र तत्कालीन युगका समाधान थिए, वर्तमान युगका मानिसको वृत्ति एवं समस्या फरक छन्, तिनको समाधान पनि युगीन नै हुनुपर्छ। समाज-घर-परिवार छाड़ेका हामी साधू सन्यासीवर्गसँग वर्तमान युगका मानिसको समस्याको कुनै अनुभूति नै हुन्न, समाधान कहाँबाट आउनु!’

के तपाईँलाई कहिले पनि जिज्ञासा भएको छ, तपाईँ दिनरात विभिन्न  ‘सोशल प्लेटफॉर्म’मा जे बकबास ‘पोस्ट’ गर्नुहुन्छ त्यसलाइ ‘स्टोर’ गरेर राख्न कति विद्युत व्यय हुन्छ ? विभिन्न ‘सोशल प्लेटफर्म’मा हालिएका सामग्रीको तौल कति पुग्यो होला? इन्टरनेटको अत्यधिक प्रयोगले तपाईँको मस्तिष्कलाई कस्तो असर पुर्‍याउँदै गइरहेको छ? पृथ्वीको जनसंख्या ७ दशमलब ७ अर्ब नाघीसक्यो, पृथ्वीले कतिसम्म मानिसको भार थाम्न सक्छ? जनसंख्या वृध्दि यसरी नै भइराखे मानिसलाई कतिन्जेल खान पिउन पुग्छ? ‘ग्लोबल वार्मिंग’, पर्यावरण प्रदूषण ,जल संकट आदिबारे केही प्रतिशत मानिसले चाख लिएको देखिए पनि ऊ स्वयंले यसमा योगदान गरिरहेको छ कि छैन भन्ने विषयमा उसले केही जिज्ञासा र त्यसको निवारण हेतु उसले केही सार्थक प्रयास गरेको छ?

जबाब तपाईँ आफैँसँग सोध्नुस्, मैले प्रत्युत्तरमा केही लेखेँ भने तपाईँको अहम्‌लाई धक्का लाग्नसक्छ। एउटा सानो उदहारणले आफैँ बुझ्ने प्रयास गर्नुस्। प्लास्टिकले वातावरणमा पुर्‍याइरहेको हानिबारे सबैलाई विदित नै छ। के तपाईँलाई थाहा छ- संसारसँग प्लास्टिकको विकल्प छैन। यति ग्रामदेखि यति ‘माइक्रोन’सम्मका प्लास्टिकमा प्रतिबन्ध भनेको, ‘मुर्खहरुद्वारा चुनिएको, मुर्खहरु माथि शासन गर्ने,  मुर्ख शासकवर्गको मूर्खता’बाहेक केही होइन। आज मनुष्यको ८० प्रतिशतभन्दा बढ़ी आवश्यकता प्लास्टिकबाट पूरा भइरहेका छन्।

हेर्नुस आफ्नो दैनिकीमा, प्लास्टिकले तपाईँलाई कहाँकहाँ सहयोग र सुविधा पुर्‍याइरहेको छैन? समस्या प्लास्टिक होइन, समस्याको जड़ तपाईँ हाम्रो सोच र सरकारको नालायकीपना मात्र हो। प्रयोग गरिएपछि फ्यालिएका प्लास्टिकको समुचित व्यवस्थापन गर्न नसक्नु नै यस समस्याको  एकमात्र कारण हो। यदि व्यवस्थापन हुनसक्यो भने सबै प्लास्टिक ‘रिसाइकल’ हुन्छन्। हो, ‘रिसाइकल’ हुने ‘प्रोसेस’मा पनि वातावरणीय नोक्सान हुन्छ तर त्यो नोक्सान अहिले भइरहेको तुलनामा नगण्य नै हुन्छ।

जीवनको मूल्य मृत्युको संघारमा पुगेपछी मात्रै थाहा पाइयो भने त्यसको के अर्थ? र, तपाईँले पत्याए पनि न पत्याए पनि एउटा कुरा सार्वभौम सत्य हो ,जीवनको मूल्य र अर्थ थाहा पाएको मानिसका लागी मृत्युको अस्तित्व नै हुन्न। जे छ बस त्यो मात्र जीवनको प्रक्रिया हो। प्रक्रियालाइ निष्पत्ति ठान्नु नै सबै किसिमका विषाद, दुःख, तनाव चिंता र दौडधूपको कारण हो।

‘पशुपतिको जात्रा रुद्राक्षको व्यापार’ ( क्षमा गर्नुहोला, मैले आफ्नो अनुकूल हुने गरी उखानमा परिवर्तन ल्याएको छु ,पशुपतिसँग त्यों अशोभनीय शब्द गाँस्ने कुन प्रजाति को मानिस होला!) भनेझैँ मेरो आजको लेखनको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला आफ्नै मूल्याङ्कन गर्ने कोशिश गरेको छु। म कुन जीवन बाँचिरहेको छु। काठमाडौँ घुम्न आएका विदेशी मित्र ‘माउन्टेन फ्लाइट’ चढेर  हिमाली ‘रेंज’को दर्शन गर्न जान्छन्। मेरो घरको छतबाट उत्तर दिशामा लामो हिमश्रृंखला देखिन्छ। तपाईहरु धेरैजनाको कौसीबाट पनि देखिन्छ होला। कतिको हेर्ने गर्छौँ हामी? हामीलाई फुर्सद नै कहाँ छ- ‘गाउँको जोगी माग्ने अर्को ठाउँको सिद्ध।’

मै वर्षपिच्छे उत्तराखण्ड, सिक्किम, हिमाचल प्रदेश, लेह लद्दाख, कश्मीर गइरहेको हुन्छु, प्रकृतिको सामीप्यता प्राप्त गर्न। यो जस्तो मूर्खता अरु केही हुनसक्छ? हामी यस्तै छौँ। हामीलाई यो थाहै हुन्न हामी जे गरिरहेछौँ-  त्यो किन र केका लागी गरिरहेका छौँ?  मनुष्यता एउटा अन्ध दौडमा सम्मिलित छ, सबैजना दौडमा अगाडि पुग्ने उद्देश्यका साथ अविराम दौड़िरहेका छन्। दौडमा संलग्न मानिससँग केही अपेक्षा राख्नु व्यर्थ हो।

जुन दिन, जुन मानिसलाई ‘ओहो म दौडमा किन सम्मिलित भएको बोध हुन्छ’ उसको दौड समाप्त हुन्छ। तर यो बोध आउन सजिलो छैन। पृथ्वीमा रहेर तपाई सम्पूर्ण पृथ्वीको चित्र बनाउन सक्नुहुन्न, सम्पूर्ण पृथ्वीलाई हेर्न सक्नुहुन्न। तपाईँ जुन पृथ्वीका चित्र हेर्नु हुन्छ नि, सम्पूर्ण गोलो भएको पृथ्वी, त्यो चित्र  मानिस अन्तरिक्षमा पुगेपछि मात्रै बन्न सकेको हो। अन्तरिक्षमा ३ सय किमी माथि नगएसम्म तपाईँ  पृथ्वी गोलो  भएको हेर्न सक्नुहुन्न। अहिलेसम्म ४१ देशका लगभग ६ सय जना मानिसलाई मात्रै यो सौभाग्य प्राप्त भएको छ। यो त भयो पृथ्वीलाइ गोलो हेर्ने कुरा, जुन आजको समयमा केही करोड रूपैयाँ खर्च  गरेर कुनै पनि धनपतिले अनुभव गर्नसक्छ। तर आफू व्यर्थको दौडमा सम्मिलित छु भन्ने बोध पाउन  धनपतिलाई झनै गाह्रो हुन्छ। मानवताको इतिहासमा अहिलेसम्म ६ सय जनाले पनि यो बोध हासिल गर्न सकेका छन कि छैनन्- अन्तरिक्ष यात्री जस्तो सजिलै यसको गणना गर्न सम्भव छैन।

शायद टोलस्टायको कथा हो- कथाको पात्रलाई भनिन्छ, घाम न अस्ताउनजेल जति कुद्न सक्छौ,  त्यो सम्पूर्ण भूमि तिम्रो हुनेछ। पात्र दिनभरि बेस्सरी दौडिन्छ।  ऊ बढीभन्दा बढी भूभागको स्वामी हुन चाहन्थ्यो। जीवनमा पाएको यो ‘गोल्डन अपर्चुनिटी’ फेरि फेरि पाइँदैन। आफ्नो भए भरको शक्ति लगाएर उसले ठूलोभन्दा ठूलो साम्राज्य हासिल गर्नु थियो। दायाँबायाँ केही न हेरी ऊ दिनभरि दौडि नै रह्यो। सूर्यास्तसम्म उसले सयौँ किमी दूरीको भूभाग दौडेर आफ्नो बनायो। सूर्यास्त हुनासाथ समय सकियो भनेर ऊ बस्यो, तर बसेको बस्यै भयो। फेरि कहिल्यै उठ्न सकेन। हामी सबैको कथा हो यो। टोल्सटायको पात्र भूमि पाउन दौडियो, हामी अन्य केही पाउन दौडिरहेका छौँ।

धनको, पदको, ऐश्वर्यको लगायत अन्य  नाना थरीका चाहनाका पछाडि कुदिरहेका कुनै पनि बटुवालाई हेर्दा मभित्र दयाको भाव जाग्रत हुँदैन। तर स्थापित गुरुहरुको मनोदशा हेर्दा दयाको यस्तो असीम भाव उर्लेर आउछ ,यदि वास्तवमै मसँग कुनै अलौकिक शक्ति भएको भए एक रात मै तिनको अहोलीला समाप्त गरिदिने थिए। विचराहरुले  मुक्ति पाउँथे। यी गुरु भनाउँदा जन त सामान्य मानिसभन्दा पनि अविवेकी र तमोआच्छादित रहेको पाएँ। चेलाचेली संख्या बढाउन, आश्रम थप्न, यौन सुख प्राप्त गर्न यी कस्ताकस्ता जालझेल रच्न तल्लीन छन्, त्यसको स्मरण मात्रले सन्यासलाई पनि परित्याग गरी फेरि अर्को कुनै किसिमको सन्यासस्वरुप धारण गरौँ जस्तो वितृष्णायुक्त भाव जाग्रत हुन आउँछ।

मित्र हो, पृथ्वी जत्रो तपाईँहामी जन्मिनुभन्दा पहिला थियो, त्यत्रै छ र यत्रै नै रहन्छ। तपाईँको जस्तोसुकै पुरुषार्थले पनि यहाँ एक इन्च भूभाग वृद्धि हुँदैन। झन्डै झन्डै निर्जीव कोरोना भाइरसले चीनको वुहानमा  मानिसको  हैसियत र सामर्थ्य बखान गरिरहेको छ। वुहानमा निश्चय पनि सय-दुई सय जना अर्बपति होलान्! के गर्नसक्छ तिनको त्यस सम्पदाले? वुहान छाडेर कुनै सुरक्षित स्थानमा जाने सुविधा पनि दिन सक्दैन अर्बौँको थुप्रोले!  मानिसको असली औकात के र कति  यसको परीक्षण गर्न ‘ऐस्टेरॉयड’ खस्नु पर्दैन ,पृथ्वी उल्टिनु , पल्टिनु वा रोकिनु पर्दैन, दस रेक्टर स्केलको भूकम्प पनि आउनु पर्दैन, २०-३० नैनोमिटर आकारको भाइरस सक्रिय भइदिए पुग्छ। वुहानका अर्बपति अहिले तपाईँको घासफूसको छाप्रोका लागि आफ्नो आलिशान घर-गाडी-बैंक ब्यालेन्स सबै दिएर  सट्टापट्टा गर्न तयार छन्, शर्त यति मात्र तपाईँ गएर उनको आलिशान घरमा बस्नुस्, ती आएर तपाईँको दुर्गम गाउँमा बस्छन्।

जीवनको मूल्य मृत्युको संघारमा पुगेपछी मात्रै थाहा पाइयो भने त्यसको के अर्थ? र, तपाईँले पत्याए पनि न पत्याए पनि एउटा कुरा सार्वभौम सत्य हो ,जीवनको मूल्य र अर्थ थाहा पाएको मानिसका लागी मृत्युको अस्तित्व नै हुन्न। जे छ बस त्यो मात्र जीवनको प्रक्रिया हो। प्रक्रियालाइ निष्पत्ति ठान्नु नै सबै किसिमका विषाद, दुःख, तनाव चिंता र दौडधूपको कारण हो।

आज मजैसँग बहकिएँ।  वास्तवमा  कप्यूटर खोल्दा  ‘पृथ्वीको वजन बढ्दै छ कि घट्दै छ’ विषयमा लेख्ने अभिरुचि थियो। तर लेख्दै जाँदा केके अप्रासंगिक कुरा लेखेँ, विषयमा प्रवेश नगरी नै  विराम लिन अग्रसर भइरहेको  छु। पृथ्वीको चर्चा अर्कै लेखमा गर्नेछु। बरु तबसम्म तपाईँहरु अनुमान लगाउनुस्- पृथ्वीको भार घट्दो छ कि बढ्दो?

फाल्गुन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्