कोरोना हल्लामा रोगभन्दा बढी भयको मनोविज्ञान

केही दिनदेखि एक साथीको बारम्बार फोन आइरहेको थियो।

‘काठमाडौँमा त बसेर बाँचिएला जस्तो लाग्दैन। कहिले घर जाने हो। तिम्रो विश्वबिद्यालय क्याम्पसले विदाको सूचना जारी गर्‍यो?’

मैले भनेँ- छैन। किन र?

‘कोरोनाले गर्दा नि। कोरोना काठमाडौँ भित्रिएपछि त जीवन सकिगो त। छिटो गरेर गाउँ जानुपर्छ है।’

शायद यो एक मनोविज्ञानको त्रास काठमाडौँबासीमा कति छ भन्ने उदाहरण हो।

मानिसमा कोरोना संक्रमण भए पनि ९७ प्रतिशतको बाँच्ने निष्कर्ष चिकित्सा विज्ञानले भनिरहँदा आम मानिसमा भने यसले ठूलो मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको छ। यसलाई चिर्न चिकित्सा विज्ञानले सकिरहेको छैन। सामाजिक संचारका माध्यमहरु जस्तै अखवार, टेलिभिजन, रेडियो, फेसबुक,ट्विटर आदिले वर्तमान अवस्थामा आममानिसमा भएको मनोवैज्ञानिक त्रास हटाउन जुन भूमिका खेल्नुपर्ने हो- त्यो पर्याप्तमात्रामा गर्न सकिरहेको छैन। अझ केही सामाजिक मिडियाहरु र मिडिया प्रयोगकर्ताहरु त यसलाई कसरी राजनीतिक रुप दिन सकिन्छ भनेर लागेका देखिन्छन्। यसको पछाडी ठूलो अर्थ–राजनीति लुकेको हुन सक्छ।

विश्व अहिले कोरोना भाइरसको त्रासले आक्रान्त छ। एकातर्फ मानिसहरु रोगले मर्नु त छदैंछ, अर्कोतर्फ भय मनोविज्ञानले अतालिएर डिप्रेसनमा जाने सम्भावना छ।  महामारीले भौतिक क्षतिमात्र होइन, मनोवैज्ञानिक रुपमा पुर्‍याउने क्षति त त्योभन्दा निकै भयानक रअपूरणीय हुन्छ। संसारको राजनीतिमा मनोवैज्ञानिक भयवाद स्थापित मान्यता रहँदै आएको तथ्यहरु बेलाबेला सार्वजनिक हुँदै आएका छन्। यही माखेसाङ्लोमा सिग्मण्ड फ्रायड र मार्क्सका द्वन्द्वात्मक दृष्टिकोणबाट यो आतंकलाई हेर्ने हो भने पूर्वीय र पश्चिमेली शक्ति विरासतको द्वन्दको तत्वले प्रष्ट काम गरेजस्तो लाग्छ। हुन त मानवीय संवेदनाको मनोविज्ञान यो कुरामा सहमत नहोला तर द्वन्द्वको प्राकृतिक नियम यो सत्यभन्दा बिल्कुल टाढा छैन।

विश्व वातावरणमा अनेकन भाइरस तथा व्याक्टेरियाहरु छन्। ती भाइरसहरुमा कयौं हाम्रा निम्ति नभई नहुने छन् त, कति हानिकारक। त्यसैमध्येमा यो कोरोना नाम दिइएको भाइरस पनि यही प्रकृतिबाटै उत्पन्न हो भनेर तथ्याङ्कित गर्न खोजे पनि यसमाथि उब्जिएका कयौं शंका–उपशंका, तथ्यविश्लेषण, प्रकृति–स्वभाव, उत्पन्नता फैलावट, भूगोल–ध्रुव, संक्रमण, मृत्यु, नियन्त्रण, औषधी–उपचार र सम्प्रेषणको भूगोल, त्यसमा संलग्न बिभिन्न सञ्चार गृहहरु, सम्प्रेषण गराइका तौर–तरिका, संक्रमित र मृत्यु संख्या जस्ता कुराहरुले प्राकृतिक धरातलभन्दा अलिकति उठेर हाम्रा शास्त्रादिले भनेझैं शंका गर्न कर लाग्छ नै। यो महामारीको पृष्ठभूमिमा मानव इर्ष्या, बदला, दाउ–पेच, जित–हार, ठूलो–सानो, विकास–प्रतिष्पर्धाजस्ता मानव–अमानव मनोविज्ञानका आरोह अवरोहरुले केही न केही काम गरेकै हुनुपर्दछ। यो कोरोना भाइरस जहाँसम्म लाग्छ- विज्ञान–विकास र मानव–सभ्यताको उत्कर्षमा फैलिएको वा फैलाइएको आणविक युद्धभन्दा प्रलयकारी, डरलाग्दो र हानिकारक अस्त्र हो।

सन् १९१८ देखि १९२० स्पेनमा उत्पन्न भई लगभग संसारभरि नै फैलिएको स्पेनिस भाइरसलाई सबैभन्दा ठूलो महामारीको रुपमा लिइएको छ। विकिपिडियामा दिएको तथ्याङ्कअनुसार यसबाट लगभग ५० करोड मानिस प्रभावित भएका र १७ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको थियो। सन् २००२/०३ मा देखा परेको सार्स भाइरसको मृत्युदर १० प्रतिशत थियो भने कोरोनाको २ देखि ३ प्रतिशतमात्रै छ। विश्व स्वास्थ्य संगठनले दिएको तथ्याङ्क अनुसार सन् २०१६ मा अफ्रिकी देश ग्युनिया, सिरालियोन र लिबेरियामा फैलिएको इबोला भाइरसका कारण ११,३०० मानिसको मृत्यु भएको थियो। समयसमयमा बिभिन्न प्रकारका जिवाणुहरुको प्रकोप मानिसले नभोगेको होइन, तर अहिलेको जिवाणुको महामारी प्रकृतिचाहिँ फरक बाटोबाट आएको शंका लाग्छ।

अहिले विश्व बजार जुन प्रकारले प्रभावित हुन लागेको छ त्यो अझ विकराल रुपमा थलिने अनुमान गर्न त्यति गाह्रो नपर्ला। विश्व अर्थतन्त्र जुन गतिबाट अगाडि बढिरहेको थियो, त्यो आगामी दिनमा नराम्ररी बिग्रने परिस्थिति यो संक्रमणको छोटो अवधिले देखाएका सूचाङ्कहरुबाट पनि थाहा हुन्छ। यसलाई तङ्ग्रिन निकै समय, लगानी, धैर्यता र आर्थिक परिवर्तनको आवश्यकता पर्दछ।

हन्टिङटनले भनेझैं २१ औं शताब्दी आणविक प्रतिष्पर्धा र ध्रुविय युद्धको समय नभई सांस्कृतिक पहिचानको युद्धको समय हो तर उक्त परिकल्पनाभन्दा अघि बढेर युद्दको स्वरुप र क्षेत्र असीमितमात्र नभई त्यसमा प्रयोग हुने रणनीति, तरिका एवम शस्त्रास्त्र एक सामान्य मानिसको कल्पनाभन्दा बाहिर गइसकेको अवस्था छ। समयक्रमसँगै पाषाणास्त्रादि हुँदै जैविक युद्धबाट पनि अघि बढिसकेको संसार कुन बेला कसरी अन्त्यहुने हो भन्ने तथ्य सत्यभन्दा निकै पर पुगिसकेको छ। जैविक युद्धबाट विज्ञानले फड्को मार्दै जिवाणु युद्ध युगमा प्रवेश गरेको हो कि भनेर अनुमान गर्ने प्रशस्त आधारहरु प्रदान गरेको छ। यस्ता महामारीहरु मानवीय क्षतिमा मात्र सीमित हुँदैनन्। महामारीबाट विश्व अर्थतन्त्रको मेरुदण्ड तहस–नहस हुन्छ र परिणाम स्वरुप विश्व चरम आर्थिक संकटबाट गुज्रिन बाध्य हुनेछ। बिकासका पुर्वाधार, निर्माण, प्रबिधिहरुको बिकास विस्तार पछि पर्नुको साथै संसारमाआवश्यक औषधी उत्पादनको अभावले करोडौं मानिसको ज्यान जोखिममा पर्ने छ। उत्पादनमा आउने ह्रासले गर्दा दैनिक उपभोग्य खाद्य तथा आपूर्तिमा आउने संकटले जोखिमलाई अझै बढाइदिन सक्दछ। त्यसबाहेक यस्तो सन्त्रासको मौका छोपेर कालाबजारी गर्ने गिरोहहरुको बिगबिगी मौलाएर जाने निश्चित छ। कमजोर सरकार र निस्प्रभावी प्रशासन तथा अनुगमन भएका हाम्रो जस्तो देशमा त यो भयावहताको अनुमान गर्न पनि गाह्रो छ। यो महामारीको शुरुकै अवस्थामा त स्थिति निकै गम्भीरजस्तो देखिदैँछ। अझ यो अवधि लम्बिदै जाँदा अगाडि देखा पर्ने चुनौतीहरु त कति अप्ठ्यारा र समस्याग्रस्त होलान्- अहिले नै अनुमान गर्न गाह्रो छ।

अहिले विश्व बजार जुन प्रकारले प्रभावित हुन लागेको छ त्यो अझ विकराल रुपमा थलिने अनुमान गर्न त्यति गाह्रो नपर्ला। विश्व अर्थतन्त्र जुन गतिबाट अगाडि बढिरहेको थियो, त्यो आगामी दिनमा नराम्ररी बिग्रने परिस्थिति यो संक्रमणको छोटो अवधिले देखाएका सूचाङ्कहरुबाट पनि थाहा हुन्छ। यसलाई तङ्ग्रिन निकै समय, लगानी, धैर्यता र आर्थिक परिवर्तनको आवश्यकता पर्दछ। त्यस बाहेक यो महामारीको सामाजिक पक्षको कुरा गर्ने हो भने यसले सामाजिक हार्दिकताको दृष्टिकोण नै बदलिदिन्छ। संक्रमित मानिसले एक–अर्कालाई फरक प्रकारले ब्यवहार गर्दछन्। जब यो महामारी ब्याप्त हुन्छ, त्यसबेला सामाजिक समस्याहरु विकराल रुपमा देखिन्छन्।

पुँजीवादको अघोषित युद्ध अर्थात नवशीत युद्धको विकृत परिणाम एक पक्षिय नभई बहुपक्षीय हुन्छ जुन साधारण सामाजिक विज्ञानभन्दा निकै परको विज्ञान हो। पछिल्ला केही दिनयता जानकारीमा आएका सत्यतथ्य केलाउने हो भने यो कोरोना भाइरस २०१९ को अन्ततिर चीनको हुवावे प्रान्तको वुहान शहरबाट फैलिने कुरा आजभन्दा करिव ४० बर्षअघि एक अमेरिकी लेखक र २०११ तिर अमेरिकी लेखिका सिल्भिया ब्राउनीले आफ्नो पुस्तक इन्ड अप द डेजप्रेडिक्सन एण्ड प्रोफेसीजमा खुलस्त गर्नुले के भन्न सकिन्छ भने यो समय आणविक युद्धको समय नभई जिवाणु युद्ध अर्थात वायो वारको समय हो। यदि पश्चिमी सभ्यता र सामाजिक विज्ञानको आधारभूत संकथन र तथ्यलाई आधार मान्ने हो भने पश्चिमी सभ्यतामा यसरी भविष्यवाणी गर्ने शास्त्र वा कुनै तान्त्रिक अभ्यास र संस्कारको विरासत नै छैन तर यी दुई लेखक र लेखिकाको भविष्यवाणी कसरी सत्य सावित हुन आयो? यो प्रश्न नै यक्ष प्रश्न हो। मानव सभ्यतामाथि आइपरेको यो संकट प्राकृतिक वा अप्राकृतिक जे भए पनि यसले थपिदिएका जटिलताले प्रारम्भिक रुपमा पूर्वी एशिया मानवीय, आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर त हुने नै भयो तर सिङ्गो युरोप र अमेरिका पनि यसबाट अछुतो रहने अवस्था छैन।

प्रत्यक्ष युद्ध प्रभावित समाज र सामाजिक मनोविज्ञान तङ्ग्रिन र क्रियाशिल बन्न धेरै उर्जा आवश्यक पर्दैन तर मनोवैज्ञानिक रुपमा हारेको समाज धेरे समयसम्म मृत्युको भय बोकेर त्रास र विपदमा गुज्रिन पुग्छ र परिणाम स्वरुप त्यो समाज र मानिस अत्यन्तै प्रत्युत्पादक रअप्रत्यासित हारग्रन्थिको शिकार हुन पुग्दछ। विज्ञान विकासको उत्कर्षमा आइपुग्दा मानिस वेसहारा जस्तो भइसकेको छ। आज मानिस आफैंले परीक्षण र विकास गरेका विभिन्न अणु–परमाणु जैविक–अजैविक जिवाणुहरुको स्वार्थ सिद्ध प्रयोगमा सम्पूर्ण मानव सभ्यता सिध्याउने तरखरमा छ।

फाल्गुन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्