(हाम्रो नेपाल सुशासन अभियानको अवधारणापत्र)

पूर्वडिआइजी रमेश खरेल नेतृत्वको ‘अभियान’का यी ८ उद्देश्यहरु

अभियानका संयोजक रमेश खरेल र परिकल्पनाकार देवेन्द्र प्रसाद सिटौला। तस्बिरहरु: रविन आचार्य/देशसञ्चार

नेपालमा क्रान्ति, आन्दोलन र विद्रोहहरु धेरै पटक भए। पटकपटक राजनीतिक र संवैधानिक परिवर्तनका अभ्यासहरु पनि गरिए। हामीले राणा, पञ्चायत र राजाको शासन पनि फाल्यौँ। प्रजातन्त्र–लोकतन्त्र, स्वातन्त्रता, राष्ट्रियता, समृद्धिका नारा र कुराहरु पनि धेरै गरिए। पछिल्लो समयको आन्दोलनबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई विशेषता मान्दै तिन तहका सरकारको अभ्यास पनि गरिरहेका छौँ।

अब हामी लामो संक्रमण कालबाट मुक्त भएको र अवको बाटो शान्ति र समृद्धिको हो भनेर बाचा बन्धन पनि गर्दै छौँ। असार श्रावणको भेल सरी केन्द्र, प्रदेश र गाउँ नगरमा सरकारै सरकार छन् र जनप्रतिनीधिहरुको ओइरो छ। बाटोघाटो, बिजुली, पानी, स्वास्थ्य–शिक्षाको त के कुरा, ग्यासका पाइप लाइन, रेल र पानीजहाजका कुरा गरेर पनि हामी थाकेनौँ। तर जुन सरकार आए पनि, व्यक्ति जो आए पनि हामी नेपाली नागरिकहरु जहाँको त्यही छौँ। धेरै खर्च गरेर सानातिना उपलब्धिका कुरा गर्नु कुनै उपलव्धि होइन र हामीले चाहेको समृद्धि यसरी प्राप्त हुँदैन।

राज्य सञ्चालनको शैलीमा खासै परिवर्तन आएन। क्रान्ति र आन्दोलनले परिलक्षित गरेका उदेश्यहरुको पुर्तिमा नीतिगत दृढता सहित व्यवहारमा ध्यान दिइएन। देश हाँक्ने दलका नेताहरु भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्छन्, तर व्यवहारमा आफैँ भ्रष्ट देखिन्छन्। अन्याय, अत्याचार र भ्रष्टाचार नसहने भनेर भाषण गर्ने तर इमान, नैतिकता र सदाचारमा ध्यान नदिने विपरीत र दोहोरो चरित्रले राजनीतिलाई छ्याप्पै छोप्यो र त्यसको परिणाम देशको आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक सबै क्षेत्रमा परेको छ।

अझ स्पष्टसँग भन्नु पर्दा राजनीतिक दलहरु र तिनका सरकार राष्ट्र र जनताको हितमा समर्पित सेवाप्रदायक भन्दा निजी स्वार्थले प्रेरित व्यापारी कम्पनी जस्ता भए। प्रष्ट देखिएको छ कि भ्रष्टाचार र अनीयमितताका काण्डहरु एक पछि अर्को थपिएका छन्। फलस्वरुप देशमा भ्रष्टाचार र बेइमानी बढ्दै गयो र नेपालीहरु सेवा र सुविधाको सट्टा समस्या र बोझबाट थिचिँदै पीडित हुँदै गए।

हिजो पनि ठगिएका, आज पनि ठगिएका र भोलि पनि ठगिने अवस्थामा हामी नेपाली पुगेका छौँ। जसलाई बारम्बार विश्वास गरेर, देवत्वकरण समेत गरियो, तर विश्वासघात भयो। देशका ऊर्जाशील, सिर्जनशील र रचनात्मक मस्तिष्कका युवाहरु स्वदेशमा रोजगारी नहुदाँ डराएको र निराश मन लिएर विदेशिन बाध्य भैरहेछन्।

फलस्वरुप राष्ट्र रगत र मांसपेशी सकिएको शरीर जस्तो अवस्थामा पुगेको छ। तैपनि लाज पचाएर शासन गर्नेहरु सच्चिने कता हो कता, आफूले ठुल्ठुला र राम्रा कार्य गरेको गफ हाँक्न छोडदैनन्। राज्यले नै दायित्व वहन गर्नु पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा सुविधा भन्दा कमाउधन्दाको व्यापारिक नीतिलाई बढावा दिँदा सामाजिक असन्तुलन बढ्दै सर्वसाधारणको सामाजिक सुरक्षा स्थितिमा झनझन ह्रास छ।

समष्टिमा राज्यका सबै अंगहरु पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनेका छन्, पार्टी र गुटका भागवण्डामा व्यवसायिकता र दक्षता थिचिएको छ। सीमाना र नागरिकता जस्ता राष्ट्रियताको प्रश्नसँग जोडिएका गम्भीर विषयहरुमा जिम्मेवार राजनीतिक दल र सरकार संवेदनशील नहुँदा थप संकट र अप्ठ्यारा परिस्थिति सिर्जना भएका छन्। अब प्रश्न छ – समस्या कहाँ छ? र समस्याको समाधान के हो?

नेपाली जनताहरुको आशा र भरोशाहरु निराशा र असहाय अवस्थामा परिणत भएका छन्। यसको मुख्य कारण खोज्दा भ्रष्टाचार, वेइमानी, सुशासनको अभाव र असक्षमता नै मुल कारणका रुपमा देखिन्छ। राजनीति मूल हो र त्यसलाई सहायता गर्ने स्थायी सार्वजनिक प्रशासन सहायक हो, मूल र सहायक दुवैमा समस्या छ।

निचोडमा भन्नु पर्दा नेपाली जनताहरुको आशा र भरोशाहरु निराशा र असहाय अवस्थामा परिणत भएका छन्। यसको मुख्य कारण खोज्दा भ्रष्टाचार, वेइमानी, सुशासनको अभाव र असक्षमता नै मुल कारणका रुपमा देखिन्छ। राजनीति मूल हो र त्यसलाई सहायता गर्ने स्थायी सार्वजनिक प्रशासन सहायक हो, मूल र सहायक दुवैमा समस्या छ। संस्कार र प्रवृत्ति बिग्रँदै गएर एउटा चरम प्रदूषण र विश्रृङ्गखल अवस्थामा पुगेको छ। अब यसको निदान त्यति सहज, सरल, छोटो र सुगम छैन। तर असम्भव चाहिँ छैन, यदि सबै नेपालीहरुमा चेतना, जागरुकता, सकारात्मक ऊर्जा र सुसंस्कृतिको स्पष्ट उदय र दिशावोध हुन सक्यो भने।

त्यसैले देशको यस्तो अवस्थामा खवरदारी र चेतनामूलक अभियान मार्फत एउटा संगठित र सत्य–तथ्य अभिप्रेरित शान्तिपूर्ण तथा संविधानसम्मत लोकतान्त्रिक संस्कारभित्र रहेर अभियान सञ्चालन गरी नागरिक दायित्व पूरा गर्नु अनिवार्य हुन आएको छ। मूलतः यो अभियानले राष्ट्रियता, लोकतन्त्र र सुशासनका मुलभूत मान्यता र आवश्यकतालाई केन्द्रविन्दुमा राखी अघि बढ्ने छ।

हाम्रा विशाल दुई छिमेकी राष्ट्रहरुका र अन्य शक्ति राष्ट्रहरुका आ–आफ्ना सरोकार र स्वार्थका विषयहरु पनि हुन सक्ने भएकोले हाम्रो भुराजनीति केही जटिल छ। तर हामी पारस्परिक हित र भाइचारामा आधारित भई देशको शान्ति, सदभाव र समृद्धिलाई अघि बढाउन विशुद्ध राष्ट्रिय स्वार्थको भावनाबाट ओतप्रोत भई एकलव्य दृष्टिमा हिँड्नु पर्ने अवस्था छ।

यो दृष्टिमा हिँडन हामी कति चेतनशील, सृजनशील, सन्तुलित र स्वच्छ हुनु पर्छ भन्ने कुरा हाम्रा विगत र वर्तमानका अवस्था, सिर्जित परिस्थितिहरु र विगतका कतिपय परिणामहरुले पनि देखाएको छ। हाम्रा राष्ट्रिय गौरवका विषयहरु, धरोहरहरु र सकारात्मक पक्ष र प्रवृत्तिलाई जोगाउन सकिएन भने हाम्रो स्वाभिमान र राष्ट्रिय स्वार्थको रक्षा गर्न सक्तैनौँ। त्यसैले यसका लागि पनि सुशासनको आवश्यकता छ, सदाचार, इमान र सुसंस्कृतिको आवश्यकता छ। तर त्यही कुरामा आज ह्रास छ।

यसकारण यो अभियानले अधिकार र कर्तव्यबीचको सन्तुलनलाई महत्व दिँदै लोकतन्त्रको जगमा नेपालको संविधानका महत्वपूर्ण र आधारभूत विषयहरुलाई आत्मसात गर्दै अभियानको लक्ष्य तथा उद्देश्यहरु पूरा गर्न छलफल तथा अन्तरक्रिया, नागरिक सचेतना कार्यक्रम र सरकारलाई दबाब दिने कार्यहरुका साथै नीति, प्रक्रिया र सेवा प्रवाहका उल्लेख्य स्थान तथा केन्द्रहरुमा निगरानी र खबरदारी गर्न व्यापक रुपमा जनपरिचालन र सहकार्यहरु गर्ने छ।

बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्न र युवाहरुमा भइरेहेको विदेश पलायन र नैराश्यताको अवस्थालाई सम्वोधन गर्न उपयुक्त उपायहरुको खोजी गरिनु आवश्यक छ। लागूओषध तस्करी, मानव तथा चेलीवेटी बेचविखन र आतंककारी तथा आपराधिक गतिविधिहरुको नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउनेसम्मका गतिविधिहरुलाई समयमा नै रोक्न र निर्मूल गर्न नसके सुशासनका लागि एउटा गम्भीर अवरोध र चुनौती रही रहनेछ। जनतालाई प्रवाह गरिने सेवालाई सुशासन मैत्री बनाउन, गुणात्मक र मितव्ययी सेवा प्रवाहलाई सहयोग गर्ने वातावरण निर्माण गर्नु अर्को चुनौती छ।

यसर्थ, यस अभियानको उद्देश्य प्राप्तिका लागि अपनाइने सबै क्रियाकलापहरु शान्तिपूर्ण, मर्यादित, सदभावपूर्ण र आम नागरिकको स्वस्फुर्त सहभागिताको वातावरण निर्माण गर्दै आम नेपाली नागरिकहरुको जनमतको आधारमा अभियानलाई अगाडि बढाइँदै लगिने छ। हिमाल, पहाड र तराईको सन्तुलित, सदभावपुर्ण र विभेदरहित विकास अभियान तथा सहज र समान सेवा प्रवाहको स्तरीयतामा जोड दिनु अभियानको एउटा महत्वपूर्ण पक्षको रुपमा पनि रहनेछ। नेपाल र नेपालीको हित नै अभियानको केन्द्र विन्दुमा रहने छ।

अभियानका मुख्य उद्देश्हरु निम्नानुसार हुने छन्ः

(क) भ्रष्टाचार मुक्त राष्ट्र निर्माण

(ख) राष्ट्रियताको संरक्षण र प्रवद्र्दन

(ग) लोकतन्त्रको जगेर्नाका लागि निर्वाचन लगायतका आधारभुत प्रणालीहरुमा सुधार

(घ) राजनैतिक शुद्धिकरण

(ङ) कानूनी शासनको प्रत्याभूति र सक्षम नियमन व्यवस्था

(च) निशुल्क र गुणस्तरिय स्वास्थ्य र शिक्षा सेवातर्फ राष्ट्रको अग्रसरता

(छ) सृजनशीलताको कदर, रोजगारी सिर्जना र युवा वर्गमा उत्साह र उत्प्रेरणा अभिवृद्धि

(ज) सुसंस्कृत, सम्बृद्ध र समतामूलक समाजको निर्माण

उपर्युक्त उदेश्यहरु पूर्तिका लागि देहाय अनुसारका कार्यक्रमहरु मार्फत अभियान अगाडि बढ्ने छः

१. भ्रष्टाचार अन्त्यको लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रमहरु:

सरकार संचालकका रुपमा रहेका राजनीतिक नेताहरुनै राष्ट्रको कोषबाट आर्थिक लाभ लिन र भ्रष्टाचार तथा स्वार्थपूर्ण व्यवसायमा व्यस्त भैइरहने प्रवृति, हरेक महत्वपूर्ण र संवैधानिक पदहरुमा लिलाम बढाबढ गर्दै र भागवण्डामा नियुक्ति गर्ने र आर्थिक स्वार्थको कारण अपराधीलाई राजनैतिक संरक्षण दिने गरेको अहिलेको संस्कार र प्रवृतिले भ्रष्ट राजनैतिक स्वार्थ र अपराधीकरणको विकास भैरहेको छ ।

विगत देखिनै भ्रष्टाचारका कैयौ प्रकरणहरु सार्वजनिक भएका छन् र यसमा नयाँ नयाँ अध्याय –आयाम थपिदैछन । सरकारमा बस्नेको वोली एकातर्फ छ र व्यवहार अर्कै । नैतिक र संस्कारको पक्षमा भयानक ह्रास छ । भ्रष्टाचार नीतिगत, प्रकृयागत र सेवाप्रवाहका सबै तह र क्षेत्रमा व्याप्त छ । कमिसनको जालो सानो खरिददेखि ठूल्ठूला खरिदहरुमा सर्वत्र छ ।

भ्रष्टाचार रोक्ने निम्मेवारी बोकेका संवैधानिक निकाय र अन्य निकायमा राजनीतिक प्रभाव र पार्टीगत नियुक्तिका कारण ती अंगहरुको स्थुल शरिर मात्र छ, आत्मा, संवेदनशीलता, मर्म र धर्म सबै लोप भएको अवस्था छ । यसर्थ देशमा सुशासनको मान्यता र प्रयोग कमजोर हुदै गैरहेकोले देशलाई गम्भीर अवस्थाबाट जोगाउनको लागि नागरिक तहबाट भ्रष्टाचारी संस्कारको बिरोध गर्ने , भ्रष्टाचारीको पहिचान गर्ने, भ्रष्टहरुको सम्पतिको सूचना संकलन गर्ने र कारवाहीको लागि दवाब दिने जस्ता कार्यक्रमहरु देशब्यापी रुपमा संचालन गर्ने ।
२. सुशासनको लागि दवाब मुलक नागरिक कार्यक्रमहरु

(क) कानुनी राज्यको प्रत्याभुतिका लागि न्यायलय लगायतका सवै संवैधानिक र सार्वजनिक निकायहरुमा भैरहेको राजनीतिकरणको अन्त्यको लागि सचेत गराउन जागरण अभियान संचालन गर्ने। मेरिट पद्दति र ब्यबसयिकताको बिकाशलाई केन्द्र बिन्दुमा राखी काम गर्ने,

(ख) दण्डहिनताको अन्त्यका लागि स्पष्ट कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन र नियमन संयन्त्रको निर्माण गरी कानुनी राज्य स्थापनाको लागि दवाब मुलक अभियानहरु संचालन गर्ने,

(ग) नागरिक अधिकार, र नागरिकका स्वतन्त्रता तथा समानताका हकको प्रत्याभुतिका लागि नागरिक जागरण अभियान संचालन गर्ने,

३. खर्चिलो र प्रत्युद्पादक समेत देखिएको निर्वाचन प्रणालीमा व्यापकसुधार गरी सदाचार र इमानदारीताको कदर गर्न दवाबमुलक कार्यक्रमहरु

आर्थिक लेनदेन गरी स्वार्थपुर्ण रुपमा बढी पैसा बुझाउनेहरुलाई राजनीतिक दलको उमेद्वार बनाउने, पैसा खर्च गरेर भड्किलो र खर्चिलो चुनाव प्रचार गर्ने र मत खरिद गर्न र गराउन प्रोत्साहन गर्ने संस्कार बोकेका वर्तमान निर्वाचन संस्कारको अन्त्य नभएसम्म निष्पक्ष निर्वाचन नहुने र योग्य तथा इमान्दार जनप्रतिनिधिहरु चयन नहुने भएकोले सच्चा लोकतन्त्रको लागि निर्वाचन पद्दतिलाई पारदर्शी, मितव्ययी र सरल बनाउन निर्वाचन कानून र नीतिमा व्यापक संशोधन र परिवर्तनको माग गर्ने ।

इमानदारीता बचाउने र राम्रो संस्कारको प्रवद्र्धन गर्ने कार्य नभई लोकतन्त्र कामकाजी हुन सक्तैन । यान्त्रिक मतदानको प्रक्रिया पुरा गरेर मात्र लोकतन्त्र सवल बन्न सक्तैन र सच्चा जनप्रतिनिधीहरु चुनिन सक्तैनन । विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउने कानून अबिलम्ब निर्माण गरि लागु गर्न दवाब दिने ।

४. नेपाल र नेपालीको हितमा नदेखिएका संबैधानिक प्राबधान र व्यवस्थामा सुधार तथा संशोधनको लागि केन्द्रित भै छलफलगरि साझा धारणा बनाउने

संविधानका कतिपय व्यवस्थाहरुका बारेमा देखिएका असहमती तथा द्वन्दहरुको बिषयमा र खासगरी नेपाली नागरीकहरुको प्रत्यक्ष र स्पष्ट अभिमत बिना थोपरिएका कतिपय संबैधानिक ब्यबस्था एवं बिषयहरुमा लोकतान्त्रीक पद्धतीको आधारमा संशोधन र जनमतको प्रक्रिया मार्फत समाधान तथा संवोधनका उपायहरुको खोजीको लागि बिज्ञ, सरोकारवाला र देशप्रेमी नागरिकहरु बिच छलफल गरि जनमत तयार गर्ने । यसका लागि शान्तिपुर्ण वौद्धिक र व्यवहारिक तरिका अपनाउने ।

५. संबैधानिक अंगहरु बिच शक्ति सन्तुलनको लोकतान्त्रिक अभ्यासका लागि नागरिक दवाब सिर्जना गर्ने
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका अन्तर्गतका क्षेत्राधिकारलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाइ शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्य संचालन हुन नसकेकोले लोकतन्त्र नै संकटको दिशातिर लागिरहेकोे र नागरिकमा नैरास्यता बढीरहको महशुस भैरहेको वर्तमान अबस्थामा बिशेष गरि न्यायपालिकामा हुन गएको राजनीतिकरणको अन्त्य र कार्यपालिका र व्यबस्थापिकालाइ आफ्नो सीमा र क्षेत्राधिकार तथा संबैधानिक मर्यादाभित्र रहेर असल नियतकासाथ काम गर्न खवरदारी गर्ने ।

६. सार्वजनिक सेवाप्रदायक निकायहरुबाट नागरिकले झेल्नु परेका समस्या र झंन्झटबाट मुक्त गर्न नागरिक खबरदारी तथा दवाबका कार्यक्रमहरु

देशका विभिन्न ठाउँबाट नागरिक खबरदारी तथा दवाबका कार्यक्रमहरु प्रारम्भ गर्ने । नागरिकहरुले विभिन्न सेवा लिनको लागि ती निकायबाट झेल्नु परेको समस्या समाधानको लागि क्रमश काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुबाट नागरिक सहायता कक्षको शुरुवातगर्ने । यसका लागि शसक्त रुपमा र संयतापुर्वक युवा जनशक्तिहरुलाई संगठित गरि परिचालन गर्ने ।

७. नागरिकहरुले तिरेकोकर माथिको भ्रष्टाचार र दुरुपयोग बिरुद्द जिल्ला–जिल्लामा सचेतना अभियान

नागरिकले तिरेको करबाट सार्वजनिक निकायहरु मार्फत प्राप्त गर्नु पर्ने आधारभूत तथा मानवोचित सुबिधाबाट समेत बन्चित हुनु परेको बिषयको समाधानको लागि उदाहरण स्वरुप हाल काठमाडौँ उपत्यकाको मेलम्ची खानेपानी प्रकरण लगायतका कतिपय आयोजनाहरुमा भैरहेको भ्रष्टाचार र ढिलासुस्तीका बिरुद्दमा आवाज उठाउने ।

साथै बढ्दो करका दरहरुबाट नेपाली नागरिकहरुमा थोपरिएको बोझबारे सहि विश्लेषण गरि यसलाई सच्याउन र श्रोतको सदुपयोग गर्न सचेत गराउने । उठाईने कर र प्रदान गरिने सेवा सुबिधा बिचको सन्तुलन बारे अध्ययन गरि सम्बन्धित निकायहरुलाइ सचेत गराउने । निम्न वर्गीय नागरिकहरुलाई करको सुविधा दिने व्यवस्था गर्न जोड दिने । विकाश आयोजनाहरुको संचालन समयमा नै गर्ने गरि मितव्ययी ढंगले गुणस्तरीय कार्यसम्पादनका लागि खवरदारी गर्ने ।

संक्षिप्तमा, हाम्रो नेपालअभियान निम्न बिषयहरुमा केन्द्रित रहने छ:

(क) राष्ट्रियताको संरक्षण र प्रवद्र्धन

(ख) भ्रष्टाचारको अन्त्य र नैतिक तथा सदाचारी प्रवृत्तीको प्रवद्र्धन

(ग) निर्वाचन प्रणालीमा परिवर्तन र सुधार

(घ) बिदेशमा बस्ने नेपालीहरुले मतदान गर्न पाउने हकको सुनिश्चितता

(ङ) राज्यका संबैधानिक निकायहरुमा भागवण्डा, राजनैतिक आस्था र नाताबादको आधारमा नियुक्ति गरिने पारीपाटीको अन्त्य

(छ) प्रभाव र प्रलोभनमा गर्ने गराइने धर्म परिवर्तनमा रोक

(ज) क्षिक्षा र स्वास्थ्य क्षेत्रमा हुने चरम नाफाखोरी व्यवहार बन्द गरि सरकारद्धारा निःशुल्क क्षिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तर्फ जोड

(झ) राजनैतिक अपराधीकरणको अन्त्य

(य ) जनताबाट प्रत्यक्ष निर्वाचिीत कार्यकारीको व्यवस्था गर्ने तर्फ अध्ययन–विश्लेषण र जनमत सिर्जना । खर्चिलो र अत्याधिक जनप्रतिनीधिमुलक व्यवस्थाको वोझको पुनर्मुल्याँकन गर्न जोड

(ट) योग्यता, दक्षता, र विशेषंज्ञताको आधारमा नियुक्ति हुने परिपाटीको सुनिश्चितता

(ठ) वर्तमान संघिय संरचनाले लादेको आर्थिक बोझको अध्ययन विश्लेषण गरि सहिमार्ग अवलम्बन र सुधार

(ड) जनतामास्तरीय सेवा प्रवाह भन्दा राजनीतिक पार्टीका भातृ संगठनका रुपमा कार्यरत रहेका निजामती र सार्वजनिक संस्थान तर्फका युनियनहरु खारेजीका लागि दवाव सिर्जना गर्ने

(ढ) गैह्रसरकारी तथा अन्र्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको क्रियाकलाप समाज र राष्ट्रहितको पक्षमा भए नभएको बारे अध्ययन अनुसन्धान गरि सम्बन्धित निकायमा यस बारे सुझाव गर्ने । विगतका उपलव्धीहरुको मुल्यांकन समेत गरी समाज र राष्ट्रहितमा कार्य गर्ने गरी नियमन गर्न दवाव एवं सुझावहरु दिने

(ण) लागुऔषत, मानवतस्करी, महिला वेचविखन एवं आतंकवादको अन्त्यका लागि सचेतना जगाउने र सम्बन्धित निकायहरुको कार्यसक्षमता तथा नियमन व्यवस्था बलियो बनाउन सुझाव र दवाव दिने

(त) नेपाल र नेपाली जनताको हितका आवश्यकता अनुसारका अन्य सचेतनामुलक, दवावमुलक र जनजागरणका कार्यक्रमहरु ।

यसर्थ, नागरिकहरुले झेल्नु परेका पीरमर्का झमेला लगायत माथि उल्लेखित समस्याहरुको समाधनको लागि र सुशासनको प्रत्याभुतीका लागि देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली नागरिकहरुलाई आ–आफ्नो क्षेत्रबाट एकताबद्द रुपमा आवाज उठाई नेपाल र नेपाली नागरिकहरुको हितको लागि कटिबद्द भै मन, वचन र कर्मले अभीयानमा सहकार्यका लागि हार्दिक अनुरोध रअपेक्षा गर्दछौ ।

अभियान सञ्चालनका लागि केन्द्रिय तदर्थ कार्यकारी परिषद

केन्द्रीय तदर्थ कार्यकारी परिषद

१. रमेशप्रसाद खरेल – संयोजक
२. देवेन्द्र प्रसाद सिटौला
३. डा. नारायण घिमिरे
४. राजकुमार यादव
५. रोशन श्रेष्ठ

(बिहीबार सार्वजनिक भएको हाम्रो नेपाल, सुशासन अभियानको अवधारणा पत्र)

फाल्गुन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्