‘सरकार त मौन हुनु स्वाभाविक हो, संसद्‌मा प्रतिपक्ष पनि बोल्दैन’

डा. शेखर कोइराला। फाइल तस्बिर।

गोरखा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन्।

नेपाल प्रेस युनियनले शनिबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संसद् र सडकमा प्रतिपक्षले भूमिका खेल्नुपर्नेमा पार्टीले त्यो भूमिका निर्वाह गर्न नसकेको बताए।

कोइरालाले भने, ‘संसद्‌मा प्रतिपक्षको आवाज नै सुनिएको छैन।सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ। सरकार त मौन हुनु स्वाभाविक नै हो। संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन। लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो।’

केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र कांग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताए।

‘पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने’, उनले भने।

तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने, ‘मेराे खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु।’

चैत १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्