आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङदीलाई

फाइल तस्बिर

पोखरा– नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लबले १८ औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि हात पारेको छ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि उचालेको हो।

निर्धारित ९० मिनेटमा दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुबै टोलीबाट गोल हुन नसक्दा टाइब्रेकरबाट उपाधिको छिनाफानो गरिएको हो।

मनाङलाई उपाधि दिलाउन टाइब्रेकरमा अञ्जन विष्ट, सुरज विक, पुजन उपरकोटी र रञ्जन विष्टले गोल गरे। मनाङका निशान लिम्बुको प्रहार भने नेपाल पुलिसका गोल किपर रोशन खड्काले बचाएका थिए।

मनाङका गोल किपर अशोक बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार राेकेपछि मनाङले उपाधि कब्जा गरेको हो।

नेपाल पुलिसका तर्फबाट भोला सिलबाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्रै गोल गर्न सके।

उपाधि उचालेको मनाङले १० लाख १ हजार हात पार्दा उपविजेता पुलिसले भने ५ लाख १ हजारमा चित्त बुझाएको छ।

चैत १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्