शून्य समय

प्रधानमन्त्री ओलीको एक्लै हिँड्ने रहर

१२ दिनअघि मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल जाने तयारी गरिरहँदा मुलुकमा, खासगरी राजनीतिक वृत्तमा लोप हुँदै गरेको एउटा सुसंस्कृति जीवित अवस्थामै देखा पर्‍यो।

जनस्तरका साथै संसदमा सत्ता र विपक्षबीच दलीय भेद नदेखिने गरी प्रधानमन्त्री ओलीको सुस्वास्थ्यका लागि कामना गरियो, प्रार्थना गरियो। गत वर्ष सिंगापुर (उपचारकै लागि) जाने क्रममा प्रधानमन्त्री स्वयंले आफ्नै दलका केही नेताहरु उनको शीघ्र मृत्युको कामना गरिरहेको आरोप लगाएका थिए।

प्रधानमन्त्रीको त्यसबेलाको त्यो आशंका कति सत्य र तथ्यमा आधारित थियो भन्न कठिन छ। तर यसपल्ट जे देखियो, नेपालको राजनीतिमा सुसंस्कृत मानवीय पक्ष अझै जीवित रहेको प्रमाण थियो त्यो।

अस्पतालबाट सफल प्रत्यारोपणपछि घर फर्केका प्रधानमन्त्रीले आम जनता र संसदमा सत्ता प्रतिपक्षले प्रदर्शन गरेको सदासयतालाई कसरी पढ्लान्, या बुझ्लान् हेर्न बाँकी छ। तर, स्पष्ट छ, त्यो कामना उनको सुस्वास्थ्य र दीर्घायुको लागि थियो, प्रधानमन्त्री पदमा निरन्तरताका लागि थिएन।

चाहे जुनसुकै परिस्थिति, अवस्था र कारणले होस्, उनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरे। मंसिर महिनामा एपेन्डिक्स फुटेर जीवन मरणको त्यो घडीमा अर्थात विकल्पहीन अवस्थामा ‘टिचिङ’ अस्पताल पुगेका ओली निको भएपछि सम्भवत: उनको आस्था नेपाली चिकित्सकमाथि बढेको बुझ्न सकिन्छ। तर नेपाली चिकित्सकहरुमाथि आम जनताको विश्वास त्यसबेला बिना अपवाद बढ्ने छ जब हरेक जरुरतमन्द व्यक्तिले त्यही उपचार र स्याहार पाउँछ, जुन प्रधानमन्त्री ओलीले पाए यसपल्ट।

ओलीको सफल उपचारले कुनै पनि बिमारीको बहानामा राज्यको ढुकुटीबाट पैसा लिएर विदेश जाने राजनीतिज्ञका लागि कठोर सन्देश दिएको छ। तर दुर्भाग्य ओलीको उपचारमा खटिएका डाक्टरहरुले देखिने गरी हीन भावनाको प्रदर्शन पनि गरेका छन्।

अस्पतालको रेर्कड या तथ्याङ्कले नै दोस्रो पल्टको मिर्गौला प्रत्यारोपण त्यहाँ सफल भएको सावित गरिसकेको र मुख्यरुपमा त्यही कारणले पनि ओलीले त्यहाँ प्रत्यारोपण गराउने निर्णय गरेको तथ्यलाई अवमूल्यन गर्दै यसपल्टको प्रत्यारोपण फरक र त्यसको सफलतालाई पहिलाकाे भन्दा उच्चकोटीको सफलताका रुपमा प्रस्तुत गरे। यो आफ्नो सीप र दक्षताप्रतिको विश्वासभन्दा ‘ठूला’को उपचार गर्दा ‘ठूलो’ भइन्छ भन्ने मान्यताको उदाहरण हो।

प्रधानमन्त्री शल्यक्रियामा पूर्ण सतर्कता अपनाउनु बुद्धिमानी हो तर आफूमा आत्मविश्वासको अभाव भएर नै बाहिर (भारत)बाट युरो सर्जन र नेफ्रोलाेजिस्टलाई बोलाएको सन्देश पनि बाहिर गएको छ। यो सफल शल्यक्रिया र ओलीको राष्ट्रिय संस्थाप्रतिको विश्वासले एउटा सन्देश पनि गएको छ। त्यो हो, ‘हामी सक्छौँ’।

कोरोना भाइरसको प्रकोप र भयले समग्र विश्वलाई प्रभावित गरेको छ। यसको प्रथम सिकार बनेको चीनले यसलाई अवसरमै बदल्न सकेको या त्यसका लागि लागिपरेको उदाहरण बनेको छ। तर दुर्भाग्य, यो महामारीले नेपालको अर्थतन्त्र र लगानीलाई र समृद्धिका सम्भाव्यतालाई हालका लागि तहसनहस पारेको छ।

नेपाल भ्रमण वर्ष २०२०, वार्षिक हिमाल आरोहण र सरकारले सात करोड रुपैयाँ विनियोजन गर्नुका साथै आवश्यक परेमा थप रकम दिने आश्वासनसहित तयारी पूरा भएको ‘सगरमाथा संवाद’ आदि जस्ता महत्वकांक्षी घटना स्थगित भएका छन्।

भ्रमण वर्षको तयारी स्वरुप प्रायः सबै क्षेत्रमा होटल निर्माण र पर्यटनका लागि भौतिक तथा व्यवहारिक आधार तयार गर्नमा भएका लगानी तत्कालका लागि अनुत्पादक बनेका छन्। यद्यपि लगानीकर्ता तथा आम जनताले कर छुट पाउने कुनै संकेत देखा परेको छैन। किनकी ओली सरकार र त्यसका अर्थमन्त्रीको चिन्ता र चिन्तन जनतासँग जोडिएको छैन।

यो प्रतिकूल परिस्थितिको राजनीतिक अर्थ ओलीका लागि तत्काल दुःखद् नहोला, किनकी भ्रष्टाचार विश्वव्यापी प्रकिया भनेर नेपालमा भ्रष्टहरुलाई कारबाही नगरे जस्तै प्रधानमन्त्री ओलीको केही राजनीतिक विकल्प आइहाले पनि कोरोना महामारीले तहसनहस पारेको नेपालमा तत्काल कसैले सेवा प्रवाह या सक्षम प्रशासन प्रदान गर्न सक्ने छैन। तर त्यसैलाई ओलीले आफ्नो विकल्पहीनता माने भने त्यो आत्मघाती दम्भ बाहेक अरु केही हुनेछैन।

अस्पताल प्रवेश गर्दा उनीप्रति देखाइएका सदासयताभन्दा भिन्न छ, अहिलेको माहोल। खासगरी उनी बालुवाटार फर्किएपछिको परिस्थिति। उनी अस्पतालमा हुँदा नै माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र वामदेव गौतमले पटक–पटक बैठक गरी केन्द्रीय सचिवालयको निर्णय विपरीत वामदेव गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिको मनोनित कोटामा लैजानु पर्ने र ओलीले त्यसलाई सम्मान नगरेमा उनले विद्रोह र असहयोगको सामना गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। यो चुनौती अस्वभाविक पनि हैन। किनकी ओलीले प्रधानमन्त्री र पार्टीका अध्यक्षको कुर्सी आफैसँग राखेका थिए अस्पतालमा पनि।

अस्पतालबाट निस्केर ‘एक्ला चलो रे’ गीत सुन्नु कर्णप्रिय लाग्न सक्छ, ओली र कसैका लागि पनि। तर केही सहयोगीहरुको षड्यन्त्र र तिकडमबाट सञ्चालित सरकारका प्रमुखसँग एक्लै चल्ने साहस रहँदैन। नैतिक हैसियतमा सम्झौता नगरेको या अतीतका गल्तीको निर्मम समीक्षा र सुधार गर्न इच्छुक व्यक्ति मात्र एक्लै हिँड्न सक्छ। ओली यी दुवै श्रेणीमा पर्दैनन्।

वामदेव गौतम प्रसंग जीवित छ। केन्द्रीय सचिवालय निर्णय विपरीत जाँदा त्यसको अर्थ के हुन्छ त्यो ओलीले बुझेका छन्। त्यो प्रसंग जीवितै छँदा उनले प्रचण्डलाई अपमानित गर्ने उद्देश्यका साथ चीनमा रहेका नेपाली राजदूत लीलामणी पौडेललाई संवेदनहीन र अस्वीकार्य तरिकाले बर्खास्त गरेका छन्, घरेलु नोकरलाई गरे जसरी। एउटा राजदूतको त्यो स्तरको अपमान उसलाई छनोट गर्ने पद्धति संयन्त्र, शैली र अन्ततः मुलुककै अपमान हो।

प्रचण्डको आगामी चीन भ्रमणमा राष्ट्रपति सी जिनपिङसँग भेटाउन प्रयास गरेवापत पौडेललाई ओली अस्पताल भर्ना हुनु अघिल्लो दिन बर्खास्तीको शैलीमा फिर्ता बोलाइएकोले कोरोना महामारीबाट आवागमन नियन्त्रित भएको बेला पौडेललाई स्वदेश फर्कन १५ दिनको समय दिइएको छ।

ओलीले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने सन्देश उनका चिकित्सकहरुले समेत राजीनामा शब्द उच्चारण नगरी तर बुझिने गरी दिएका छन्। आउँदा ६ महिनादेखि एक वर्षसम्म उनले कुनै बोझ उठाउन नहुने तर अनुशासित जीवन बिताउनु पर्ने सुझावलाई उनले कसरी लेलान्? तर प्राप्त पुनर्जीवनको उपयोग यदी प्रचण्ड, माधव नेपाल या गौतमसँग भिड्न या उनीहरुलाई पाठ पढाउनमा खर्चिनुभन्दा धेरै सकारात्मक रुपमा गर्न सक्नेछन् उनले। त्यसले उनको जीवन लम्व्याउने पनि छ।

त्यो मात्र हैन, मन्त्री परिषदको त्यही बैठकबाट नेकपाका नेता महेन्द्रबहादुर पाण्डेलाई चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ। कुटनीतिमा यो तहको निजी स्वार्थ लाद्न खोज्ने व्यक्तिको प्रतिरोध तत्काल नहोला, तर यसले कस्तो कुटनीतिक संस्कारको अभ्यास भइरहेको रहेछ त मुलुकमा त्यसको प्रमाण प्रस्तुत गर्दछ। र ओली र त्यसमा मौन रहेका पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको कूटनीतिकस्तर पनि त्यसले देखाउँछ।

नेपालको राजनीतिक विकृति र कुसंस्कारको प्रत्यक्ष प्रभाव कुटनीतिमा पनि पर्छ नै। त्यसैले लीलामणि पौडेल अपमानित भए। उनको समर्थनमा प्रचण्डले समेत बोल्ने हिम्मत नगर्नुले आन्तरिक ‘विकल्प’को लाचारी पनि प्रदर्शित पर्दछ।

ओली अस्पताल जानुपूर्व उनको सचिवालय भारतको निजी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यहाँको सरकारले कस्तो सुरक्षा, प्रोटोकल र स्वागत दिएको छ, त्यसबारे थाहा पाउन लागि परेको थियो। त्यस्तो हीन र असुरक्षाको भावनाबाट ग्रस्त अनि त्यस्ता ‘जासुसी’लाई आफ्नो धर्म, कर्तव्य र दायित्व मान्ने सरकार र त्यसका प्रमुखलाई कसरी लेखाजोखा गर्ने ? बस यत्ति हो, ओली स्वस्थ रहुन्। तर प्रधानमन्त्री या राजनेता बन्ने चरित्र उनमा छ भन्ने मान्नु गलत विश्लेषण हुनेछ।

अब के फरक होलान् त उनी?

सर्वत्र प्रभाव पारे पनि राजनीतिक घटना क्रमले कोरोना भाइरसका कारण विश्राम लिने छैन। छिट्टै ओलीले आफ्ना राजनीतिक प्रतिद्वन्दीहरुसँग भिड्नु पर्नेछ, दलभित्र नै।

फेरि पनि कुरा आउँछ, नेपालको नगरिक समाजको। संकटका बेला नागरिक समाजले के गर्छ, जनता अवश्य पनि अनुभव गर्न चाहन्छन्। संगठित रुपमा जब उनीहरु बाहिर आउँछन्, उनीहरुले एउटा सत्ताको विकल्पका रुपमा अर्को सत्तालाई समर्थन गरेका छन् नेपालमा। मूल्य, मान्यता र प्रजातान्त्रिक संस्कार अनुरुप उनीहरुले जनतालाई सशक्त गर्नमा योगदान पुर्‍याएका छैनन्। राजाको साटो दलहरुलाई, अहिले ओलीलाई, हिजो गिरिजाप्रसाद कोइरालालाई समर्थन गर्नुलाई नै उनीहरुले आफ्नो धर्म माने। समर्थन गर्दा आलोचना नै गरेनन्।

निकै हदसम्म उनीहरुले ऐजेरु प्रवृति देखाउनु र विदेशी दाताहरुबाट लाभान्वित हुने गरेको र दलीय हितलाई सर्वथा मानेको प्रमाण हो यो। त्यसैले नेपाली जनताको सशक्तिकरण उनीहरुको एजेन्डा बन्न नसकेको हो।

ओलीले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने सन्देश उनका चिकित्सकहरुले समेत राजीनामा शब्द उच्चारण नगरी तर बुझिने गरी दिएका छन्। आउँदा ६ महिनादेखि एक वर्षसम्म उनले कुनै बोझ उठाउन नहुने तर अनुशासित जीवन बिताउनु पर्ने सुझावलाई उनले कसरी लेलान्? तर प्राप्त पुनर्जीवनको उपयोग यदी प्रचण्ड, माधव नेपाल या गौतमसँग भिड्न या उनीहरुलाई पाठ पढाउनमा खर्चिनुभन्दा धेरै सकारात्मक रुपमा गर्न सक्नेछन् उनले। त्यसले उनको जीवन लम्व्याउने पनि छ।

प्रतिशोध उनको अस्त्र थियो होला, हिजोको राजनीतिमा, जुन उनले लीलामणि पौडेल अन्य कैयौँ प्रकरणमा प्रयोग गरे। तर, यो अतित बनोस्। अरुलाई सम्मान गर्ने र राष्ट्र तथा समाजको सेवामा समर्पित व्यक्तिले मात्र वास्तवमा जनताको सम्मान पाउँछ।

शरीरको धर्म र क्षमता असिमित हुँदैनन्। सम्भवतः त्यसैले होला मोदनाथ प्रश्रितले उनलाई राजीनामा दिन सुझाव दिएका छन्। त्यो उनको विवेक र रोजाइले निर्देशित गर्ने कुरा हो।

तर राजनीतिक, प्राकृतिक चुनौति थपिँदा र महामारीले अभूतपूर्व चुनौती दिँदा म यी सबैलाई ठिक पार्छु भन्ने सोच राख्नु, पूर्वराजादेखि दलहरुभित्रको नेताहरुको ‘डोजियर’ तयार राख्नु, जनताका स्वतन्त्रतालाई नियन्त्रित गर्न कानुन बनाउनु अनि त्यसैका आधारमा शासन गर्छु भन्ने सोच राख्नु राजनीतिक पराजय र पतनका अवश्यंभावी आधार हुन्। त्यसको उपचार अस्पतालमा पाइँदैन।

चैत्र १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्