कोरोना भाइरसको विश्वव्यापी महामारी

‘इपिसेन्टर’ युरोपमा अवस्था थप भयावह, इटालीमा एकै दिनमा ३६८ जनाको मृत्यु

कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको ‘इपिसेन्टर’ का रुपमा रहेको युरोपका तीन देशमा एकै दिन भाइरसका कारण अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

युरोपका तीन देशमा आइतबार कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्याले नयाँ उचाई लिएको हो । चीन बाहिर सबैभन्दा बढी प्रभावित भएको इटालीमा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ ।

आइतबार एकै दिन इटालीमा कोरोना भाइरसका कारण ३६८ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या २८८ पुगेको छ ।

फ्रान्समा आइतबार थप २९ जनाको मृत्यु भयो । योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १२० पुगेको छ ।

यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको ज्यान गएको छ र यो अहिलेसम्मकै धेरै हो । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयासमा रहेका युरोपेली देशहरुले नागरिकको चहलपहलमा रोक तथा सीमामा कडाई गरेका छन् ।

जर्मनीले फ्रान्स, स्वीट्जरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लग्जेम्बर्गसँगको सीमामा नियन्त्रण कायम गरेको छ । यस्तै पोर्चुगलले स्पेनको प्रमुख सीमा बन्द गर्ने जनाएको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएर चीनका विभिन्न राज्यमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ इपिसेन्टर युरोप बनेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै बताइसकेको छ ।

स्वीट्जरल्याण्डमा नयाँ संक्रमितको संख्या ८०० भएसँगै कुल संक्रमितको संख्या २२ सय पुगेको छ । स्वीट्जरल्याण्डमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा अहिलेसम्म २४ हजार ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्पेनमा सात हजार ७५३, फ्रान्समा ५ हजार चार सयजनामा संक्रमण भएको छ ।

अहिलेसम्म विश्वव्यापी रुपमा एक लाख ६२ हजार ६८७ जनामा कोरोनाको संक्रमण भएको छ, जस मध्ये ८१ हजार तीनजना चीनका छन् ।

यस्तै कोरोनाका कारण विश्वभरमा कुल ६ हजार ६५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन हजार ८५ जना चीनका छन् ।

चैत ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्