पोर्चुगलमा बसेका एक नेपालीको व्यथा

यो विरानो भूमिमा कोरोनाको कहर

आइतबार, १५ मार्चका दिन अपरान्हतिर श्रीमतीको फेसबुकबाट हेर्दा नेपालीकै ग्रुपमा एउटा खबर आयो– पोर्चुगलको फारो भन्ने ठाउँमा खेतीका काम गर्ने नेपालीमा कोरोना पोजिटिभ देखियो। यस्ता हल्ला नेपाली समुदायमा सधैं आइरहने भएकाले हामीले पत्याएनौं। पछि पोर्चुगिज र पछि अंग्रेजी भाषाका अनलाइनमा गएर हेरेँ, नेपालीलाई नै संक्रमण भएको सरकारी अधिकारीले नै बताएका रहेछन्। अब भोलिदेखि थप समस्यामा दिन कटाउनु पर्छ भन्ने संकेत पाइयो।

हामी बसेको शहरबाट फारो विमानस्थलमा बत्ती बलेको देखिए पनि सडक मार्गबाट आधा घण्टा दूरीमा पर्छ। तर, फारो नै यहाँको नजिकको अन्तर्राष्ट्रिय एयरपोर्ट हो। अनि फारोसँगको दूरीभन्दा पनि त्यो व्यस्त एयरपोर्ट हुँदै आउने पर्यटकमध्ये करिब ७० प्रतिशत यतै आइपुग्ने भएकाले यो ठाउँ फारोमै आश्रित छ। अति व्यस्त फारो विमानस्थलको चाप घटेपछि हामी बसेको शहर पनि सुनसान जस्तै छ। सानो र झण्डै नेपालको कीर्तिपुर नगरपालिका जस्तै साना पहाड र खोँच भएको यो शहरमा राम्रा समुद्री किनार छन्। मध्यान्ह एक छिन नेपालगञ्ज जस्तो गर्मी अनि अपरान्हदेखि चल्ने चिसो हावाका कारण यहाँको हावापानी पर्यटकका लागि लोभलाग्दो किसिमको छ। इतिहासतिर फर्केर हेर्ने हो भनेचाहिँ करिब दुई शताब्दी अघिदेखि यहाँका स्थानीय माझीले ‘होम स्टे’ सहित पर्यटकलाई स्वागत गर्न थालेका रहेछन्।

यो शहरमा अहिले नयाँ मान्छे देखिन छाडेको दुई साता हुन लागेको छ। आफ्नो देशको उडान बन्द भएका कारण थुनिएका र यात्रामा बढी जोखिम हुने कारणले यतै बसाइ लम्ब्याएका बाहेक अरु पर्यटक भेटिँदैनन्। देशकै अन्य क्षेत्रबाट आएर हामी आप्रवासीजस्तै काम गरेर बस्नेहरु पनि मूल थलो फर्किँदैछन्। दायाँबायाँ निस्कँदा सधैं हाँस्दै हेलो, ओला, आलो भन्दै बोल्ने पर्यटकहरु फाट्टफुट्ट भेटिए पनि तिनको अनुहारको रंग फुंग उँडेको देखिन्छ। हामी दम्पत्ती बिगत एक बर्षदेखि करिब तीन सय टुरिस्ट अपार्टमेन्ट भएको कम्पाउण्डकै एक घरमा बस्छौं। हिउँदमा अलिक कम भए पनि मार्चदेखि नोभेम्बरसम्म यहाँ अपत्यारिलो चहलपहल हुन्छ। मेरो पूर्व साहु रेनातो फरेराले एकपल्ट कुराकानी गर्दा चार लाख जनसंख्या भएको यो शहरमा बार्षिक चालीस लाख पर्यटक आउने तथ्यांक सुनाएको थियो। म राति एक बजे कामबाट फर्कँदा पनि काम गर्ने ठाउँको गल्लीदेखि घरसम्म अघिपछि मान्छेको हुल हुन्थ्यो। यो क्रम गर्मीसँगै बढ्थ्यो र यस बर्षका लागि भर्खर शुरु भएको थियो।

हिउँदमा लगभग यहाँ काम ठप्प हुन्छ। युरोपमा जाडो महिनामै पानी पर्ने भएका कारण समुद्री किनारमा आधारित पर्यटन ठप्प हुन्छ। म र मेरी श्रीमती दुबैको काम सकिएर बसेको केही समय भएको थियो। मार्च लागेपछि हामी काम गर्ने मुडमा थियौं। नेपाल हुँदा विज्ञान शिक्षक र पूर्व माओवादी कमाण्डर सुरज भट्टराई यस शहरका मेरा सीमित मित्रमध्ये एक हुन्। उनैले एक दिन छिटो काम शुरु गर्ने भए मैले गर्ने ठाउँमा हुन्छ है, भनेका थिए। यत्तिकैमा फेब्रुअरी अन्तिमतिर एक दिन श्रीमतीलाई कामका लागि खबर आयो। त्यो खबर प्रतिष्ठित भारतीय होटलका पिआर अफिसरले गरे पनि सुरज दाइकै कारण आएको थियो। उनले एक दिन काम गरेपछि ब्यवस्थापन र कामको सिस्टम राम्रो नभएको भन्दै छाडिन्। ११ मार्च राति सुरज दाइले नै फोन गरेर सो होटलमा रहेका क्यानेडियन बृद्ध दम्पत्ती बिरामी भएकोमा श्रीमानमा कोरोना पोजिटिभ देखिएको सुनाए। मेरी श्रीमतीले एक दिन गरेर छाडेको काम गर्ने महिलालाई पनि संक्रमणको आशंकामा ब्यवस्थापनले बिदामा बस्न लगाएछ। यस साँझ हामीलाई कोरोना हाम्रो छिमेकी देशबाट हामी बसेको ठाउँसम्म आइपुगे जस्तो भान पर्‍यो। अलिक तनाव लिँदै बिहानीको प्रतीक्षा गर्न थाल्यौं।

भोलिपल्ट १२ मार्चदेखि युरोपकै बिभिन्न ठाउँबाट अलिक ‘कडा’ समाचार आउन थाले। म पहिला बसेका युरोपकै बिभिन्न देशका साथी भाइसँग अपडेट भएँ। लक्जेम्बर्गका खीमलाल पन्थी, नर्वेका सरोज ढुंगाना नियमित कुरा हुने साथी हुन्। यी दुबैले त्यहाँको त्रासको खबर सुनाए। डेनमार्क र स्वीट्जरल्याण्डबाट पनि त्यस्तै खबर आयो। कोरोना इटालीलाई सोत्तर पार्दै फ्रान्स र स्पेन आइपुगेको थियो। र, स्पेनले यो सानो देश पोर्चुगललाई तीन तिरबाट घेरेको छ। त्यस दिनसम्म इटालीले जस्तै नर्वे र डेनमार्कले सीमा बन्द गरिसकेका थिए। स्कुल, कलेज, विश्वविद्यालय र डे केयर सेन्टर सबै बन्द गरिएका थिए। क्लबका खेल त अघिल्लो दिन नै बन्द घोषणा भइसकेका थिए। बस र स्थानीय रेल बन्द नभए पनि यात्रु चहलपहलमा कमी आएको थियो। बार र रात्रिकालीन पबहरु सरकारी सूचनाभन्दा अगाडि नै बन्द भएका थिए। रेस्टुरेन्टहरु थोरै खुलेका थिए तर ग्राहक नाम मात्रका। मान्छेको भीड बढेको थियो भने केवल सामान किनेर जोहो गर्ने ठूला बजारमा मात्र थियो।

‘ओहो, हामी पनि आजै सामान किनिहाल्नु पर्छ है,’ दिउँसो श्रीमतीले भनेपछि हामीले पनि सामान्य किनमेलका लागि निस्कियौं। धेरै नअत्तालिने तर थोरै जोहो पनि गर्दै गर्ने सल्लाह भयो। हामी बजार छिर्दा भीडका कारण हरेक चार जना ग्राहक निस्किएपछि मात्र नयाँ मान्छे पठाउने गरिन्थ्यो। हामीले करिब २ साता जतिका लागि चामल, दाल, दूध, मसला आदि किनेर राख्यौं। बिगत ३ महिनादेखि शाकाहारी खाना मात्र खाने गरेकाले हामीलाई हरियोको जोहो गर्न चाहीँ निकै अफ्टेरो भयो। त्यसै पनि शाकाहारी तरकारी निकै कम हुने यो ठाउँमा गेडागुडी र केही ‘फ्रोजन’ हरियोले काम चलाउन पर्ने अवस्था छ। जति जोहो गरियो गरियो अब त केही पाउने अवस्था छैन। बजार खुले पनि चाहिने सामान भेटिँदैनन्।

ठूला बजारमा हामीले रुचाउने बास्मती चामल सकिएको रहेछ। पानीका बोतल, पाउरोटी, बिफ तथा सुँगुरका मासु स्थानीय र पर्यटकहरुले सोहोरिरहेका थिए। त्यस्तै हुल बाँधेर बजार पुगेका दक्षिण एशियालीहरु चाहीँ बास्मती चामल, लसुन र कुखुराको मासुमा आक्रमण गरिरहेका भेटिन्थे। पछिल्लो समयमा बढेको भारतीय आप्रवासीको चापका कारण पनि बास्मतीको स्टक यति छिटै सकिएको अनुमान हामीले लगायौं।

‘हामी नेपाली बेसार धेरै खान्छौं, लसुन र मसला खान्छौं, हामीलाई केही हुँदैन,’ पसले बहिनीले भनिन्। हामीले सतर्क हुनैपर्ने बताएपछि घरमै नेल पालिस रिमोभरलाई स्यानिटाइजर बनाएर चलाउने रहिछन्, त्यही निकालिन्। र थपिन्, ‘हामीलाई नसर्ने त कहाँ हुन्छ र? मैले त तपाईंहरु नडराउनोस् भनेर पो भनेको त।’

यस शहरको हामी बस्ने कुनामा नेपालीका दुईटा र भारतीयका दुईटा पसल छन्। दाल, मसला, चाउचाउ, चिउरा, गुन्द्रुक सबै पाइने ती पसलमा धेरैजसो सामान चाहिँ स्थानीय बजारमा नपाइने बस्तु मात्र हुन्छन्। थोरै हाम्रा दक्षिण एशियाली सामान पनि जोहो गर्न साँझ नेपाली पसल पुग्यौं।

‘हामी नेपाली बेसार धेरै खान्छौं, लसुन र मसला खान्छौं, हामीलाई केही हुँदैन,’ पसले बहिनीले भनिन्। हामीले सतर्क हुनैपर्ने बताएपछि घरमै नेल पालिस रिमोभरलाई स्यानिटाइजर बनाएर चलाउने रहिछन्, त्यही निकालिन्। र थपिन्, ‘हामीलाई नसर्ने त कहाँ हुन्छ र? मैले त तपाईंहरु नडराउनोस् भनेर पो भनेको त।’

नेपाली दोकान र आसपास भेटिएका कसैले पनि मास्क लगाएका थिएनन्। बिना डर सबैसँग हात मिलाइरहेका थिए, पार्कमा समूहमा बसेर पिउँदै गरेका पनि देखिन्थे। अन्य पर्यटक र स्थानीय भन्दा नेपाली र भारतीयहरु बढी नै निर्धक्क देखिन्थे। मनोविज्ञान बुझ्दा चाहिँ उही नेपालमा कोरोना नभेटिएको, भारतमा थोरै मात्र देखिएको, हाम्रो खानपान राम्रो भएकोले नडराउने तर्कले धेरैको दिमाग भरिएको थियो। उही युट्युब र फेसबुकमा आउने नेपाल र भारतका आम मान्छेले पत्याउने कुरामा नै यिनले विश्वास गरेका थिए।

यहाँ पनि शुरुमा चीनकै मात्र रोगका रुपमा हेरियो। इरानमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि गर्मी अलिकति बढ्ना साथ कोरोना आफैं तह लाग्ने विश्वास पनि हरायो। मान्छेले झट्टै आफूलाई अफ्टेरो पार्ने कुरामा विश्वास गर्दैन भन्ने मलाई पहिलो पल्ट थाहा भयो। तर, एक साताका बीच इटाली पक्षाघातमा परे पछि बल्ल ‘ओहो, आइपुग्यो त’ भन्ने महसुस भयो। इटालीमा कोरोनाको इपिसेन्टर सरेसँगै बढेको त्रासले मान्छेको मानसिकता फेरिएको छ। आँखाले देखिने सागरको पानीजस्तो जहाँ किनारा कतै नजिकै भेटिन पनि सक्छ र निकै टाढा अनन्तसम्म पुग्नुपर्ने हुनसक्छ।

अहिले कतिपय बुढाबुढीहरु युरोपले लगातार जसो भोग्नु परेका पहिलो विश्वयुद्ध र ‘स्पेनिस फ्लु’का कथा सुनाउछन्। केही परिपक्व मानिसहरु हिन्दू र क्रिश्चियनले भन्ने गरेको ‘पाप र पापी बढेर’ विनास हुन लागेको पनि विश्वास गर्छन्। तर अलिक बुझेका मानिस इन्टरनेटमा प्रमाणित सामग्री खोज्छन्। धर्म र दर्शनले भनेझैं सकारात्मक सोच बढाउछन्। तर, इटालीले भोगेपछि बरु इमरजेन्सी छिटो आइदिए संकट पनि छिटै टर्थ्यो भन्ने सोचमा छन्। चीनमा भन्दा बढी मृत्युदर इटालीमा देखिएका कारण अतालिएका युरोपेलीहरु भर्खरै इयुबाट अलग बेलायत बाहेक सबै युरोपसँग हवाइ सम्बन्ध बिच्छेद गर्ने अमेरिकी निर्णयले झन् एक्लिएको महसुस गरिरहेका छन्। बरु त्यसलगत्तै चीनले इटालीमा गरेको सहयोगका कारण ‘रोग शुरु गर्ने चीन’ नै झिनो भरोसाका रुपमा आइपुगेको छ। बुझेकाहरु त केसम्म भन्छन् भने मानबअधिकार बिर्सेर चीनको शैलीले भए पनि नियन्त्रण गर्नुपर्छ।

आधिकारिक तथ्यांक नभए पनि पोर्चुगलमा करिब २० हजार नेपाली भएको बताइन्छ। दक्षिण एशियाका अन्य देश भारत, बंगलादेश र पाकिस्तानबाट आएका आप्रवासी निकै छन्। व्यवसाय गरेर बस्ने चिनियाँको संख्या पनि निकै छ। त्यस्तै ब्राजिल र अन्य पोर्चुगिज भाषी अफ्रिकी देशका कामदार पनि प्रसस्त छन्। अप्रवासीको संख्या निकै भएको यो देशका बर्तमान प्रधानमन्त्री अन्तोनियो कोस्ता नै भारतमा जन्मिएका हुन्।

अहिले यहाँ रहेका हजारौं आप्रवासीहरु बरु घर फर्किन पाए हुन्थ्यो भन्ने सोच्न थालेका छन्। तर, धेरैजसोलाई घर जान सम्भव छैन। सामान्य समस्या भए पनि काम भएको बेला पीडा कम हुन्छ। तर, काम पनि नहुने र जीवनको भविष्य नै थाहा नहुने अवस्थाको डर अर्को भयावह हुँदोरहेछ। नेपाली समुदायकै कुरा गर्दा धेरै जसोले मुलुक र आफन्तलाई सबैभन्दा बढी सम्झने समय यही नै हो भन्दा फरक पर्दैन। चाडबाड त एउटा पछि अर्को आउँछ तर यो कहरको लम्बाइ कति? यसको क्षति कति? यसको असर कहिलेसम्म? यस्ता प्रश्नले मान्छेलाई नियमितताबाट अर्कै संसारमा लगेको छ।

सरकारले १६ तारिखदेखि इमर्जेन्सी लगाउने समाचार स्थानीय अनलाइनले दिएका छन्। त्यससँगै पाँच जनाभन्दा बढी जम्मा हुन र हिँड्न नपाइने नियम पनि घोषणा गरिएको छ। तर, सरकारी घोषणा भन्दा अघि नै यी नियम लागेजस्तै भइसकेको थियो। त्रासका कारण स्थानीयवासीले अन्य देशमा लगाइएका नियम स्वतः मानेजस्तो भएको थियो। हामीजस्ता सूचना र आधिकारिकतामा अपडेटेडहरु चाहिँ अलिक गहिरो सोच्ने रहेछौं। यो लेख तयार गर्दा मेरो मनमा खेलिरहेका केही प्रश्न यस्ता छन्। यहाँ त हामी त्रासमा भए पनि सचेत छौं, नेपालमा भोलि ठूलो संक्रमण देखिने हो कि? चीनको शैली र प्रभावकारी प्रबिधि लागु गर्न युरोपले नसक्ला कि? अहिले त भोगौंला। तर नियन्त्रण अफ्टेरो हुँदै गए हामी देश फर्किने वातावरण मिल्ला कि नमिल्ला? एक शताब्दी अघिको जस्तो समस्या आए हरेक देशका आप्रवासी वा कामदारमाथि हुने फरक ब्यबहारले कामदार र आप्रवासी सबै संकटमा पर्ने अवस्था आउँछ कि?

यो लेख लेखिसकेर देशसञ्चारमा पठाइसकेपछि थाहा पाएँ- फारोमा समूहमा खेती गरेर बस्ने अन्य ७४ नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको रहेछ। यस ठाउँमा नेपालीहरु खेतीका लागि समूहमा बस्ने भएकाले उनीहरुमा खतरा देखिएको भन्दै प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो। आशा गरौँ- उनीहरुमा कोरोना भाइरस पोजिटिभ नदेखिओस्।

(पूर्व पत्रकार तथा कवि गौतमलाई ट्विटर ठेगाना @G_padam मा भेट्न सकिन्छ।)

चैत्र ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्