अमेरिकामा आपतकाल लम्बिने, १० जना भन्दा बढी जम्मा नहुन निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण लागु भएको आपतकालीन अवस्था ग्रिष्म ऋतुको अन्त्यसम्म वा त्यो भन्दा पछि पनि जारी रहन सक्ने बताएका छन् ।
उनले अमेरिकीहरुलाई सार्वजनिक कार्यक्रम वा भेलाहरुमा सहभागी हुनबाट थप बन्देज गर्न आग्रह गरेका छन् । अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु भिडभाडका स्थानहरुमा नजान आग्रह गरेका हुन् ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकासहित विश्वका अधिकांश देशले अहिले अति नै संक्रामक अदृश्य शत्रुको सामना गरिरहेको बताए ।
अमेरिकामा अहिलेसम्म चार हजार ६ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म अमेरिकामा ८५ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म एक लाख ८० हजार भन्दा बढीमा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या सात हजार एक सय भन्दा बढी छ ।
कोरोना भाइरस विरुद्ध ट्रम्पले गरेको नयाँ घोषणा अनुसार पाको उमेरका व्यक्तिले घरबाटै काम गर्नु पर्ने तथा स्कूलका गतिविधिहरु पनि घरबाटै हुनु पर्ने उल्लेख छ ।