सिमकोट विमानस्थलमा सामान ओसार्ने भरियामध्ये अधिकांश महिला

फाइल तस्बिर

सिमकोट– हुम्लामा यातायातको एक मात्र साधनका रुपमा रहेको हवाई सेवाबाट विमानस्थलमा ढुवानी भएर आएको सामान बोक्नका लागि महिलाहरुले ‘भरिया’को काम गर्न थालेका छन्।

विमानस्थलमा ढुवानी भएको सामान बोक्दा राम्रो कमाई हुन थालेपछि महिलाहरु यसप्रति आकर्षित भएका हुन्।

सिमकोट गाउँपालिका–७ की बाँच परियारले विगत आठ वर्षदेखि यहि काम गर्दै आइरहेकी छन्। उनले विमानस्थलमा भारी बोक्ने काम जिविकोपार्जनका लागि भरपर्दो माध्यम बनेपछि महिलाहरु यस काममा आकर्षित भएको बताइन्।

‘रेगुलर’ फ्लाइट भएमा दैनिक करिब तीन हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ। तर मौसममा खरावी हुँदा भने काम नहुने उनले बताइन्।

परियारले जस्तै सिमकोटकै लुड्की रोकाया पनि विमानस्थलमा भारी बोक्ने काम गर्दै आएकी छन्। रोकायाले भनिन्, ‘पाँच वर्षदेखि यही काम गरिहेकी छु। नगद हातमै आउने भएका कारण अरु कामभन्दा यही काम ठिक लाग्यो।’

हाल दैनिक करिब ५० देखि ८० जनाले सिमकोट विमानस्थलमा नेपालगंज र सुर्खेतबाट हवाईजहाजमा ढुवानी भएर आएको सामान बोक्ने काम गर्दै आएका छन्। त्यसमध्ये करिब ९० प्रतिशत महिलाहरु भएको उद्योग वाणिज्य संघका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायाले जानकारी दिए।

भरियाहरुले सामानको तौल र दूरी हेरेर ५० रुपैयाँदेखि तीन सय रुपैयाँसम्म ज्याला लिने गरेका छन्। एक जना भरियाले दैनिक १५ सयदेखि ४ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेको रोकायाले बताए।

यात्रुको सामान, खाद्य संस्थानको चामल, नुन, कार्गोको सामान र विकास निर्माणका सामानहरु सबै भरियाले नै बोक्ने गरेका छन्। सिमकोट विमानस्थलमा दैनिक कम्तीमा पनि एक दर्जन उडान हुँदै आएका छन्।

चैत ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्