‘कोरोना भाइरसलाई पराजित गरौँ र यो खेल जितौँ’

फुटबलर जाल्टन इब्राहिमोविचले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको प्रयासका लागि रकम जम्मा गर्ने अभियान सञ्चालन गरेका छन् ।

उनले अरु फुटबलरहरुलाई पनि यो प्रयासमा सहभागी भएर भाइरसलाई परै राख्ने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । स्ट्राइकर इब्राहिमोविच अहिले इटालियन सिरी ए क्लब एसी मिलानबाट खेल्दै आएका छन् ।

चीन बाहिर कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा खेल्ने इब्राहिमोविचले व्यक्तिगत रुपमा रकम संकलन अभियान चलाएका हुन् ।

उनले ५० हजार युरो डोनेट गरेका छन् । इब्राहिमोविचले इन्स्टाग्राममा लेखेका छन्, ‘इटालीले मलाई जहिले पनि धेरै कुरा दिएको छ । अहिलेको नाटकीय अवस्थामा मैले माया गर्ने देशलाई आफ्ना तर्फबाट पनि केही गर्न चाहन्छु ।’

उनले अघि लेखेका छन्, ‘सहकर्मीहरुको उदारता महत्वपूर्ण हुनेछ, सबै खेलाडी तथा आफूले सके जतिको सहयोग गर्नेहरुको डोनेसन यो भाइरसलाई परै राख्नका लागि उपयुक्त हुनेछ ।’

इब्राहिमोविचले स्वर्थबिना सबैको जीवन रक्षाका लागि समर्पित अस्पताल, डाक्टर तथा नर्सहरुको योगका लागि एकीकृत प्रयास चाहिएको बताए । उनले लेखेका छन्, ‘हामी सबै मिलेर कोरोना भाइरसलाई पराजित गरौँ र यो खेल जितौँ ।’

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्