कविता

पीडा

भनेकै छैन–
कानमा ठेडी कसेर बसेको भनेर,
केको कोरोना हँ ?
सुन्दिनँ, सुन्नै चाहन्न
बोल्दिनँ बोल्नै चाहन्न भनेको भए पो !

धेरै रोगहरूसँग लड्दै आइयो–

धुलो पचाएर बाँचेका छौँ
ढुङ्गो चपाएर नाँचेका छौँ
सरकार रिसाएको बेला,
डिस्टर्व नगर
छोडिदेऊ ‘को रोना’ ‘को धोना!’
बानी पार्दै जाऊ अभिशप्त बाँच्न
भनेको भए पो !

हुँदैन अब शायद,
तेलको भीड
ग्यासको भीड
अस्पतालमा बिरामीको भीड
अनसन गर्ने डाक्टरको समर्थनमा भीड
बिरोधमा भीड…
सपिङ्ग सेन्टरमा ग्राहकको भीड
भेँडीगोठ जस्तै प्रिय लाग्ने संसदमा भीड
भेडा जस्तै वफादार पछिपछि दगुर्ने सांसदहरूको भीड
कर तिर्नेको भीड
कर छल्नेको भीड
मालदार अड्डाहरूमा दलालहरूको भीड…
उस्तै छ आज पनि
परिवर्तन के भयो र?
भनेर सोध्नु हुँदैन
यी सब कुराहरू अब !

डर लागिरहेछ,
के थाम्न सक्लान् र
शुक्रराज (टेकु) ले यो भीड
के थेग्न सक्लान् र
गंगालाल (बाँसबारी) ले यो भीड
धर्म नाँसिएको समय,
धर्मभक्तको के साइनो यो भीडसँग !
इतिहासका पानामा सीमित दशरथहरू बिर्सियो भीडले
मनमोहन होस् या महेन्द्रनारायण
यी बिम्ब लाग्ने अस्पतालका शैयाहरूमा
नलागोस् तीनकोटी आफन्तहरूको भीड !
सोच्नु हुँदैन मष्तिष्कमा यस्ता शंकाहरू
र, तर्सिनु हुँदैन अब ।

हिजोसम्म यस्तै लाग्थ्यो–
‘धृतराष्ट्र’ जस्तै थ्यो अनुहार र मति
मुखमा मास्क र आँखामा पट्टि बाँधेर
‘गान्धारी’ बनेको थ्यो सत्ताको जिद्धि
‘सञ्जय’को नियतिले चलाएको थ्यो समय–
बोलिरहेथ्यो–
‘ठीक छ स्वामी,
–चलिरहेछन् मोटर र मान्छेहरू
–कुदिरहेछन् श्रमिकहरू
–टक्क दोबाटो चौबाटोमा उभिएर ड्युटी गरिरहेका छन् ट्राफिकहरू
–मन्दिरमा, गुम्बामा, मस्जिदमा, चर्चमा
प्रार्थना गरिरहेछन् भक्तहरू
–स्कूलमा–कलेजमा पढिरहेका छन् विद्यार्थीहरू’
मानौ यहाँ केही भएकै छैन
तिलस्मी छडी छ हातमा…
समय–सञ्जय बोलिरहेथ्यो ।’
अब के हुन्छ?
नसोधौँ यस्तो वाहियात प्रश्न…!
चौविस घण्टा त भा’छैन परिवर्तन भएको !

झसङ्ग झसङ्ग हुन्थेँ,
सपना देख्तथेँ–
र, यस्तो लाग्दैथ्यो–
भर्खरै घाटे वैद्यको तथ्याङ्क बोकेर
घर फर्केका छन् ‘विदुरहरू’
नदीका किनार र मसानघाटतिर
डढेका लासहरू गन्दैछ ‘शकुनी’
वैद्यहरू गुर्जोको खोजीमा
वनवनमा भौँतारिँदैछन्,
ज्योतिष भन्थे–
कुण्डलीको बाह्रौभावमा एक्लिएकोछ ‘लग्नेश’ !

भैगो देख्नु हुँदैन यस्ता दुस्वप्न अब…!

सुन्दै थिएँ प्राणनाथ !
…भक्तको घरमा पाहुना आएका थिए रे त्यतिबेला,
बोल्नुहुँदैन रे कसैसँग…!
अतिथि देवो भव !

त्यसैले,
बोलिदेऊ भगवान !
मृगस्थलीमाथिबाट सुनियोस् तिम्रो आकाशवाणी !
‘‘मुर्ख मनुष्य !
घरमै बसेर मेरो स्मरण गर, प्रार्थना गर
जीवन आफैमा क्वारेन्टाइन हो–
ध्यानमा रमाउन सिक
निस्काम कर्ममा हाँस्न सिक
भोलि नै प्रलय भएपनि होस्
सक्छौ भने दुई असल अक्षर
नानीहरूलाई आजै सिकाएर बिदा हुनू,

नश्वर छ शरीर–
जल्नदेऊ, जल्नेछ देह
आत्मा त अमर रहन्छ नि !’’

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्