रुपैडिहा नाकामा उच्च ज्वरो देखिएपछि भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक

सीमावर्ती भारतीय शहर रुपैहिडाबाट नेपालगञ्‍ज प्रवेश गर्न लागेका भारतीय नागरिकको स्वास्थ्य परीक्षण गर्दै हेल्थ डेस्कका कर्मचारी।एकजना भारतीयमा उच्च ज्वरो देखिएपछि उनलाई भारत नै फिर्ता पठाइएको छ।तस्बिर-कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्‍ज-उच्च ज्वरो आएका एकजना भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

सीमावर्ती भारतीय शहर रुपैहिडाबाट नेपालगञ्ज प्रवेश गर्न थालेका भारतका निराजन लोधलाई नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीले जाँच गर्दा ज्वरो देखिएपछि फिर्ता गरिदिएका हुन्। लोधलाई एक सय तीन डिग्री ज्वरो थियो।

नेपालगञ्ज हुँदै कामका लागि कैलाली जाने भनेका लोधलाई नाकाबाटै फिर्ता गरिएको छ। तर, नेपालगञ्जमा प्रशस्तै छोटी नाका रहेको र त्यहाँ प्रहरी र स्वास्थ्यकर्मीको उपस्थिति नरहेकाले त्यस्ता नाकाबाट भित्रिन सक्ने संभावना बढी देखिन्छ।

जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कले ज्वरो आएका नेपालीलाई भेरी अस्पताल, नेपालगञ्जमा पठाउने गरेको छ। बिहीबार एकजनालाई पठाएको छ ।
बुधबार चार जनालाई अस्पताल पठाएको थियो । ज्वरो आउदैमा कोरोनाको संक्रमण नहुने भएपनि उच्च ज्वरो आएकालाई उपचारका लागि अस्पतालमा पठाउने गरिएको छ।

नेपालगञ्ज नाकालाई आंशिक रुपमा बन्द गरिएको छ । सवारी साधनलाई तीन किलोमिटर टाढै रोकिएको छ। भारत जानै पर्ने मानिसहरु तीन किलोमिटर हिडेर गइरहेका छन्।

भारतका विभिन्न ठाउँमा काम गरेर फर्किएका नेपालीको चाप नाकामा बढी देखिएको छ।उनीहरु धमाधम घर फर्किरहेका छन्।

यसैबीच, कोहलपुर नगरपालिकाले कोरोनाको त्रासका बीचमा बजारमा अत्यावश्यक बस्तुको कालोबजारी नगर्न अपिल गर्दै त्यस्तो गरेको पाइएका कडा कारबाही गर्ने अपिल जारी गरेको छ । उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक सञ्जु चौधरीले त्यस्तो अपिल गरेकी हुन्।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्