कोरोनाको त्रास: भारतबाट दैनिक तीन हजार नेपाली स्वदेश फर्किन्छन्

धनगढी-भारतका विभन्‍न शहरमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपालीहरु काम छोडेर घर फर्किन थालेका छन्।

दुई-तीन दिन यता कैलालीको त्रिनगरस्थित गौरीफन्टा नाका र कंचनपुरको गड्डाचौकी नाकाबाट दैनिक ठूलो संख्यामा नेपालीहरु नेपाल भित्रिरहेका छन्।

धनगढीको भन्सारस्थित त्रिनगर प्रहरी चौकिका अनुसार पछिल्लो समय दैनिक कम्तिमा तीन हजार नागरिक गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम भित्रिने गरेका छन्।

अन्य समयमा दैनिक एक हजार देखी एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रवेश गर्ने दर अहिले बढेर दुई हजार देखी चार हजार सम्म पुगेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज महादेव भट्टले बताए। उनले गौरिफण्टा नाका हुँदै भारत जानेको संख्या भने शुन्य जस्तै भएको बताए।

यसैगरी कंचनपुरको गड्डाचौकी नाकाबाट पनि दैनिक ४ हजारको हाराहारीमा नेपालीहरु स्वदेश फर्किरहेको कंचनपुर प्रहरीले जनाएको छ। हिवार कैलालीको धनगढी स्थित त्रिनगर नाकाबाट नेपाल फर्किएका बाजुरा छेडेदह गाउँपालिका १ काँडाका रमेश रोकायाले भने–‘भारतमा कोरोना भाइरस फैलिएपछि ज्यान जोगाउन परिवार सहित घर फर्किए, म जस्तै भारतमा लामो समय देखि रोजगारी गरिरहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन्।’

उनले भारतमा उद्योग धन्दा, होटेल बन्द भएपछि काम समेत बन्द भएकाले धेरै नेपाली समस्यामा परेका बताए।बझाङ बुगलकी निर्मला बोहोरा परिवार सहित तीन बर्ष देखी भारतमै बस्दै आएकी थिइन्।

श्रीमान् दुई छोरा भारतको केरालामा रोजगारी गर्ने गर्दथे। विश्वभरी तिब्र रुपमा फैलिएको कोराना भाइरस भारतमा पनि पुगेपछि उनीहरु सुरक्षित बन्न नेपाल फर्किए।

‘नेपालमा कोरोनाको प्रभाव छैन भन्ने जानकारी पाएपछि सवै काम छोडेर घर फर्कियौं’ परिवार सहित धनगढी पुगेकी उनले भनिन्–‘कोरोनाबाट बच्न जागिर छोड्यौं, ज्यान भए कोरोना नियन्त्रण पछि पैसा कमाइ हालिन्छ, पहिले ज्यान जोगाउनु पर्‍ यो भनेर घर फर्कियौं।’

यिनिहरु जस्तै लामो समय देखि भारतमा परिवार सहित रोजगारी गरिरहेका नेपालीहरु नेपालमा कोरोनाको संक्रमण हाल सम्म नदेखिए पछि भारत छोडेर आफ्नै मुलुकमा फर्कन थालेका छन् । कैलालीको बौनियाँका राजु नेपालीले कोरोनाको प्रभावबाट बच्न भारतबाट नेपाल आएको बताए।

‘हामीसँगै काम गरिरहेका करिव एक सय नेपाली घर फर्केका छन्’ उनले भने–‘अन्य क्षेत्रमा रहेका साथी संग सम्पर्क गर्दा उनिहरुले पनि नेपाल आउने योजना बनाएको सुनाए।’

‘रोजगारीको शिलशिलामा भारत गएका धेरै नेपालीले ज्यान जोगाउन नेपाल जानुपर्छ भन्ने सोच बनाएका छन्’ उनले भने–‘अहिले कसैलाई काम र पैसाको मोह छैन, दुई चार दिनमा सवै नेपाली नागरिक स्वदेश फर्किदैछन।’

बिहिवार मात्र त्रिनगर भन्सार नाकाबाट नेपाल फर्किदै गरेका अछाम बाब्लाका नितेस बटालाले भने–‘भारतमा रहेका नेपालीहरु निकै आतंकित बनेका छन्, सीमाना बन्द छ भन्ने हल्लाले झन बढी समस्यामा परेका छन्।’ उनले भारतका बिभिन्न ठाउँमा रहेका नेपाली घर फर्कन चाहेका भएपनि सीमाना बन्द छ भनेर अलमलमा परेका बताए।

चैत ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्