निर्माण सकिएको ९ महिना भयो, अझै सञ्चालनमा आएन ‘सुर्खेत बसपार्क’

सुर्खेत– वीरेन्द्रनगर ७ इत्राम सुर्खेतका किशोर विकलाई प्रायः गाडीको यात्रा गरिरहनुपर्छ। यात्रा गर्दा सडकको चिन्ताभन्दा उनलाई सुर्खेत बसपार्कमा हुने भिडभाडको चिन्ता बढी लाग्छ।

‘कहिलेकाहीँ छोराछोरीहरुलाई एक्लै यात्रु गराउनुपर्ने हुन्छ’, उनले भने, ‘साँघुरो बसपार्कमा पार्किङ्गसमेत राम्रो नहुँदा दुर्घटना हुने डर लाग्छ।’

वर्षामा हिलो र खडेरीको धुलोको कारण आफूजस्तै हजारौं यात्रुले हैरानी खेप्नु परेको उनले बताए। बसपार्क निर्माणमै आठ वर्ष लागे पनि निर्माण भएको बसपार्क सञ्चालनमा नआउँदा झनै समस्या भएको विकले बताए।

भेरीगंगा नगरपालिका–९ की अमृता नेपालीले समेत वषौँदेखि सुर्खेत बसपार्कमा ठेला व्यवसाय गर्दै आएकी छन्। बसपार्कमा हुने व्यवसायबाट हुने नाफा जति उपचारमै खर्च हुने गरेको उनले बताइन्।

‘बसपार्कको धुलो र हिलोले सधैं बिरामी पारेको छ’, उनले भनिन्, ‘बसपार्क निर्माण भएको नौ महिना बित्दासमेत सञ्चालनमा आउन सकेको छैन।’

उनले यात्रुको चाप बढ्दै गएको भएपनि सरोकारवालाहरुको ध्यान भने बसपार्कमा नगएको गुनासो गरिन्।

किशोर र अमृता जस्तै सुर्खेत बसपार्कका कारण धेरैले सास्ती बेहोर्नु परेको छ। दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी वि.सं. २०६८ सालदेखि निर्माण कार्य सुरु भएको बसपार्क आठ वर्ष लगाएर सम्पन्न त भयो तर निर्माण कार्य सम्पन्न भएको ९ महिना बितिसक्दासमेत सञ्चालनमा आउन नसकेपछि यात्रुहरुले सास्ती बेहोर्नु परेको हो।

बसपार्क व्यवस्थापनका लागि कार्यविधि बनेपनि बसपार्क सञ्चालनमा भने ढिलाई भएको हो।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले अब छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको बताए।

उनले पुराना व्यवसायीहरु असन्तुष्ट हुँदा केही समय बसपार्क सञ्चालनमा बाधा भएको भन्दै अब अदालतको आदेश अनुसार बसपार्क सञ्चालनको प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

बसपार्क सञ्चालनको खिचलो के थियो ?


२०७६ साल असार मसान्तमा निर्माण कार्य सम्पन्न भएपछि बसपार्क सञ्चालन कार्यविधि निर्माण गरी २०७६ मंसिर १६ गते वीरेन्द्रनगर नगरपालिकाले ठेक्काको सूचना प्रकाशित गरेको थियो।

तर पुरानो बसपार्कमा व्यवसाय गरी बसेका ४१ जना व्यवासायीहरुले नगरप्रमुख देवकुमार सुवेदी र प्रमुख प्रसाशकीय अधिकृत टिकाराम ढकालविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेपछि बसपार्कको टेन्डर प्रक्रियामा ‘ब्रेक’ लाग्यो।

वि.सं. २०६८ साल असार ३ गते वीरेन्द्रनगर नगरपालिका र व्यवसायीहरु सहित बसेको सर्वदलीय बैठकले साविकको पुरानो बसपार्कमा व्यापार गरिरहेका व्यवसायीलाई बसपार्क निर्माण पश्चात व्यापार व्यवसाय गर्न दिने निर्णय गरेको र सो निर्णय विपरीत २०७६ असोज ११ गते वीरेन्द्रनगर नगरपालिकाको बैठकले स्वीकृत गरेको कार्यविधिका आधारमा ठेक्का टेन्डर सूचना प्रकाशित गरेपछि व्यवसायीहरुले रिट दायर गरेका थिए।

व्यवसायीहरुको उक्त कुराको सुनुवाई गर्दै अदालतले ठेक्का रद्द गर्न आदेश दिएपछि काम सम्पन्न भएपनि बसपार्क सञ्चालनमा आउन नसकेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए।

तर व्यवसायीहरुले दिएको रिटलाई फागुन ८ गते उच्च अदालत सुर्खेतले खारेज गरिसकेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी वीरेन्द्र मल्लले जानकारी दिए।

उनका अनुसार व्यापारीहरुलाई टेन्डर प्रक्रियामा प्राथमिकता दिनेगरी उच्च अदालत सुर्खेतले आदेश दिएको हो। उच्च अदालत सुर्खेतले पुराना व्यवसायीहरुले दिएको रिट खारेज गर्दासमेत बसपार्क भने सञ्चालनमा आउन सकेको छैन।

प्रमुख प्रशासकिय अधिकृत ढकालले अदालतको आदेश पश्चात टेन्डर प्रक्रियाहरुको मुल्याङ्कन गरिएको बताए। टेन्डर प्रक्रियाको मुल्याङ्कन गर्दा अस्वभाविक आएको भन्दै ढकालले सम्झौता गर्नको लागि आशयको सात दिने सूचना प्रकाशित गरेको बताए।

‘हामीहरुले आशयको सूचना निकालिसकेका छौँ’, उनले भने, ‘सम्झौता गर्न नआएको खण्डमा पुनः दोस्रो प्रक्रिया अगाडि बढाउनुपर्छ।’

उनले समयमै बसपार्क सञ्चालनका लागि काम अगाडि बढाएको भएपनि प्रक्रिया पुर्‍याउँदा ढिलाे भएको बताए।

किन लाग्यो बसपार्क निर्माणमा आठ वर्ष ?


वि.सं. २०६८ सालदेखि निर्माण कार्य शुरु भएको सुर्खेत सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो।

बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले काम राम्रोसँग अघि बढाउन नसकेपछि वि.स २०७२ सालमा अर्को निर्माण कम्पनी च्याङ्भिला नरसिंह जेभी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो।

२०७४ सालमा काम सक्नेगरी जिम्मा पाएको च्याङ्भिला नरसिंह जेभी निर्माण कम्पनीले समेत समयमै काम नसक्दा बसपार्क सञ्चालनमा ढिलाई भएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ।

कार्यालयका अनुसार करिब ७ करोड ४४ लाखमा सुर्खेत बसपार्क निर्माण भएको हो। नगर विकास कोषको ऋणमा निर्माण गरिएको सिटी बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले समेत पटक–पटक म्याद थप गरी गत असार मसान्तमा काम सम्पन्न गरेको हो।

निर्माण कार्य सुरु हुनु अगावै काममा ढिलाई भएको बसपार्क निर्माण सम्पन्न भएको ९ महिना बितिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन।

जसले गर्दा सर्वसाधारण मर्कामा परेका छन्। निर्माण गरिएको उक्त सिटी बसपार्कमा व्यवसाय सञ्चालनका लागि ५४ वटा सटर, शौचालय, बगैंचा, गाडी मर्मतका लागि वर्कसप, टिकट काण्टरसमेत निर्माण गरिएको छ।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू