अब एटिएम कारोबारमा अन्तर शुल्क नलाग्‍ने

काठमाडौं- अब कुनै पनि बैंकको एटिएम कारोबारमा अन्तर शुल्क नलाग्‍ने भएको छ। बिहीवार नेपाल बैंकर्स संघ बसेको बैठकले शुल्क नलिने निर्णय गरेको हो।

विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्ने छैन।

यसका साथै संघले नगदको कारोबार सकेसम्म कम गर्ने उपाय गर्ने निर्णय गरेको छ।

बैठकपछि कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीसँग पनि संघका पदाधिकारीहरुले छलफल गरेका थिए। छलफलले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। वित्तीय सेवा निरन्तर दिइरहने निर्णय राष्ट्र बैंकमा भएको हो।

राष्ट्र बैंकका कामु गभर्नर शिवाकोटी र कार्यकारी निर्देशकहरुमा कोरोनाका कारण पर्यटन क्षेत्र र रेमिटेन्समा असर परिसकेको विषयमा छलफल भएको थियो। यसबाट बैंकिङ क्षेत्रमा के कस्तो असर पर्छ भनेर छलफल गरिएको थियो।

छलफलमा शिवाकोटीले कोरोनाका कारण के कस्तो असर गर्छ र कसलाई कस्तो सहुलियत चाहिने हो भन्ने बिषयमा अध्ययन गर्न संघलाई निर्देशन दिएका छन्। संघले अध्ययन गरेपछि आवश्यक निर्णय गरिने भएको छ।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्