भुक्तभोगीको आँखामा इटालीको कोरोना ‘कहर’

सुरुमै यहाँलाई जानकारी गराउँ कि यो लेखको उद्देश्य कोरोना भाइरसबारे सचेत गराउनु हो, डर देखाउनु होइन। यो भाइरस कति खतरनाक छ र इटालीमा कसरी युद्धस्तरमा फैलियो भन्ने बारेमा यो लेख सहायक सिद्ध हुनेछ।

यदि कोरोना भाइरस केही होइन भन्ने देखाउन तपाईँ  साथीभाइसँग घुमफिर गर्दै हुनुहुन्छ, रेष्टुराँ, पार्टीमा सहभागी हुँदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ। आफूलाई सम्हाल्नुस्, यो तलको सबै विवरण एक इटालियन भुक्तभोगीले लेखेका हुन्।

सारा संसारका लागि यो एक गम्भीर सन्देश हो कि उनीहरुको जम्काभेट कस्तो महामारीसँग हुन गइरहेको छ।

सारा संसारलाई जानकारी भइ नै सकेको छ कि पूरा इटाली अहिले ‘क्वारेन्टाइन’मा छ, अर्थात पूरा इटाली नै ‘लकडाउन’ छ। यो ज्यादै गम्भीर कुरा हो। हामीलाई यस्तो हुँदैन भनेर जसले सोचेका छन् तिनीहरुका लागि भने यो अझ ज्यादा गम्भीर हुनसक्छ। हामी सबै इटालियन पनि पहिले यस्तै सोच्ने गथ्र्यौं।

हेरौं कसरी शुरु भयो कोरोना

पहिलो चरण
तपाईँलाई लाग्ला- कोरोना सामान्य भाइरसजस्तो कुनै चिज हो। हाम्रो देशमा यो भर्खर शुरु भएको छ- त्यसकारण आत्तिनुपर्ने कुनै कुरा छैन। यो केवल एकप्रकारको रुघाखोकी, ज्वरो हो । र, त्यसमा पनि म कुनै ७५ वर्षमाथिको वृद्ध त होइन नि त्यसैले पनि डराउनु पर्ने केही छैन।

त्यसपछि अघि बढ्छ प्रथम चरण
तपाईँलाई लाग्छ किन हरेक मानिस मास्क, ट्वाइलेट पेपर तथा सेनिटाइजरका लागि पागल भैरहेका छन्। आखिर त्यस्तो केही हुनेवाला त छैन। मेरो जिन्दगी त आरामले चलिरहेको छ र चल्दै जान्छ।

दोस्रो चरण
विस्तारै देशमा संक्रमण बढ्दै जान्छ। सरकार एक, दुई शहरको सीमा बन्द गर्छ। सरकार जनतालाई सम्झाइरहेको हुन्छ, डराउनु पर्ने केही छैन, सबै ठीक छ। २२ फेब्रुअरीमा इटालीमा पनि यस्तै भएको थियो।

फेरि दोस्रो चरण अगाडि बढ्छ
केही मानिस मर्छन्। उनीहरु सबै वृद्ध हुन्छन्। मिडिया त्यसलाई बढाइँचढाइँ गर्छ। हामी सोच्छौं यो राम्रो काम होइन। हामी अझै साथीभाइसँग भेटघाट गर्दै गर्छौं। जिन्दगी सामान्य चल्दै गर्छ। हामीलाई लाग्छ- हामीलाई केही पनि हुँदैन।

तेस्रो चरण
विस्तारै संक्रमितको संख्या बढ्दै जान्छ। एकै दिनमा संक्रमितको संख्या दोब्बर हुन्छ। मृत्यु हुनेको संख्या बढ्दै जान्छ। अनि सरकार चारवटा ठूला इलाका बन्द गर्छ जहाँ सबैभन्दा बढी केस हुन्छ। ७ मार्चमा इटालीमा यस्तै भएको थियो। इटालीका २५ प्रतिशत मानिसलाई घरमै बन्धक बनाइन्छ। फेरि एक पटक देशका केहीभागका स्कूल, बार तथा रेष्टुरेण्ट बन्द गरिन्छ। तर, अफिस भने अझै खुलेकै हुन्छ। सरकारी नियम तथा निर्देश मिडिया तथा अखबारले पहिलेदेखि नै प्रकाशित गरिरहेकै हुन्छन्।

तेस्रो चरण अगाडि बढ्छ
सरकारले क्वारेन्टाइनमा राखेको इटालीका करीब दश हजार मानिस एकै रातमा त्यहाँबाट निस्किएर आ–आफ्नै घर जान्छन्। इटालीका करlब ७५ प्रतिशत मानिस अझै पनि आफ्नो दैनिक कामकाजमा व्यस्त भैरहेका हुन्छन्।

तेस्रो चरण अझ अगाडि बढ्छ
इटालीका बासिन्दाले अझै पनि यस भाइरसको महामारीको बारेमा बुझ्न सकिरहेका हुन्नन्। अब इटालीका हरेक ठाउँका बासिन्दालाई छिनछिनमा हात धोइरहन बताइन्छ। मानिसलाई समूहमा तथा भिडमा नजान निर्देश गरिन्छ। टिभीमा हरेक दश मिनेटमा यसकाबारेमा जानकारी दिइन्छ। तर, यी सबै कुरा मानिसको मस्तिष्कमा अझै पनि पसिसकेको हुँदैन।

अब आउँछ चौथौ चरण
इटालियन सरकारले सबै स्कूल तथा कलेज कम्तीमा एक महिनाका लागि बन्द गर्ने घोषणा गर्छ। ‘नेशनल हेल्थ इमर्जेन्सी’ लगाइन्छ। सबै अस्पताल खाली गरेर कोरोना भाइरसका बिरामीका लागि ठाउँ बनाइन्छ।

चौथो चरण अगाडि बढ्छ
अब इटालीमा डाक्टर तथा नर्सको अभाव हुन थाल्छ। सम्पूर्ण सेवा निवृत्त डाक्टरलाई पुनःकाममा बोलाइन्छ। दोस्रो वर्ष डाक्टरी पढ्दै गरेका विद्यार्थीलाई पनि काममा बोलाइन्छ। कुनै पनि डाक्टर तथा नर्सको ड्युटीको कुनै सिफ्ट तोकिंदैन। सबैले २४ सै घण्टा काम गर्नुपर्ने हुन्छ। अब डाक्टर तथा नर्स संक्रमित हुन शुरु हुन्छन्। यसले गर्दा उनीहरुका परिवार पनि संक्रमित हुन पुग्छन्।

चौथो चरण अझै अगाडि बढ्छ
अब निमोनियाका बिरामीको संख्यामा धेरै नै वृद्धि हुन्छ। धेरै मानिसलाई आइसियुको आवश्यक्ता पर्छ। तर सबैलाई ठाउँ हुने कुरै भएन। अब इटालीमा यस्तो स्थिति आउँछ डाक्टरले ती व्यक्तिको मात्र उपचार गर्छन् जसको बाँच्ने सम्भावना हुन्छ। यसको अर्थ अब डाक्टरको काम वृद्ध तथाअन्य रोगीलाई उपचार नगरी कोरोना संक्रमितलाई मात्र बचाउनु हुन्छ। अब अस्पतालमा सबैका लागि ठाउँ रहँदैन।

चौथो चरण धेरै अगाडि बढ्छ
अस्पताल तथाआइसियुमा स्थान नभएका कारण मानिसहरु मरिरहेका हुन्छन्। आइसियु खाली नभएकाले आफूले तीनजनालाई मर्न छोडिदिएको एकजना डाक्टरले फोनमा बताए। इटालीमा अस्पतालका नर्सहरु मर्न लागेका मानिसका लागि अक्सिजन दिने बाहेक अरु केही गर्न नसकेकोमा रोइरहेका छन्। मेरो एकजना साथीको आफन्त उपचार नपाएका कारण हिजो बिते। यसबेलासम्म कोरोना भाइरस देशको हरेक ठाउँमा फैलिसकेको हुन्छ।

केही देशहरुले हामीलाई केही हुँदैन भन्ने सोचेको देख्दा बहुत दुख लाग्छ। साथै उनीहरुले यसको बचाउमा केही पनि गरेका छैनन्। यदि समय रहँदै उनीहरुले पनि बचाउका लागि आवश्यक कदम चालेका खण्डमा धेरै ठूलो लाभ हुन्छ।

पाँचौं चरण
इटाली सरकारले शुरुवातमै ज–जसलाई क्वारेन्टाइनमा राखेको थियो तिनीहरु पछि भागेर आफ्नो घरमा गए, र तिनै भगौडाका कारण ९ मार्चमा सम्पूर्ण इटाली नै क्वारेन्टाइन बन्न बाध्य भयो।
अब सरकारको उद्देश्य एउटै मात्र छ यसलाई फैलनबाट कसरी रोक्ने।

अब मानिसलाई अवस्था हेरी काममा जान दिइएको छ। जरुरी सामान किन्न पनि दिइएको छ। व्यापार खोलिएको छ। किनकि यसो नगरेका खण्डमा सबै अर्थतन्त्र ध्वस्त हुनेछ। तर, अझै पनि तपाईँ आफ्नो ठाउँबाट उचित कारणबिना बाहिर जान सक्नुहुन्न।

तर, अझै पनि समस्या रहेको छ। केही मानिसलाई अझै पनि के लाग्छ भने उनीहरुलाई केही पनि हुन्न। उनीहरु अझै पनि साथीसँग बाहिर घुमिरहेका छन्। समूहमा हिंडिरहेका छन्। रक्सी खाएर रमाइरहेका छन्।

अब आउँछ छैठौं चरण
दुई दिनपहिले मात्र सरकारले सबै व्यापारिक प्रतिष्ठान, सपिङ मल, रेष्टुरेण्ट तथा सबै पसल बन्द गर्ने निर्णय गर्‍यो। अब केवल सुपर मार्केट तथाऔषधीपसल मात्र खुला रहने घोषणा गरिएको छ।
अब तपाईँ आफ्नो क्षेत्रबाट तबमात्र बाहिर जान सक्नुहुन्छ जब तपाईँसँग त्यसका लागि उचित कारण हुन्छ र साथै त्यसको प्रमाणपत्र पनि हुनुपर्ने हुन्छ। प्रमाणपत्रमा तपाईँको पूर्ण विवरण र कहाँबाट किन कहाँ जान लागेको भन्ने जानकारी लेखिएको हुन्छ।

ठाउँ ठाउँमा प्रहरीको चेकजाँच स्थल हुन्छन् जहाँ बाहिर निस्कने मानिसको जाँच हुने गर्छ।

अहिले इटालीमा कोही मानिस घर बाहिर पक्राउ परेका खण्डमा उसमाथि २०६ पाउण्ड जरिवाना हुन्छ। र, यदि उ कोरोना संक्रमित भएका खण्डमा उसलाई एक वर्षदेखि लिएर बाह्र वर्षको जेल सजाय हुनसक्छ।

आखिरी सन्देश
यो सबै १२ मार्चसम्मको अवस्था हो। इटालीको यो अवस्था केवल दुई हप्तामा भएको हो। इटालीलाई तेस्रो चरणबाट यो अवस्थासम्म आउन केवल पाँच दिनमात्र लागेको थियो।

संसारका अन्य देशहरु बिस्तारै यो चरणमा प्रवेश गर्दैछन् जहाँबाट हामी गुज्रिसकेका छौं। यसकारण म तपाईँहरुलाई एउटै कुरा भन्छु, ‘तपाईँ अन्दाज गर्न सक्नुहुन्न कि तपाईँसँग के हुनसक्छ?’

दुई हप्ता अगाडि हामी पनि तपाईँले जस्तै सोच्थ्यौं कि हामीलाई केही हुनेवाला छैन। यो भाइरस धेरै खतरनाक भएका कारण यस्तो परिस्थिति उत्पन्न भएको होइन बरु हामी यसको सामना गर्न सक्षम नभएका कारण यस्तो विषम परिस्थिति निर्माण भएको हो।

केही देशहरुले हामीलाई केही हुँदैन भन्ने सोचेको देख्दा बहुत दुख लाग्छ। साथै उनीहरुले यसको बचाउमा केही पनि गरेका छैनन्। यदि समय रहँदै उनीहरुले पनि बचाउका लागि आवश्यक कदम चालेका खण्डमा धेरै ठूलो लाभ हुन्छ।

यदि तपाईँ यो सन्देश पढ्दै हुनुहुन्छ भने सजग हुनुस् किनकि यसलाई बेवास्ता गरेर यसको समाधान निस्कनेवाला छैन। अमेरिका जस्ता देशमा कति संक्रमित होलान्, उनीहरुका बारेमा अहिलेसम्म केही जानकारी छैन।

इटाली सरकारले अब यो भाइरस जहाँ छ त्यहिं रोकिनुपर्छ भनेर राम्रो काम गरेको छ। यसका लागि उसले ढिलै भएपनि कठोर कदमसमेत उठाएको छ। चीनले पनि यसै गरी कोरोनामाथि विजय पाएको हो। उसले सबै क्षेत्र बन्द गरेर मानिसलाई घरमा बन्द गरेको थियो।

इटाली सरकारले जनतालाइ बैंकको किस्ता तथा व्यापारमा मद्दत गरेर सहयोग गरिरहेको छ। तर, मलाई भने यो चिन्ताले सताएको छ कि यदि सबै देशको अवस्था यस्तै भयो भने स्थिति के होला?
यदि तपाईँको देशमा कोरोना भाइरस संक्रमित व्यक्ति छन् भने तपाईँ इटालीको अवस्थाभन्दा मात्र दुई हप्ता पछाडि हुनुहुन्छ। तपाईँहाम्रो कुरा बिस्तारै बुझ्नु हुन्छ। यसकारण मेरो तपाईँलाई अनुरोध छ कि आफ्नो सुरक्षा आफैं गर्नुस्। यस्तो व्यवहार नगर्नुस् कि मलाई केही हुनेवाला छैन। यदि तपाईँ सक्नुहुन्छ भने आफूलाइ घरभित्रै क्वारेन्टाइन गर्नुस्।

(आशीष पौडेलले यो लेख @JasonYanowitz को ट्विटर एकाउन्टबाट भावानुवाद गरेका हुन्।) 

चैत ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्