कोरोनाबाट सबैभन्दा बढी प्रभावित १० देशको अवस्था

एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप दिन प्रतिदिन भयावह बन्दै गएको छ।

गत डिसेम्बरको अन्तिम सातातिर पहिलाे पटक चीनको हुवेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर १० हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसेका छन्।

यो समाचार तयार पार्दा (शुक्रबार साँझ)सम्म कोरोनाको संक्रमणबाट संसारभर १० हजार ४ सय ४७ जनाको मृत्यु भएको वल्र्डोमिटरको तथ्यांकले देखाएको छ। यस्तै २ लाख ५४ हजार ७ सय ९९ जना संक्रमित भएकोमा झण्डै ९० हजार व्यक्तिहरु निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसबाट हालसम्म सबैभन्दा धेरै प्रभावित हुने १० देशमा चीन, इटाली, स्पेन, इरान, जर्मनी, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड र बेलायत रहेका छन्।

१. चीन


चीन कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित देश हो। चीनमा हालसम्म कोरोनाको संक्रमणबाट ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ भने ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ७१ हजार १ सय ५० जना सञ्चो भएका छन्।

सुरुमा गत डिसेम्बरको अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो। यद्यपि पछिल्लो समय चीनमा कोरोनाको संक्रमण करिब नियन्त्रण उन्मूख देखिएको छ।

कोरोनाको महामारीबाट आफू मुक्तभएको घोषणा गरेको चीनले यतिबेला कोरोनाबाट अति प्रभावित इटाली, इरान लगायतका देशका चिकत्सकसहितको विशेषज्ञ टोली पठाएर सहयोग गर्न थालेको छ।

केही समयअघि चिनियाँ राष्ट्रपति सी जिनफिङले समेत कोरोनाको ‘इपिसेन्टर’ वुहानको भ्रमण गरेर चीनमा कोरोनाको संक्रमण कम भएको संकेत दिइसकेका छन्।

२. इटाली


इटाली चीनपछि कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित देश हो। यद्यपि कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या हेर्दा चीनको भन्दा इटालीको अवस्था भयावह छ। इटालीमा हालसम्म ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ। चीन लगायत अन्य देशको तुलनामा इटालीमा मृत्युदर उच्च देखिएका छ।

इटालीमा ४१ हजार ३५ जना संक्रमित बनेका छन्।

चीनमा झण्डै ८१ हजार संक्रमित हुँदा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ तर इटालीमा भने ४१ हजार संक्रमित हुँदा ३ हजार ४ सयभन्दा बढीले ज्यान गुमाएका छन्। यसरी हेर्दा इटालीमा कोरोनाबाट संक्रमितको मृत्युदर चीनकाे भन्दा झण्डै दोब्बर बढी देखिएको छ।

३. स्पेन


कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये स्पेन तेस्रो नम्बरमा देखिएको छ। स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ।

अहिलेसम्मको तथ्यांक हेर्दा स्पेनमा १९ हजार ९ सय ८० जना कोरोनाबाट संक्रमित बनेकोमा १ हजार २ जनाको मृत्यु भएको छ।

स्पेनमा पछिल्लो २४ घण्टामा १ सय ७१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् भने १९ सय ३ जना नयाँ संक्रमित भेटिएका छन्।

४. इरान


इरानमा पनि कोरोना भाइरसको प्रकोप डरलाग्दो हिसाबले फैलिएको छ। हालसम्म १९ हजार ६ सय ४४ संक्रमित बनेकोमा १ हजार ४ सय ३३ जनाको ज्यान गएको छ।

इरानमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय ३७ जना नयाँ संक्रमति भेटिएका छन् भने १ सय ४९ जनाले ज्यान गुमाएका छन्।

५.जर्मनी


जर्मनीमा समेत कोरोना भाइरसको संक्रमण अत्यधिक देखिएका छन्। हालसम्म १७ हजार ३ सय ७२ जनामा कोरोनाको संक्रमण देखिएकोमा ४७ जनाको मृत्यु भएको छ।

संक्रमण दर उच्च देखिए पनि जर्मनीमा मृत्युदर भने अन्य देशको तुलनामा कम देखिएको छ। तर पछिल्लो २४ घण्टामा जर्मनीम २ हजार ५२ जना कोरोना नयाँ बिरामी भेटिएका छन्।

६. अमेरिका


अमेरिकामा पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। हालसम्म १४ हजार ३ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएको अमेरिकामा २ सय १७ जनाको मृत्यु भएको छ।

कोरोनाबा बच्न अमेरिकाले राष्ट्रिय आपतकालको घोषणा गरेको छ।

७. फ्रान्स


अमेरिकाको भन्दा संक्रमण कम देखिए पनि फ्रान्समा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने बढी देखिएको छ।

हालसम्म १० हजार ९ सय ९५ जना कोरोनाबाट संक्रमित भएको फ्रान्समा ३ सय ७२ जनाको मृत्यु भएको छ।

८. दक्षिण कोरिया


दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण उच्च देखिएको छ। दक्षिण कोरियामा हालसम्म ९४ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने ८ हजार ६ सय ५२ जना संक्रमित बनेका छन्।

९. स्वीट्जरल्याण्ड


स्वीट्जरल्याण्डमा हालसम्म ४ हजार ८ सय ९८ जना संक्रमित भएका छन् भने ४३ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा स्वीट्जरल्याण्डमा ६ सय ७६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

१०. बेलायत


सुरुवाती दिनमा कारोनाको संक्रमण केही सुस्त देखिएको बेलायतमा पछिल्लो समय संक्रमण तीब्र गतिमा बढ्न थालेको छ।

बेलायतमा हालसम्म १ सय ४४ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ३ हजार २ सय ६९ जना संक्रमित बनेका छन्।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्