बजारमा कोरोनाको असर: व्यापारी भन्छन्,’यस्तो त भूकम्पको बेला पनि भएको थिएन’

काठमाडौँ– सधैँ जसो भिडभाड हुने न्यूरोडमा यतिबेला चहलपल पातलिँदै गएको छ। किनमेल गर्ने मानिसहरुदेखि सवारीसाधन पनि निकै कम देखिन थालेका छन्। चहलपहल घटेसँगै व्यापारमा पनि कमि आएको छ।

विगत १० वर्षदेखि न्यूरोडमा ब्यागको व्यापार गर्दै आएकी अनिता जोशी व्यापार नभएकाले पसल खोल्ने र बन्द गर्ने काम मात्र भएको बताउँछिन्।

उनले १० वर्षको अवधिमा यस्तो दिन कहिल्यै नआएको बताइन्। ‘यस्तो त भूकम्पको बेला पनि भएकाे थिएन’, उनले भनिन्, ‘कोरोना भाइरसले व्यापारमा मात्र क्षति गरेकाे छैन मानिसहरुमा यसको ठूलो त्रास छ।’

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेपछि मानिसहरु निकै कम एको उनले बताइन्। उनले भनिन्, ‘जब मानिस नै छैनन् भने कसरी व्यापार हुन्छ? अहिले अफ सिजन पनि हो र नयाँ समान पनि राख्न पाएको छैन’,

होलसेल पसलमा नै सामान नभएको उनकाे भनाइ छ।

उनले १० दिनको अवधिमा ७० प्रतिशतले व्यापार घटेको बताइन्। ‘अहिले फाट्टफुट्ट ग्राहकहरु आउँछन्। तर हेरेर फर्कन्छन्। उसो त अहिले ब्याग अति आवश्यक पनि छैन’, उनले भनिन्।

न्यूरोडमा लामो समयदेखि स्पोर्टस्‌का सामानको व्यापार गर्दै आएका प्रकाश श्रेष्ठको भनाइ पनि उस्तै छ। उनको व्यापारमा पनि कोरोनाका कारणले ७५ प्रतिशत गिरावट आएको छ।

‘स्पोर्टस्‌का सामान बढी विद्यार्थी र खेलाडीलाई चाहिने हो’, उनले भने, ‘तर सरकारले विद्यालयहरु बन्द गर्ने घोषण गरिसकेपछि धेरै विद्यार्थी आ–आफ्नो घर गइसके। कसरी व्यापार हुन्छ?’

उनको पसलमा मात्र होइन लुगा पसलमा पनि उस्तै हालत छ । न्यूराेडमा १४ वर्षदेखि लुगाको व्यापार गर्दै आएका कृष्ण मित्तलले अहिले व्यापार ६० प्रतिशत घटेको बताए। उनले पसलमा मान्छे आउन छोडको बताए।

‘हाम्रो व्यापार कपडाको हो। अहिले विहेको पनि सिजन छैन। त्यसमाथि कोरोनाले व्यापार नै खाइदियो’, उनले भने। उनले महिलाहरुका मात्र लुगा बेच्ने गरेका थिए।

महिलाहरुका लुगाको मात्र व्यापार घटेको होइन पुरुषको पनि उस्तै अवस्था छ।

महेन्द्र तुलाधरले पनि अहिले व्यापार निकै घटेको बताए। उनी ‘जेन्स’ लुगा मात्र बेच्छन्। उनका अनुसार काेरोनाले बजार ओरालो लागेको छ। उनले भने, ‘बजारमा मान्छे नै छैनन्। कसरी व्यापार हुन्छ?’ उनको पनि व्यापार ७५ प्रतिशतले घटेको छ।

इलेक्ट्रोनिक्स, हार्डवेयर तथा फर्निचरको व्यापार पनि ठप्प छ। बिजुलीबजारमा रहेको बज्रा एण्ड बज्राचार्य इन्टरप्राइजेजकी म्यानेजर लक्ष्मी काफ्लेले हार्डवेयरको व्यापार पनि नाजुक रहेको बताइन्।

उनले कारोनाका कारणले ग्राहकहरु निकै कम भएको बताइन्। ‘सरकारले धेरै जमघट नगर्नु भनेको छ’, उनले भनिन्, ‘त्यसैले ग्राहकहरु आएका छैनन्।’

केहीदिन अघिसम्म ग्राहकहरुको ‘फ्लो’ राम्रो भएको उनकाे भनाइ छ। । उनी बज्र ग्रुपमा विगत २० वर्षदेखि कार्यरत छिन्। उनले आफ्नो कार्यकालमा रोगले यसरी व्यापारमा असर पारेको नदेखेको बताइन्।

‘अहिले त व्यापारसँगै आफूलाई पनि जोगाउनु पर्ने अवस्था छ’, उनले भनिन्।

उनले स्टाफ तथा ग्राहकहरुका लागि स्यानिटाइजर र साबुन पानीले हात थुने व्यवस्था गरेको जानकारी दिइन्।

यस्तै थापाथलीमा रहेको पायाेनियर मोटो क्रप प्राइभेट लिमिटेडका सिनियर सेल्स म्यानेजर राजकुमार ढकालले अटो व्यापारमा ८० प्रतिशतले गिरावट आएको बताए।

कारोना भाइरसका कारण ग्राहकहरु निकै कम भएको उनकाे भनाइ छ। ‘केहि दिनदेखि ग्राहहरु निकै कम भएका छन्’, उनले भने, ‘सरकारले धेरै मान्छे जम्मा नहुने निर्देशन दिएपछि व्यापारमा कमि आएको छ।’

दिवा फेशनका सञ्चालक अक्षय लामाले पनि ६० प्रतिशत व्यापार घटेको बताए। उनले पनि कारोना भाइरसको प्रभाव आफ्नो व्यापारमा पनि परेको बताए।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्