कर्णाली प्रदेशमा एक हजार क्षमताको ‘क्वारेन्टाइन’को तयारी

सुर्खेत– नेपालमा पनि काेराेना भाइरस (काेभिड–१९)काे जाेखिम बढ्दै गएपछि  कर्णाली प्रदेश सरकारले एक हजार क्षमताको क्वारेन्टाइन बनाउने तयारी गरेको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय क्षमता र रेडियो नेपालमा ४ सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने तयारी सरकारले गरेको हो।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोरोना भाइरस सक्रमण रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

समितिले यो संगै १८ निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

सरकारले ५० करोडसम्मको कोष खडा गरी कोषबाट खर्च बढाउने, उद्योग मन्त्रीको नेतृत्वमा आपूर्ति टिम खडा गर्ने, कर्णालीका नाकाहरुमा चेकजाँच कडा गरी कर्णालीका मात्रै नागरिक आउन दिने, बाहिरका नागरिक आउनै परे अनुमती लिने, भारतबाट फर्कनेहरुलाई अबको १० दिनभित्रमा फर्कन आग्रहसहित फर्किएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको उनले बताइन्।

साथै हेल्थ डेस्कमा प्रयोगशालासमेत बनाउने, कर्णालीका हेल्थ डेस्कहरुलाई २४ सै घण्टा सञ्चालन गर्ने, कर्णालीका सबै जिल्ला, पालिका र वडास्तरमा समेत कोरोना नियन्त्रण समिति निर्माण गरी काम अगाडि बढाउने, २५ जनाभन्दा बढी भेला हुन नदिने लगायतका निर्णय समितिले गरेको हो।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्