के सरकारमा मानवीय संवेदनशीलता हराएको हो?

कोरोना भाइरसले अनुमान गरिएभन्दा धेरै ठूलो आकार ग्रहण गरेर संसारभर त्रास बढाइदिएको छ। विश्वस्त उपचार अर्थात खोपका लागि कम्तिमा एक वर्ष कुर्नु पर्ने देखिन्छ। अब सबैले सक्दो सतर्कता अपनाउनुको कुनै विकल्प छैन। सतर्कताका उपायहरु वा तरिकाहरु सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा प्रशस्त आइरहेका छन्।

प्रविधि र साधन स्रोतले साँघुरो बनाइदिएको संसारमा यस्ता सरुवा रोग कति घातक हुने रहेछन् भन्ने उदाहरण वर्तमान पुस्ताको आँखा अगाडि छ। केही दिनअघि चीनको बुहानमा मात्र संक्रमण देखिदा जहाज चार्टर गरेर आफ्ना नागरिक स्वदेश भित्र्याउने लहर चल्यो। नेपाल त्यसको पछिल्लो पङ्तिमा रह्यो।

अहिले केही दिन पछि आफ्ना नागरिकलाई समेत देश प्रवेशमा प्रतिबन्ध लगाउनेमा नेपाल सायद नम्बर एकमै आएको छ। अनुरोध सम्म गर्नु एउटा कुरा हो तर अवस्था जस्तो सुकै भए पनि आफ्नै नागरिकलाई स्वदेश प्रवेशमा पुरै रोक लगाउनु कुनै कोणबाट पनि जायज हुन सक्दैन। नेपाल बाहेक अरु कुनै मुलुकले त्यस्तो कदम चालेको जानकारी छैन।

स्वदेश प्रवेश पछि सेल्फ क्वारेनटाइनमा बस्नु पर्ने सम्मका नियम अरु देशले पनि बनाएका छन्। विदेशीका हकमा पनि त्यही नियम लागु हुन्छ। अरु मुलुकका मन्त्री/प्रधानमन्त्रीले विशेषज्ञहरुको राय सल्लाह अनुसार निर्णय लिन्छन् र त्यसरी नै जानकारी पनि गराउँछन्। तर नेपालमा सचिवले मंत्री र मंत्रीले प्रधानमंत्रीसंग सल्लाह गरेर निर्णय लिएको भन्छन्। जे विषयमा पनि पदमा बस्नेले नै विज्ञको भन्दा बढी बुझेको हुन्छ भन्ने सोचले मुलुक आक्रान्त छ।

घरका अभिभावक सदस्यले बाहिरबाट घर फर्केको परिवारको सदस्यलाई रोगी र मरणान्तै भए पनि घर प्रवेशमै रोक्नु मानवीयता होला? त्यसो गर्न कसैले सक्ला? केही नभए पनि पींढी, आँगन वा तुलसीको मोठ आसपासमा त आश्रय पाउनु पर्ने होइन र? मानवीय संवेदनशीलता नीति निर्णायकमा वा सत्तासीनहरुमा हराएको भए पनि समाजमा बाँकी छ।

दुईदिन अघि विदेशी राहदानी बाहक गैरआवासीय नेपालीलाई र दुइदिन पछि नेपाली राहदानी बाहक आफ्नै नागरिकलाई स्वदेश प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि त्यसकै उपज हुनुपर्छ।

सतर्कता अपनाउनु जरुरी छ। तर्कसंगत कुरा सबैले मान्नु पर्छ। आपतमा सबैका तर्क सुनेर नभई विज्ञ समुहको राय लिएर निर्णय गर्नु पर्छ। एउटा पनि आधिकारिक विरामीको उपस्थिति नदेखिएको थोरै मुलुकमा नेपाल पनि परेको छ।

यो सुखद संयोग मात्र हो। यस्तो अवस्थामा बाहिरबाट हुने प्रवेशलाई रोके पछि देशभित्रका पढाइ र परीक्षा किन रोक्नु पर्‍यो? बुझ्न सजिलो छैन। किनभने तर्कले काम गर्दैन। गर्नु पर्ने कुरा अन्य मुलुकमा गरेजस्तो नगर्ने अनि गर्नै नपर्ने कुरा चाहीं एक कदम अघिबढेरै गर्ने गलत शैली जिम्मेवार निकायको छ।

विमानस्थल लगायतका सिमा नाकाहरुमा गरिने परीक्षण फितलो र बैज्ञानिक नभएको आलोचना ब्याप्त छ। शंकास्पद बिरामीको परीक्षण समेत नभएको गुनासो त्यत्तिकै छ। केही स्वदेशी र विदेशीको मृत्युको कारण खुल्न नसकेको अवस्था छ। तर सरकारको ध्यान र काम कार्यवाही आफ्नै नागरिकलाई स्वदेश भित्रिन नदिनेमा छ।

कुनै देशले डिपोट नै गरिदियो भने के गर्ने हो जवाफ छैन। घरका अभिभावक सदस्यले बाहिरबाट घर फर्केको परिवारको सदस्यलाई रोगी र मरणान्तै भए पनि घर प्रवेशमै रोक्नु मानवीयता होला? त्यसो गर्न कसैले सक्ला? केही नभए पनि पींढी, आँगन वा तुलसीको मोठ आसपासमा त आश्रय पाउनु पर्ने होइन र? मानवीय संवेदनशीलता नीति निर्णायकमा वा सत्तासीनहरुमा हराएको भए पनि समाजमा बाँकी छ। अब त्यसलाई जगाउनु पर्छ र सत्कर्ममा लगाउनु पर्छ। कोरोनाको भय भागोस्, सबैको जय होस्।

(घिमिरे गैर आवासीय नेपाली महासंघका पूर्व प्रवक्ता हुन्।)

 

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्