कोरोना भाइरसबारे ‘फेक’ अडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ – कोरोना भाइरसबारे अफवाह फैलाउन सामाजिक सञ्जालमा प्रयोग गरिएको अडियोबारे नेपाल प्रहरीले अनुसन्धान थालेको छ। उक्त अडियो ‘फेक’ रहेकोले भ्रममा नपर्न र आतंकित नहुन पनि प्रहरीले आग्रह गरेको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको र त्यसमध्ये ६ जनामा पोजेटिभ अर्थात कोरोना संक्रमण रहेको रिपोर्ट आएको दाबी गरिएको छ। नर्भिक अस्पतालको ठेगाना भने उक्त अडियोमा पुल्चोक भनी उल्लेख गरिएको छ।

नर्भिक अस्पताल र नेपाल प्रहरीले भने यो दाबीको खण्डन गरेका छन् । नर्भिक अस्पतालले भ्रामक र नियतबस गरिएको प्रचारकाविरुद्ध प्रहरी र स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको बताएको छ।

‘यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । यस विषयलाई हामीले प्रहरी तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौँ । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ’, नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले ट्विट गरेका छन् ।

यस्तै नेपाल प्रहरीले भ्रामक अडियोमार्फत अफवाह फैलाउनेविरुद्ध प्रहरीको साइवर व्युरो परिचालित भइसकेको बताएको छ ।

‘हामी नर्भिक अस्पतालसँग सम्पर्कमा छौँ । अस्पतालले उक्त अफवाहको खण्डनसहितको विज्ञप्ती निकालेको छ । अफवाह फैलाउने विरुद्ध नेपाल प्रहरीको साईवर व्युरो परिचालित भई सकेको छ’, प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिएका छन् ।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्