कोरोनाकाे त्रास: जानकी मन्दिर सुनसान, संक्रमण रोक्न राम मन्दिरमा पूजापाठ

जनकपुरधाम– कोरोना भाइरस (कोभिड–१९)को त्रास बढेपछि प्रदेश दुईको जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरुको संख्यामा कमि आएको छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार भक्तजनको संख्यामा व्यापक कमि आएपछि मन्दिर सुनसान भएको छ।

सरकारले केही दिनअघि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन भनेपछि जनकपुरधामका अधिकांश धार्मिकस्थल स्थान सुनसान छन्।

पछिल्लो समय जनकपुर आउने भारतीय धार्मिक पर्यटकको संख्यासमेत उल्लेख्य मात्रामा घटेको छ।

यसैगरी कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै जनकपुरधाममा पूजापाठसमेत शुरु भएको छ।

जनकपुरधामस्थित राम मन्दिरमा पण्डितहरुको समूहले कोरोनाको प्रभावबाट सर्वसाधारणलाई बचाउन महामृत्युञ्जय जप शुरु गरेका छन्।

बिहीबारबाट शुरु भएको जप पाँच दिनसम्म चल्ने राममन्दिरका महन्थ राम गिरीले बताए।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्