दुबै हात बाँधिएको अवस्थामा बारामा एक जनाको शव फेला

वीरगञ्ज– बाराको कोल्हवी नगरपालिकास्थित रेवाही खोला नजिकै एक जना पुरुषको शव फेला परेको छ।

कोल्हवी नगरपालिका वडा नम्बर ११ बेलवा सेहरी टोलका ४५ वर्षीय बाजिल राय भाटको खोला नजिकै शव फेला परेको हो।

भाटको शव उनको ना ५५ प ४६७८ नम्बरको मोटरसाइकलसहित फेला परेको हो।

खोलाको नजिकै मोटरसाइकलसहित दुबै हात बाँधिएको अवस्थामा शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

आफैले चलाएरको मोटरसाइकलसहित भाट नदीको पुलबाट खसेर दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि गहुँको बाला (छवाली)ले हात बाँधिएकोले घटना शंकास्पद रहेको मिश्रले बताए।

मृत फेला परेका भाट जग्गाको कारोबार गर्दै आएका थिए।

मृतकको शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

चैत ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्