९५ वर्षीया महिला महन्थमाथि मन्दिरकै पूजारीबाट कुटपिट

पूजारी हरि शरणबाट कुटिएका पूजारी विमल शरण र महन्थ माेती माई।

जनकपुरधाम– जनकपुरधामस्थित एक मन्दिरकी महिला महन्थमाथि मन्दिरकै पूजारीले कुटपिट गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ आँखा अस्पताल नजिकै रहेको मधुकर कुञ्जकी महन्थ मोती माईलाई सोही मन्दिरका पूजारी हरि शरणले कुटपिट गरेका हुन्।

मन्दिरलाई एकलौटी रुपमा सञ्चालन गर्ने उदेश्यले हरि शरणले आफू र मन्दिरकै पूजारी विमल शरणलाई कुटपिट गरेको महिला महन्थ मोती माईले बताइन्।

९५ वर्षीय महिला महन्थ मोती माई विगत ८० वर्षदेखि सोही मन्दिरमा बस्दै आएकी छन्। सो मन्दिरका महन्थ रामप्रतापि शरणको मृत्यु भएपछि विगत ६ वर्षदेखि उनी मन्दिरको महन्थ छिन्।

उनले आफू कुटिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् ।

पूजारी हरि शरणको कुटाईबाट मोती माईको सेवा गर्ने ७४ वर्षीय विमल शरणलाई समेत चोट लागेको छ।

विमलका अनुसार हरि शरण मन्दिर आफ्नो नियन्त्रणमा राख्न यस्तो गरिरहेका छन्। जसमा अग्नी कुण्डका महन्थ नवल शरणको समेत सहयोग रहेको विमल शरणले आरोप लगाए।

मन्दिरका पूजारी हरि शरण श्रीमती र सन्तानसँगै सो मन्दिरमा बस्दै आएका छन्।

यता जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले पीडित पक्षले निवेदन दर्ता गराएकोले यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्