नयाँ बसपार्कमा अलपत्र यात्रु भन्छन्, ‘सरकारलाई जनताको श्राप लाग्छ’

शनिबार मध्य दिनमा गोंगबु नयाँ बसपार्क खचाखच थियो। गुड्न लागेको बसमा मान्छेहरु चढ्दै थिए। बसको टिकट काउन्टरमा घुइँचो नै थियो। यात्रुहरु हतारहतार आफ्नो गन्तव्यतर्फ यात्रा गरिरहेका थिए।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम घटाउनको लागि सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने घोषणा गरेपछि काठमाडौँका धेरै यात्रुहरु गाउँ फिर्न हतार गरिरहेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार शुक्रबारसम्म ७ लाखभन्दा बढीले उपत्यका छोडेका छन्। चैत १ गतेदेखि ७ गतेसम्म सबैभन्दा धेरै मानिस (१ लाख ३० हजार)ले शुक्रबार काठमाडौँ छोडेका छन्।

त्यही भिडमध्येका एक थिए, चक्रसिंह धामी। उनी दार्चुला जान बिहान ७ बजे बसपार्क आएका थिए। बसपार्कमा बस थिएनन्, टिकट धेरै अगाडिदेखि नै बन्द भइसकेका छन्। बसपार्क आइपुग्दा अन्य ७ ओटा बस थपेको छ भन्ने सुनेको भएपनि उनले यात्रा गर्न भने सम्भव भइसकेको छैन।

‘हामी मुडामा बस्छाैँ, ग्यालरीमा बस्छाैँ भन्दा पनि ठाउँ पाएका छैनौँ। सिट भरिएर धेरै मान्छे उभिएर जान पनि पाएका छैनौँ’, उनले भने, ‘भोलिको लागि टिकट काट्न जाँदा पनि भोलि नभई पाइएन। अलपत्र भइएको छ’, उनी आफूसँग खर्च पनि सकिसकेको बताउँछन्।

सुदूरपश्चिम अछामका भुवन थापा ३ दिनदेखि घर जान खोजेका थिए तर उनले घर जाने टिकट पाएका छैनन्। उनले आफूजस्तै धेरै अलपत्र विद्यार्थी भएको बताए।

कोरोनाको त्रास काठमाडौँ छोड्नेको सङ्ख्या ह्वात्तै बढेपछि गाडी भाडा पनि महँगो भएको छ। जुम्ला जान हिँडेका एक वृद्ध हरिशंकर आचार्य टिकट नपाएर बसपार्कमा बसिरहेका थिए। उनी कोरोनाको होहल्लाले यस्तो भएको बताउँछन्। हजारको बस टिकट ३ हजार भएको छ। उनी मान्छेले लुटिरहेको बताउँछन्। उनी अहिले मान्छेले दु:ख पाउने बाटो बनिरहेको छ। कर्णालीको यात्रामा हिँडेका आचार्य बसको भाडा महँगो भएर चिन्तामा परेका छन्। उनले कोरोनाबाट आत्तिनाले धनको पनि नाश हुन्छ, ज्यानको पनि नाश हुन्छ।

यस्तै तेर्‍हथुम नगरपालिका – २ घर भएका दावा शेर्पा श्रीमति र छोरीलाई लिएर घर फर्कन लागेका थिए। तर टिकट पाएका छैनन्।

होटलका लागि व्यवस्था गर्न लागेका शेर्पा भन्छन्, ‘काठमाडौँमा बस्न आफन्त छैन, पैसाले धान्दैन। के गर्ने हो थाहा छैन।’

बसपार्कमा भएका गाडीहरु खचाखच भरिएका छन्। बस्नलाई मुडा, क्याबिन सिट जहाँ मिल्छ त्यहाँ मानिसहरु बसिरहेका छन्।

यसरी एक्कासी बसपार्कमा मानिसको घुँइचो लाग्नुको कारण सरकारले सोमबारबाट लामा दूरीका सवारी साधनलाई प्रतिबन्ध लगाउने निर्णय पनि हो। त्यसैले असुविधा भोगेर भएपनि उपत्यका छोड्ने मानिसको सङ्ख्या आइतबार झन् बढ्न सक्छ। मानिसहरु असहज यात्रा गरिरहेका छन्।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्