सिंगापुरबाट आएको सिल्क एयरका सबै यात्रुहरुलाई उतै फर्काउने तयारी

काठमाडौँ- सिंगापुरबाट नेपालसहितका यात्रु लिएर शनिबार बेलुकी काठमाडौँ अवतरण भएको सिल्क एयरकाे जहाजका यात्रुहरुलाई उतै फर्काउने तयारी गरिएको छ।

उक्त जहाजमा नेपालले यात्रा प्रतिबन्ध लगाएका कुनै एक मुलुकका यात्रु भएका कारण विमानस्थलले कुनै पनि यात्रुलाई ओर्लन नदिने तयारी गरेको हो।

ओर्लिन पाउनुपर्ने माग राख्दै विमानभित्रै नाराबाजी गरिए पनि उनीहरु दुई घन्टादेखि जहाजभित्रै छन्।  उक्त जहाजमा चढ्न भनी विमानस्थलमा बोर्डिङ पास लिएका यात्रुहरुलाई पनि फर्काइएको विमानस्थल स्रोतले जानकारी दियो।

उक्त जहाजलाई इन्धन भराएर सिंगापुर नै फर्काइने तयारी भइरहेको विमानस्थल स्रोतले जानकारी दियो।

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्